मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

रुसी सेनामा ४ महिना काम गरेर फर्केका युवक भन्छन्–उपचारको बहाना बनाएर अस्पतालबाट भागेँ

रुसमा जागिर खान जानेमा नेपालका फौजी धेरै
बिहीबार, २१ मङ्सिर २०८०, २० : ४२
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । रुस र युक्रेनबिच युद्ध चलिरहेको अवस्थामा काठमाडौँबाट एक जना युवक २०८० भदौमा रुसतर्फ हानिए । हरितालिका तीजको मुखमा पत्नीको तिलहरी बेचेर रुसतर्फ उड्दै गर्दा उनले सोचेका थिए– रुसको सेनामा भर्ना भएर पैसा कमाउँछु, काठमाडौँमा घडेरी जोड्छु ।

रुस जान उनले नेपाल सरकारको जागिर माया मारे । उनी प्रहरीमा कार्यरत थिए । बिचौलियाहरुले लगाइदिएको ‘भिजिट भिसा’ देखाउँदै उनी रुसको राजधानी मस्को ओर्लिए । त्यहाँको सेनामा भर्ना पनि भए । तर, दिनहुँ आँखा अगाडि ग्रिनेड र लन्चर खसिरह्यो । त्यसपछि उनले रुसी सेनाको क्याम्प छाड्ने निधो गरे ।

पायल्सको अप्रेसन गर्नुपर्ने भनेर उनी अस्पतालमा भर्ना भए । अस्पतालबाटै उनी भागेर मस्कोस्थित नेपाली दूतावास पुगेर नेपाल आउने प्रबन्ध मिलाउन सफल भए ।

दुबई हुँदै मस्को गएका ती युवकसहित ९ जना गत भदौमा मस्को पुगेका थिए । उनीहरुलाई पठाउने व्यक्ति हुन् शंकर लिम्बू । शंकरलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा ती युवा भन्छन्, ‘रुसी सेनामा भर्ना हुने अधिकांश नेपाली पूर्व सैनिक, सशस्त्र र प्रहरी छन् ।’

रुसी सेनामा भर्ना हुन पठाउने गिरोहमा संलग्न १३ जनालाई हालसम्म पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

४ महिना युक्रेनविरुद्ध लडेका उनले आफ्नो अनुभव यसरी सुनाए–

काठमाडौँबाट दुबई ट्रान्जिट हुँदै रुसको मस्को पुगेँ । मस्को विमानस्थलमा ५ जना नेपाली भेटेँ । मस्को विमानस्थलको अध्यागमनमा रुसमा बस्ने र जिम्मा लिने मान्छेबारे सोधेका थिए । मैले एक जना भाउजूको नम्बर दिएँ, उहाँले ‘मेरो मान्छे हो’ भनेपछि विमानस्थलबाट निस्किएँ ।

बाहिर निस्केर सोधेँ– रुसी सेनामा भर्ती हुने ठाउँ कता हो ?

त्यहाँबाट ट्याक्सीलाई १० हजार तिरेर मस्कोस्थित सैनिक क्याम्पमा पुगेँ । त्यहाँका सेनाले बैंक खाता खोलेर रुसको सैनिककै एटीएम कार्ड बनाएर दिए । त्यहाँबाट १४ घण्टा गाडीमा चढेर रस्तोप भन्ने ठाउँमा पुगेँ । रस्तोप भन्ने ठाउँ रुस र युक्रेनको सिमाना रहेछ । रस्तोपमा ठुलो ब्यारेक थियो । त्यहाँ करिब ३ सय नेपाली भेटिए । उनीहरुमध्ये कोही ७ लाख तिरेर आएको भन्थे । कोही १२ लाख बुझाएर आएको भन्दै थिए ।

भर्ना हुनुअघि नै फर्किन खोज्दा सिनियर दाइहरुले ३ लाख रुपैयाँ प्रतिमहिना कमाई हुन्छ, किने फर्किने भन्न थाले । रसियन सेनाले ‘कन्ट्रयाक्ट पेपर’मा हस्ताक्षर गराए । त्यसमा हाम्रो सेवा अवधि १ वर्ष राखिएको रहेछ । त्यसपछि हामी युक्रेनको भूमिमा गयौँ । त्यहाँ ४ दिन तालिम लियौँ । दुई वर्षदेखि सो क्षेत्रमा युद्ध चलिरहेको थाहा पायौँ । रुसका सेनाले हामीलाई एके–४७ चलाउन सिकाए । म प्रहरीबाट गएको हुनाले हतियार चलाउन समस्या भएन । युनिफर्म र जुत्ता दिए । हाम्रो समूहमा ९ जना नेपाली थियौँ, बाँकी रसियन थिए ।

हामीलाई युक्रेनी सहर बाग्मुदमा लगियो । त्यहाँ बंकरमा बस्यौँ । हामीले लड्नुपर्ने मैदान त्यही थियो । हामीसँग गएका ८ जना रसियन सेना सुरुमै मारिए । उनीहरुको शवलाई बोकेर सड्कमा ल्यायौँ र एम्बुलेन्समा राखेर पठायौँ ।

आँखा अगाडि ग्रिनेड र लन्चर खसिरह्यो । ३ दिनसम्म केही नखाइकन बस्यौँ । नजिकै कुलो रहेछ, त्यो कुलोको पानी खान्थ्यौँ । युक्रेनले ड्रोनबाट बम खसालिरहन्थ्यो । हाम्रा साथी घाइते भए । म पनि घाइते भएँ । पायल्सको पनि अप्रेसन गर्नुपर्ने हुनाले म अस्पताल भर्ना भएँ ।

रुसको सेनामा भर्ना भएको ४ महिना लागेको थियो, मैले भाग्ने निधो गरेँ । ‘लोहान्स अस्पताल’मा मेरो उपचार हुँदै थियो । अस्पताल पूरै सैनिक घेराबन्दीमा हुन्छ । नेपालमा फोन गरेर आमाको मृत्युको रिपोर्ट बनाएर पठाउन लगाएँ । मैले रुँदै त्यहाँको सैनिकलाई आमाको मृत्युको रिपोर्ट देखाएँ । त्यहाँका सैनिकले भने– युद्धमा यस्तो पीडा सहनुपर्छ ।

त्यसपछि म बिरामी भेट्न आएका रसियन नागरिकको बिचमा  छिरेर मुन्टो लुकाएर अस्पतालबाट बाहिर निस्किएँ । ट्याक्सी चढेँ । बोर्डर कटाइदिए ५० हजार रुबल दिन्छु भनेर ट्याक्सी चालकलाई भनेँ । तर, ट्याक्सी चालकले मलाई प्रहरी कार्यालयमा लगेर रोकिदिए । त्यहाँ प्रहरीले ३ घण्टा सोधपुछ गरे । प्रहरीको आँखा छलेर त्यहाँबाट भागेँ । जंगलको बाटो जाँदै थिए, त्यहाँ भेट भएका रसियनलाई भनेर ट्याक्सी बोलाएँ । ट्याक्सीले रस्तोप भन्ने ठाउँमा लगिदिने भयो । सुरुमा रसिया पुग्दा हामी रस्तोप हुँदै गएका थियौँ । रस्तोपबाट डेढ लाख रुपैयाँ तिरेर मस्को विमास्थल आएँ । त्यहाँ फेरि आर्मीले रोक्यो । आर्मीको आँखा छलेर रुसस्थित नेपाली दूतावासमा गएँ । ट्याक्सीमा धेरै घण्टा घुमेपछि बल्ल नेपालको झण्डाको आधारमा दूतावास पत्ता लगाएँ । नेपालको झण्डा देखेपछि धेरैबेर रोएँ । ९० हजार तिरेर टिकट काटेँ । एम्बेसीले पत्र बनाइदियो । अनि, दुबई हुँदै मङ्सिर ५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएँ ।

रुसमा मलाई त्यहाँको आर्मीले २ लाख ४० हजार रुबल मेरो खातामा डिपोजिट गरिदिएको थियो । मसँगै गएर घाइते भएका थप दुई जना नेपाल फर्केका छन् । रसियामा अहिले कम्तीमा ५–६ सय जना नेपाली हुनुपर्छ ।

(रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप