मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभामा मधेसवादी दललाई गठबन्धनकै आश

मङ्गलबार, २६ मङ्सिर २०८०, १७ : ३३
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । मधेस केन्द्रित दल जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी पनि राष्ट्रिय सभा चुनावको तयारीमा जुटेका छन् ।

अगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा मधेस प्रदेशका दुई सिटका लागि समेत मतदान हुँदैछ । मधेसबाट एउटा जसपा र अर्को कांग्रेसको सिट खाली हुँदैछ । यी दुई सिटमा मधेसवादी दलले दाबी गरिरहेका छन् । अर्कोतिर नेकपा माओवादी केन्द्र र कांग्रेसले पनि ती सिटमा दाबी गरेका छन् ।

तर सत्ता गठबन्धनमा भएको प्रारम्भिक छलफल अनुसार मधेस प्रदेशका रिक्त दुई सिटमध्ये एउटामा जसपा र अर्को कांग्रेसले लिने लगभग तय भइसकेको छ । तर त्यसमा लोसपा र जनमत पार्टीले पनि दाबी गरिरहेका छन् ।

लोसपाका उपाध्यक्ष जितेन्द्र सोनलले राष्ट्रिय सभामा कम्तीमा एक सिटको दाबी रहेको बताए । उनले भने, ‘हामी सत्ता गठबन्धनकै साथमा छौँ, त्यहाँ हुने भागबण्डामा हामीले कम्तीमा एउटा सिटका लागि दाबी गरेका छौँ ।’

मधेस प्रदेशमा दुई वटा सिट खाली हुँदैछ, त्यसमध्ये एउटामा आफूहरुले दाबी गरेको बताउँदै उनले राष्ट्रिय सभाको चुनावमा गठबन्धनकै साथमा रहने प्रस्ट पारे । तर यदि सिट नपाए के गर्ने भन्नेबारे पछि निर्णय गर्ने उनको भनाइ छ ।

गठबन्धनमा रहेका कारण अन्य दलसँग तालमेल हुने सम्भावना निकै कम रहेको बताउँदै उनले एउटा गठबन्धन हुँदाहुँदै अर्को गठबन्धन बनाएर जाने पक्षमा लोसपा नरहेको प्रस्ट पारे ।

त्यस्तै जनमत पार्टीले हालसम्म राष्ट्रिय सभाको चुनावबारे आधिकारिक धारणा बाहिर ल्याएको छैन । सो पार्टीका उपाध्यक्ष अब्दुल खानले भने, ‘राष्ट्रिय सभा चुनाव लड्ने लगभग निश्चित छ, तर कसरी भन्नेबारे पार्टीले अहिले निर्णय गरिसकेको छैन ।’

गठबन्धनको भागबण्डामा एउटा सिटमा आफूहरुको दाबी रहने उनले पनि बताए । तर पार्टीले हालसम्म त्यसको बारेमा कुनै आधिकारिक निर्णय नगरेको उनको भनाइ छ ।

पार्टीका अध्यक्ष सीके राउत उपत्यका बाहिर रहेको र उनी काठमाडौँ आउने बित्तिकै बैठक बसेर राष्ट्रिय सभाको बारेमा निर्णय लिने उपाध्यक्ष खानले जानकारी दिए ।

जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले राष्ट्रिय सभाको चुनावमा दुई सिटमा आफूहरुको दाबी रहने बताए । सत्ता गठबन्धनको भागबण्डामामा मधेसमा एउटा सिट पाउने लगभग निश्चित रहेको तर आफूहरुले कम्तीमा दुई सिट पाउनु पर्ने भन्दै आएको उनको भनाइ छ ।

कार्यकारिणी समितिको बैठकले राष्ट्रिय सभा चुनावका लागि पार्टी दर्ता गराउने निर्णय गरेको जानकारी दिँदै उनले अरु विषयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले छलफल गरेर अगाडि बढ्ने प्रस्ट पारे ।

मधेस प्रदेशमा १०७ प्रदेश सांसदको पाँच हजार ६७१ मतभार र स्थानीय तहका २७२ जनप्रतिनिधिको पाँच हजार १६८ गरी १० हजार ८३९ मतभार छ ।

मधेस प्रदेशमा एमालेका कुल दुई हजार ३०२ मतभार, कांग्रेसको तीन हजार १०४, जसपाको एक हजार ८१७, जनमत पार्टीको ७४६, लोसपाको ९३३, माओवादी केन्द्रको ७६६, नेकपा (एस)को ५८०, नागरिक उन्मुक्ति पार्टीको ५३, राप्रपाको ५३, संघीय समाजवादीको ५३, तमलोपाको ५३ विवेकशील साझा पार्टीको ३८ र स्वतन्त्रको ३७५ मतभार छ । त्यसमध्ये मधेसमा गठबन्धनको मतभार सात हजार ९९९ छ ।

कोशी प्रदेशमा सत्ता गठबन्धनको मतभार पाँच हजार ४७४ छ । त्यहाँ कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जसपाबिच गठबन्धन छ । त्यहाँ राष्ट्रिय सभा निर्वाचनका लागि लोसपा र जनमतको मत छैन । कोशीमा मधेस केन्द्रित दल जसपाको १२९ मतभार छ ।

बागमती प्रदेशमा गठबन्धन दलको ६ हजार ७५१ मतभार छ । त्यहाँ राष्ट्रिय सभा निर्वाचनका लागि जसपा, लोसपा र जनमतको मत छैन । गण्डकीमा गठबन्धन दलको मतभार तीन हजार ७७४ छ । यो प्रदेशमा पनि जसपा, लोसपा र जनमतको मत छैन ।

लुम्बिनी प्रदेशमा गठबन्धन दलको मतभार पाँच हजार ४७७  छ । त्यहाँ जसपाको २७३, लोसपाको २३५, जनमत पार्टीको १५९ मतभार छ । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलको मतभार तीन हजार ७०७ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५१० छ । यी दुवै प्रदेशमा जसपा, लोसपा र जनमतको मत छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप