कञ्चनपुरमा सयौँ बिघा धान नष्ट, क्षेत्राधिकार नपर्ने भन्दै कृषि मन्त्रालयले झिक्यो हात
धनगढी । वर्षा याममा कञ्चनपुरको पुनर्वास नगरपालिकामा सयौँ बिघा धान र उखु बाली नष्ट प्रकरणमा सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले हात झिकेको छ । औद्योगिक रसायनले धान र उखु बाली नष्ट भएको र त्यसको क्षेत्राधिकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको रहेको भन्दै प्रदेशको कृषि मन्त्रालयले हात झिकेको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले रातोपाटीसँग भने, ‘कृषि बाली नष्ट भएको हुँदा हामीले त्यसको नमूना परीक्षण गरी यकिन कारण पत्ता लगाउनेसम्मको काम गर्यौँ । परीक्षण रिपोर्ट अनुसार कृषि बाली नष्ट हुनुको कारण पानीमा देखिएको रसायनको मात्रा बढी भएको पुष्टि भएको छ । त्यो रासायन कुनै उद्योगबाट आएको हुनाले हाम्रो कार्य क्षेत्रभित्र पर्दैन । त्यसको नियमनकारी निकाय उद्योग मन्त्रालय रहेकाले फाइल उद्योग मन्त्रालयमा पेस गरेका हौँ ।’
तर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भने यसबारे कुनै चासो देखाएको छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले उद्योगको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गर्न आफूहरुले घरेलु उद्योग कार्यालयसँग बुझिरहेको बताए । कहिलेसम्म अध्ययन होला भन्ने जिज्ञासामा सचिव पौडेलले अनभिज्ञता व्यक्त गरे ।
के छ परीक्षण रिपोर्टमा ?
गत साउन २४ र २५ गतेको बाढीले पुनर्वास नगरपालिका–२, ५, ७ र ९ नं वडामा धान र उखु नष्ट भएको थियो ।
पानीमा बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) र केमिकल अक्सिजन डिमान्ड (सीओडी) को मात्रा बढी भएका कारण २४२.९ बिघामा लगाइएको धान र ११०.३ बिघामा लगाइएको उखु नष्ट भएको परीक्षणबाट पुष्टि भएको पुनर्वास नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगको समन्वयमा पुनर्वास नगरपालिकाको कार्यालयले साउन ३० र भदौ १ गते सम्बन्धित ठाउँको खेतबाट पानीको नमूना सङ्कलन गरेको थियो ।
संकलित नमूना परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा पठाइए पनि उपकरण नभएका कारण त्यहाँ परीक्षण हुन सकेन । पछि काठमाडौँस्थित निजी प्रयोगशाला वाटर इञ्जिनियरिङमा परीक्षण गर्दा साउन ३० गते संकलित नमूनामा बीओडी ५७ मिलिग्राम प्रतिलिटर र सीओडी ११४ मिलिग्राम प्रतिलिटर फेला परेको थियो ।
भदौ १ गते संकलित नमूनामा बीओडी चार र सीओडी ११ मिलिग्राम प्रतिलिटर पानीमा भेटिएको थियो । पानीमा बीओडी १० मिलिग्राम र सीओडी २० मिलिग्रामभन्दा बढी भएमा बोटबिरुवा र जलचर प्राणी मर्ने गरेको पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले बताए ।
शाहीले भने, ‘धानबाली केमिकलकै कारण नष्ट भएको पुष्टि त भयो तर केमिकल कहाँबाट आयो भन्ने पुष्टि हुन सकेन ।’
उता, रक्सी बनाउन प्रयोग हुने पदार्थ नगरपालिकास्थित भागेश्वर सुगर मिलबाट बग्दा यस्तो भएको किसानको दाबी छ । यसैले, कृषि बाली सोत्तर पारेको भन्दै मिलबाट क्षतिपूर्ति भराउन प्रदेशसभामा समेत आवाज उठेको छ ।
तर सरोकारवाला नियमनकारी निकायहरु भने आ–आफ्नो जिम्मेवारीबाट पन्छिँदा त्यहाँका किसानले हालसम्म राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् ।
यसबाट आफैँ पीडित रहेको सुनाउँदै पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले आवश्यक पहलका लागि सबै निकायलाई गुहारेको बताए । तर कुनै निकायले ठोस कदम नचालेको दुखेसो उनले सुनाए । उनले भने, ‘जिल्ला विपत व्यवस्थापन समिति, प्रदेशको कृषि, उद्योग मन्त्रालयलगायत निकायसँग अनुरोध गरियो तर सुनुवाइ केही भएको छैन ।’
जिल्ला दैवी प्रकोप तथा विपत व्यवस्थापन समितिका संयोजकसमेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले किसानलाई क्षतिपूर्ति र रसायन परीक्षणको यकिन गर्न आफूले गृहमन्त्रालयमा पठाएको बताए । तर कहिले पाउनेबारे उनले पनि अनभिज्ञता प्रकट गरे ।
धान र उखुबाली नष्ट हुने रासायन उत्सर्जन त्यहाँस्थित भागेश्वर चिनी मिलबाट भएको किसानको दाबी छ । तर कुनै पनि निकायले किटानका साथ उद्योगको कारण नोक्सानी भएकोबारे पुष्टि गर्न सकेका छैनन् ।
मेयर शर्माले उद्योगकै कारण नोक्सानी भएको पुष्टि नभए पनि पीडित किसान, मिल सञ्चालक र नगरपालिकाबिच त्रिपक्षीय समझौता भएको बताए । यदि मिलको कारणले धान बाली नष्ट भएको पुष्टि भएको अवस्थामा मिलले क्षतिपूर्ति दिने सहमति भएको उनले बताए ।
ईआईए बिनै मिल सञ्चालन
पीडित किसानको आशंकाको घेरामा रहेको त्यहाँस्थित भागेश्वर चिनी मिल हालसम्म वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) बिना नै सञ्चालनमा रहेको पाइएको छ ।
वातावरण संरक्षण नियमावली अनुसार वातावरणलाई प्रभाव पार्ने कुनै पनि उद्योग ईआईए प्रतिवेदनको स्वीकृति पश्चात मात्रै सञ्चालनको अनुमति पाउँछ ।
मेयर शर्माले भने, ‘क्षति भएपछि हामीले उद्योगको काजजात पनि हेर्यौँ । तर वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै मिल सञ्चालनमा रहेको देखियो । हामीले खोजीनीति गर्दा भर्खर वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढाएको छ । पहिले गर्नुपर्ने काम अहिले हुँदैछ ।’