आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन

१३ जुनमा पुनः आन्दोलन गर्ने घोषणा

शनिबार, २३ जेठ २०८३, २३ : १८
शनिबार, २३ जेठ २०८३

सारांश

  • कक्रोच जनता पार्टीले भारतमा परीक्षा र भर्ती प्रक्रियामा भएको पेपर लिक प्रकरणमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर-मन्तरमा ५ घण्टा प्रदर्शन गरेको छ ।
  • पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा भएको प्रदर्शनमा मन्त्रीलाई राजीनामा दिन ५ दिनको अल्टिमेटम दिइएको छ र माग पूरा नभए १३ जुनमा पुनः देशव्यापी प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
  • प्रदर्शनमा सामाजिक अभियन्ता सोनम वाङ्गचुक, सीपीआई (एमएल) लिबरेसनका महासचिव दीपाङ्कर भट्टाचार्य लगायतको उपस्थिति थियो, तर दीपकेको स्वास्थ्य बिग्रिएपछि कार्यक्रम स्थगित गरियो ।

काठमाडौँ । भारतमा चर्चामा रहेको विभिन्न परीक्षा तथा भर्ती प्रक्रियामा पेपर लिक प्रकरणलाई लिएर केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ले शनिबार दिल्लीको जन्तर–मन्तरमा ५ घण्टा लामो प्रदर्शन गरेको छ । पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा भएको उक्त प्रदर्शनमा मन्त्रीलाई राजीनामा दिन ५ दिनको अल्टिमेटम दिइएको छ । तोकिएको समयभित्र माग पूरा नभए आगामी शनिबार अर्थात् १३ जुनमा पुनः जन्तर–मन्तरमा भेला भएर देशव्यापी प्रदर्शन गर्ने घोषणा पार्टीले गरेको छ ।

प्रदर्शनका लागि अमेरिकाबाट शनिबार बिहानै दिल्ली उत्रिएका अभिजीत दीपके विमानस्थलबाट सिधै जन्तर–मन्तर पुगेका थिए । हातमा बी.आर. अम्बेडकरको आत्मजीवनी र भारतीय संविधानको प्रतिलिपि बोकेर पुगेका उनले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको अवधिमा ५ पटक छोटो सम्बोधन गर्दै शिक्षा मन्त्रीको राजीनामाका लागि दबाब दिएका थिए । साँझ ५ बजेसम्म प्रदर्शन गर्ने अनुमति पाए तापनि दिउँसो ३ः३० बजेतिर दीपकेको स्वास्थ्य अवस्था बिग्रिएपछि कार्यक्रम केही समय अगावै स्थगित गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सामाजिक अभियन्ता सोनम वाङ्गचुकका साथमा प्रदर्शनस्थलबाट बाहिरिएका थिए ।

उक्त विरोध प्रदर्शनमा सामाजिक अभियन्ता सोनम वाङ्गचुकका साथै सीपीआई (एमएल) लिबरेसनका महासचिव दीपाङ्कर भट्टाचार्य, सीपीआई नेत्री एनी राजा र विभिन्न वामपन्थी विद्यार्थी तथा युवा संगठनका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । मञ्चमा पुगेर सोनम वाङ्गचुकले शान्तिपूर्ण प्रदर्शनका लागि अपिल गरेका थिए । कार्यक्रममा ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष राङ्का पनि सहभागी थिए, जो आईआईटी कानपुरबाट दीक्षित भई गत वर्ष मात्र लण्डनबाट भारत फर्किएका हुन् ।

phungsuk

प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था निकै कडा पारेको थियो। इन्दिरा गान्धी विमानस्थल, मुख्य रेलवे स्टेशन, बस स्टेशन र दिल्लीका सीमानाकाहरूमा १ हजारभन्दा बढी प्रहरी जवानहरू परिचालन गरिएको थियो । बजार र संवेदनशील क्षेत्रमा कानुन व्यवस्था कायम राख्न प्रहरीले विशेष सतर्कता अपनाएको थियो। प्रदर्शन सकिएपछि दिल्ली प्रहरीले केही सामाजिक सञ्जालमा फैलिएको हल्लालाई खण्डन गर्दै प्रदर्शनकारीहरू विरुद्ध कुनै पनि एफआईआर दर्ता नगरिएको स्पष्ट पारेको छ । प्रदर्शनस्थलबाट बाहिरिएपछि अभिजीत दीपकेले सामाजिक सञ्जालमार्फत आफू आमाबुबालाई भेट्न घर जान लागेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप