सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा

मङ्गलबार, १९ मङ्सिर २०८०, १७ : ५२
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने बताएका छन् ।

मंगलबार ओखलढुंगामा कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन गर्दै सभापति देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुस्किल पर्ने पनि बताए ।

‘अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ,’ देउवाले भने, ‘बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ ।’  

देउवाले संघीयता कार्यान्वयनमा जोड दिए ।

‘हाम्रो देश संघीयतामा गइसकेको छ । यो संघीयतालाई हामीले राम्रोसँग चलायौँ भने हाम्रो देशको विकास हुन सक्छ,’ उनले भने, ‘आदिवासी–जनजाति, महिला सबैको प्रतिनिधित्व हुने गरी हामीले संविधान पनि बनाएका छौं ।’

तर, देशको विकास जसरी अगाडि बढ्नुपर्ने त्यसरी हुन नसकेको देउवाले बताए । संघीयताले सबैको चाहना र भावना बमोजिमको विकास गर्न नसकेको देउवाले बताए । सभापति देउवाले अघि भने, ‘हामी आदिवासी जनजाति, महिला सबैले चाहेको जस्तो विकास गराउन प्रयास गरिरहेका छौँ । सबैको साझा अपनत्वसहितको देश निर्माण र विकास गर्न हामीले काम गर्ने बाँकी छ ।’

उनले ओखलढुंगा नेपालको राजनीतिक इतिहासमा समेत ऐतिहासिक जिल्ला भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप