आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

एमाले उपाध्यक्ष पाण्डेलाई प्रश्न : मध्य पहाडका जनताका समस्या केके रहेछन् ?

सोमबार, २५ मङ्सिर २०८०, १९ : ४०
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको सङ्कल्प यात्रा बागमती हुँदै कोशी प्रवेशको तयारीमा छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सयौँ नेताकार्यकर्ता यात्रामा सहभागी छन् । ‘सम्बन्ध स्थानीय– सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ सुरु भएको तीन साता लामो यात्रा पुस १ गते पूर्वको पाँचथर पुगेर टुङ्ग्याउने एमालेको तयारी छ । यात्राका क्रममा एमाले नेताहरूले प्रत्यक्ष जनतासँग भेटवार्ता र संवाद अनि समस्या समाधानको पहल गर्ने बताउँदै आएको छ । यात्राका क्रममा उल्लेख्य जनसमर्थन पाएको बताएको एमालेले मध्य पहाडका जनताका समस्या चाहिँ केके भेट्यो त ? अनि यही बेला कोशी प्रदेश नामकरणका सम्बन्धमा पहिचान पक्षधरले गरेको विरोधलाई एमालेले कसरी हेरेको छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर एमाले उपाध्यक्षसमेत रहेका सुरेन्द्र पाण्डेसँग गरिएको कुराकानी:  

नेकपा एमालेले मङ्सिर १४ देखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ उत्तरार्धमा पुगेको छ । अहिलेसम्मको यात्रामार्फत एमालेले जनतालाई कस्तो सन्देश दिन सक्यो ?

पहिलो कुरा यो यात्राले नेपाल पहाडै पहाड जोडिइससकेको छ भन्ने सन्देश दिएको छ । केही केही ठाउँमा मध्य पहाडी लोकमार्ग निर्माण हुन बाँकी छ तर अधिकांश ठाउँमा सडक जोडिसकेको छ । आज हामी बागमती प्रदेशको काभ्रे हुँदै दोलखा र रामेछापमा पुग्छौँ । यहाँबाट पूर्वतर्फको बाटो थोरै ठाउँमा समस्या छ भनिएको छ र बाँकी सबै जोडिएको अवस्था छ । त्यस कारण मध्य पहाड नेपालको जीवनरेखा हो भन्ने यसले देखाउँछ । हामी यही कुराको नजिकबाट अध्ययन गर्न पनि हिँडेका हौँ । मध्य पहाडमा विकास र प्रगतिको अवस्था कस्तो रहेछ ? यो क्षेत्रका समस्या र सम्भावना केके छन् ? यसले राष्ट्रलाई के योगदान गर्न सक्छ भन्ने कुरा यात्राका क्रममा अध्ययन भएको छ ।

यात्राका दौरानमा विभिन्न ठाउँका पार्टीका नेता, जनता र विभिन्न पक्षहरूले आफूले भोगिरहेका विषयमा ज्ञापनपत्र, मागपत्र या जानकारीपत्रहरू दिनुभएको छ, जुन कुरालाई समीक्षा गर्दा मध्य पहाडमा गर्नुपर्ने थप काम केके हुन् ? भन्ने प्रकट गरेको छ । यसले हाम्रो सिङ्गो नेतृत्व र पार्टीलाई मात्रै नभएर मुलुकका नीतिनिर्माताहरूका लागि पनि महत्त्वपूर्ण सामग्री हुन सक्छ । यसले भोलिका दिनमा योजना निर्माणदेखि विकासलगायतका सबै काम गर्न मद्दत गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ । अर्को महत्त्वपूर्ण कुरा नेकपा एमाले र यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति जनतामा असाध्यै उत्साह देखियो । एकाध घण्टा मात्रै होइन घण्टौँ घण्टा जनता कुरेर बसेको पाइयो । उदाहरणकै लागि शनिबार दिउँसो २ बजे हामी नुवाकोटको बट्टारमा पुग्ने भन्ने थियो तर त्यहाँ पुग्दा राति १० बजे बज्यो । त्यति राति चिसोमा पनि मानिसहरूको त्यतिकै ठुलो उपस्थिति रहेको थियो । त्यसपछि काभ्रेको मण्डनमा समेत निर्धारित समयभन्दा चार घण्टा ढिलो पुग्दा पनि मानिसहरूको उपस्थिति त्यतिकै ठुलो सङ्ख्यामा थियो । अरू अरू ठाउँ जहाँ हामीले जनसभा राखेका छौँ ती ठाउँहरूमा जनसहभागिता असाध्यै उल्लेखनीय छ । जनअपेक्षा पनि त्यतिकै देखिएको छ ।

surendra1

‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ भन्ने तपाईंहरूको नारा नै छ । यात्राका क्रममा जनताका खास गुनासा र समस्या कस्ता कस्ता रहेको पाउनुभयो ?

धेरैजसो मानिसको चासो, गुनासो वा समस्या पूर्वाधारकै कठिनाइ रहेको छ भन्ने नै पाइयो । स्थानीय समस्या जो कतिपय राष्ट्रिय महत्त्वका पनि छन् । हामीले पनि भनेका छौँ, ‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय ।’ समस्या लोकल लागे पनि ती राष्ट्रिय विकासमा प्रभाव पार्ने धेरै मुद्दा अगाडि सारिएका छन् । कहीँ विश्वविद्यालय माग गरिएका छन् भने कहीँ कलेज त कतै विभिन्न उद्योगधन्दा र रोजगारी सिर्जना गरियोस् भन्ने छन् । त्यस अतिरिक्त आफ्ना स्थानीय संस्कृति जोगाउन पहल होस्, कल्चर टुरिजमलाई प्रमोसन मिल्ने गरी विकास होस् भन्ने जनअपेक्षा राखेको पाइएको छ । मुख्यतः बाटोघाटो र पूर्वाधार राम्रोसँग विकसित हुँदा मध्य पहाडको अर्थतन्त्र फड्को मार्छ र नेपालको समग्र अर्थतन्त्रका साथै अर्थ राजनीतिलाई पनि ठुलो मद्दत गर्छ । जियोपोलिटिक्सलाई पनि त्यसले मद्दत गर्छ । जुन हिसाबले पहाडबाट तराई, तराईबाट सहरतर्फ माइग्रेसन भइरहेको छ । त्यसलाई रोक्ने र स्थानीय स्तरमै राम्रा ठुला र व्यवस्थित सहरसहितका बस्ती विकासका कार्यक्रम अघि बढाउँदै मध्य पहाडको सुन्दरतालाई क्यास गर्न सकिए मुलुक अर्कै ढङ्गले जान सक्छ । यो समग्र कुरालाई स्थानीय जनताले आआफ्ना भाषा, शैली र आवश्यकताको गहिराइमा व्याख्या गर्नुभएको छ, जुन कुरा धेरै महत्त्वपूर्ण छ ।

माइग्रेसनको समस्या एकातर्फ छ, रोजगारी र विकास अर्को समस्या छ । तर पनि एमाले र नेतृत्वप्रति आकर्षण धेरै देखियो भन्नुभयो । एमालेसँग जनताले देखाएको यो आकर्षण अनि आशा अपेक्षा सम्बोधन गर्ने एमालेको तयारी र रणनीति कस्तो छ त ?

जनताका आशा, अपेक्षा सम्बोधन गर्ने पहिलो दायित्व सरकारकै हो । किनभने साधन स्रोतको भकारीको साँचो सरकारसँगै हुन्छ । प्रतिपक्षसँग हुँदैन त्यो । कुनै ठाउँमा कुनै योजना अगाडि बढाउनुपर्‍यो भने सरकारी निर्णयका आधारमा नै त्यो अघि बढ्छ । अहिले हामी सरकारमा छैनौँ । तर हामीलाई यो अभियानले यो यो कुरा गर्नुपर्छ भन्ने ज्ञान दिएको छ । जनताको यो अपेक्षा छ र हामी त्यहाँ बस्दा गर्नुपर्ने कुरा यो हो है भन्ने हो । यसले जनताका समस्या यसरी समाधान गर्न सक्छौँ र देशलाई यसरी माथि उठाउन सक्छौँ भन्ने फिडब्याक हामीले पाएका छौँ । अर्को संसद्मा होस् वा पब्लिक्ली पनि हामी पटक पटक सरकार चलाएको पार्टीका नेताहरूले यो ठाउँमा यसो गर्नुपर्‍यो भनेर बोल्दिनेबित्तिकै पनि स्थानीय स्तरमा काम नभएर रोकिएका कैयौँ बाटाघाटा निर्माणमा कर्मचारी पनि सक्रिय हुने अवस्था हुन्छ । मुलुक चलाएको र मुलुक चलाउने प्रतिपक्षका पूर्वप्रधानमन्त्रीसहितका नेताहरूले यस्तो गरेपछि हेलचेक्र्याइँ गर्नु हुँदैन भन्ने दबाब नै पुग्दा पनि तत्कालका लागि कतिपय काम अघि बढ्न सक्छन्, यात्राको सकारात्मक पक्ष यो पनि हो ।

एमालेले सरकारले केही गर्न सकेन र जनतामा निराशा छाएको छ भनेर खुबै प्रचार गरेको छ । यस्तो अवस्थामा एमाले नेताहरू लावालस्कर लागेर मेची–महाकाली यात्रा गरेपछि ती निराश जनतामा आशाको किरण छरिएला त ?

मैले खाली प्रतिपक्षको हिसाबले मात्र आलोचना गरिरहेको छैन । म अर्थशास्त्रको विद्यार्थी र पूर्वअर्थमन्त्रीको नाताले भन्नुपर्दा अहिले पनि सरकारले गर्न सक्ने १० वटा काम जेजे थिए ती एउटा पनि गर्न सकेको छैन । यसबारे पब्लिक फोरममा हाम्रा पार्टीका नेताहरूसहित धेरैले बोल्दै आएको कुरा के हो भने सत्तारूढ दलका नेताहरू यो गठबन्धन जोगाउने र आफ्नै नानाभाँतीका कुरा गर्नेबाहेक सरकारी परफर्मेन्स देखाउने कतै ध्यान छ र ? छैन । हामीले गर्दा समस्या सिर्जना गरिदिएको पनि हो र ? उहाँहरू आफैँले नगरेर सिर्जित समस्या होइन यो ? त्यसमा त जति आलोचना गरे पनि कम हुन्छ । तर हामी सरकारमा नरहेका बखतमा सरकारलाई रचनात्मक सल्लाह पनि दिन्छौँ । आलोचना पनि गर्छौं, गलत काम गर्‍यो भने विरोध गर्छौं र आवश्यक काम पनि गर्छौं । यसको अर्थ हामी अहिले नै सरकार भत्काउने र अर्को सरकार बनाउने भन्ने होइन । हाम्रो चाहनाले मात्रै यो हुने पनि होइन भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । त्यस कारण हामी जनताका मुद्दा सडकदेखि सदन र पब्लिक फोरमदेखि जनताका बीचमा उपस्थित हुन्छौँ । अहिले हामीले जारी राखेको अभियान पनि त्यसैको एउटा अङ्ग हो ।

एमालेको सङ्कल्प यात्रा मङ्गलबारबाट कोशी प्रदेश प्रवेश गर्दैछ तर यही बेला कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरूबाट अवरोध गर्ने चेतावनी दिएका समाचार आएका छन् । यसले त मुठभेडको सङ्केत गर्दैन, तपाईंले कसरी बुझ्नु भएको छ ?

यो कुनै उचित कुरा होइन । पञ्चयतकालमा सबै विपक्षी राजनीतिक दलहरूलाई बन्देज गरेर बसेको होइन ? आखिर त्यो व्यवस्था चल्यो ? अन्त्यमा पराजय त पञ्चायतकै भयो । अनि कुनै एउटा ठाउँमा तँलाई आउनै दिन्न भन्ने कुनै पहिचानवादको कुरा भयो र ? यो अर्को निरङ्कुशता होइन ? चाहे जातका नाममा होस्, चाहे कुनै अरू नै नाममा किन नहोस् त्यस्ता निरङ्कुशता चल्दैन र टिक्दैन । सबैलाई समेट्ने र स्वीकार गर्ने व्यवस्था भनेको लोकतन्त्र हो । लोकतन्त्रमा समर्थन गर्न पाउनुहुन्छ, विरोध गर्न पनि पाउनुहुन्छ, लोकतन्त्रका प्रक्रियाहरू आफ्नै हुन्छन् । ती प्रक्रियामा सहभागी हुन कसैले कसैलाई अवरोध गरेको छ ? छैन नि ! बाहिरबाट समाधान खोज्छु भन्नु सम्भव छैन ।

surendra

यात्राअन्तर्गत एमाले यदि कोशी प्रदेश प्रवेश गर्‍यो भने एमाले आफैँले आफ्नो चिहान खन्दैछ भनेर पहिचान पक्षधरले भनेको सुन्नुभएको छैन ?

त्यस्ता चेतवानी एमालेले धेरै बेहोर्दै आएको हो । एमालेका नेताहरूको ज्यान लिलाम गर्छु भनेर भनेकै हुन् नि ! माओवादी जनयुद्धकै बेलामा पनि एउटा कम्युनिस्ट भन्नेले अर्को कम्युनिस्टलाई मारेको होइन ? आखिर त्यति धेरै मानिस मारिए पनि पराजय एमालेको भयो वा माओवादीको ? अन्तिममा त माओवादी त्यो विचारबाट पछि हट्न परेकै हो नि !

यसको अर्थ एमालेले आफ्नो यात्रा रोक्दैन । पहिचान पक्षधरले पनि विरोधका कार्यक्रम सार्वजनिक नै गरिसकेका छन् । जसले मुठभेड हुने पक्का भयो । तपाईंहरू मुठभेड चाहनुहुन्छ ?

उहाँहरूको राजनीतिक ढङ्गले अघि बढ्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । उहाँहरूले बोल्नुभएको छ हामीले सुनिरहेका छौँ । त्यसमा कति जायज र कति नाजायज छन् त्यो नजिकबाट हेरिरहेका छौँ, त्यो अलग पक्ष हो । उहाँहरूले प्रक्रिया र विधिबाट गर्ने कुरालाई हामीले कहाँ आपत्ति जनाएका छौ र ? उहाँहरूले सभा गरेर पहिचानको कुरा गर्दा हामीे असफल पार्न हिँडेका छौँ र ? हाम्रा कार्यकर्ता त्यसरी हिँडेका छन् र ? हाम्रो पार्टी त्यस कुरामा लाग्दा पनि लाग्दैन ।

एमालेको यात्रा अवरोध भएमा प्रतिकार गर्नुहुन्छ या सहनुहुन्छ ?  

अवरोध हुन्छ भन्ने मलाई लाग्दैन । किनभने त्यहाँभित्र पनि सचेत मानिस हुनुहुन्छ । उहाँहरूको नेतृत्वले सोच्ला भन्ने मेरो विश्वास छ । किनभने जहाँसुकै पनि नेतृत्व हुन्छ र त्यो नेतृत्व बिनासोचको हुँदैन ।

पुष्पलाल मध्य पडाही लोकमार्गमा एमालेले यो यात्रा गर्नुलाई कतिपयले उक्त राजमार्गको इनिसेसन लिन यो रुट प्रयोग गरेको भन्ने पनि सुनिन्छ, वास्तविकता पनि त्यही हो ?

पुष्पलाल एमालेका मात्रै वा कम्युनिस्टका मात्रै नेता होइनन्, देशकै नेता हुन् । एमाले बन्नुभन्दा पहिला उहाँको निधन भइसकेको छ । एमाले बन्यो ०४७ सालमा, उहाँको निधन भयो २०३५ सालमा । कम्युनिस्ट पार्टी ६ सालदेखि थियो । पुष्पलाल पहिला नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव पनि हुनुहुन्थ्यो । तर कांग्रेसको विचार मन नपरेर उहाँ कम्युनिस्ट बन्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनको स्थापनामा उहाँको आफ्नै योगदान छ । त्यस कारण उहाँ एउटा कुनै पार्टीको मात्र नभएर देशको नेता भनेको हो । पुष्पलालको काठमाडौँको भए पनि उहाँका पिताजी जागिर खान रामेछाप गएका बेला भँगरी भन्ने स्थानमा जन्मनुभएको हो पुष्पलाल । उहाँको दाजु गङ्गालालले त जीवन नै कुर्बान गरेर साहदत प्राप्त गर्नुभएको इतिहास हामीसामु छ । त्यस कारण यस्तो व्यक्तित्वलाई पार्टीकरण गर्नु हुँदैन । उहाँ मात्रै नभएर धेरै नेताका नामबाट राजमार्ग वा विश्वविद्यालय बनेका पनि छन् । जहाँसम्म एउटा संयोग नै भनौँ हामी सरकारमा भएकै बखतमा यो कार्यक्रम (मध्य पहाडी पुष्पलाल मार्ग) को अवधारण आयो र आरम्भ हुँदै वारपार छिचोल्ने काम पनि भएकाले भावनात्मक कुरा जोडिनु स्वाभाविक हो । सरकारमा भएका बेला सुरु भएका कुनै पनि अभियानहरू बीचमै बन्द या असफल भए भने त्यो सरकारको पनि दोष रहन्छ । त्यसैले त्यो नहोस् भन्ने हाम्रो चाहाना हो । तर त्यसो भन्दैमा एमालेको सडक हो भन्न मिल्दैन ।

एमालेको मध्य पहाडी सङ्कल्प यात्रा र मिसन ८४ बीच कुनै सम्बन्ध छैन ?

नेकपा एमालेले मिसन ८४ यसअघि नै घोषणा गरेको विषय हो । मध्य पहाडी यात्राका लागि गरेको होइन त्यो । यसभन्दा अघि नै मिसन ८४ गरेकाले त्यसको यो एउटा भाग मात्र हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप