शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

बागमती विलाप

शनिबार, ३० मङ्सिर २०८०, ०८ : ४३
शनिबार, ३० मङ्सिर २०८०

ए चरी जाउ ! ए चरी जाउ ! तिनीलाई भनिदेऊ ।
म अझै पनि, व्यूँझेकी छैन, तिनीलाई भनि देऊ ।।
वागद्वार जंगल, काठ पहरा हुँदै, समतलमा आउँदा ।
सिञ्चित गर्ने, उपत्यकाबासी, हुन् मेरा बासिन्दा ।।

ए नगरवासी, ए टोलवासी, सबैले सुनिदेऊ ।
बुझपचाइकन, सकिन्न भन्ने, यो कुरा छाडिदेऊ ।।
तिमीले सम्झे, बुझ्नेछन् सवले, सबैलाई भनि देऊ ।
न फ्याँके तिम्ले, ढल र प्लाष्टिक, उठ्नेछिन् भनिदेऊ ।।

पुर्खाले पुजे, पुज्दैछन् अहिले, पुज्नेछन् भविश्य ।
रहम्ला यहाँ, शुन्दर यिनले, राखेमा भविश्य ।।
यी कान्तिपुरे, यी भक्तपुरे, पाटनवासीलाई ।
अमृत ख्वाएँ, सिंचाइ दिएँ, यी प्यारा जनतालाई ।।

प्रत्येक कक्षा, कोठामा जाउ, शिष्यलाई भनिदेऊ ।
पुजिने शिक्षक, मन्दिरमा जाउ, गुरूलाई भनिदेऊ ।।
ए विज्ञ जन, ए विज्ञ मन, एक चोटी सुनिदेऊ ।
ती तिम्रा विवेक, प्रयोग गरे, उठ्नेछिन् भनिदेऊ ।।

अगाडि बढ्ने, गृहिणीमा जाउ, तिनीलाई भनिदेऊ ।
प्रत्येक अफिस, दुकानमा जाउ, तिनीलाई भनिदेऊ ।।
सत्कार गर्ने, होटलमा जाउ, तिनीलाई भनिदेऊ ।
स्वादिष्ट खाजा, बनाउनेहरू, तिनीलाई भनिदेऊ ।।

पितृका नाममा, प्रार्थना गर्दा, दुषित नपार्नु ।
भगवान सम्झी, पुज्दै गर्दा, प्लाष्टिक नफ्याक्नु ।।
हुने छन् तिम्रा, ती पितृ, खुशी म स्वच्छ भैदिंदा ।
माछा र भ्यागुता आउनेछन् म मा म स्वच्छ भैदिदा ।।

न कुनै खर्च, गर्नु नै पर्छ, म राम्री बनाउन ।
म आफै शुन्दर, बनेर आउछु, तिमीलाई समाउन ।।
म्वाइ खान पाउछौ, पौडिन पाउछौ, म स्वस्थ भैदिदा ।
आकर्षित हुन्छन्, ती तिम्रा नयन, म शुन्दर भैदिंदा ।।

 पवित्र जल हुँ, पिउन सक्छौ, फोहोर नफ्याँके ।
मेलम्ची भन्दा, कम छैन राजा, संरक्षण लौ गरे ।।
सिंचाइ गर्छु, पिउने बन्छु, तिम्रै घर आँगन ।
आकर्षित गर्छु, पर्यटक तिम्रो, गरेमा सम्वर्धन ।।

पशुपति देव, चरण चुम्छु, उनलाइ नै पछ्याउँछु ।
पवित्र क्षेत्र, सबैमा तिम्रा, पाइला भै वग्दछु ।।
पितृका नाममा, ती भष्म नदेउ, पितृ नै रिसाउलान् ।
मलाई शुन्दर, राखेमा प्यारा, पितृ नै रमाउलान् ।।

म संगै हुन्छन्, ती पितृ देव, म पितृ बोलाम्ला ।
मलाई सफा, राखेमा प्यारा, संगसंगै रमाम्ला ।।
पर्दैन अध्ययन, शोध र खर्च, फोहोर नफ्याके ।
सम्पदा हो नी, म तिम्रो प्यारा, दुर्गन्ध नगरे ।।

म तिम्री आमा, म तिम्री बहिनी, म तिम्री जननी ।
म तिम्री सुगन्ध, म तिमी तृप्त, म तिम्री मोहिनी ।।
म संग सबै, छ तिमीलाइ दिन, म राम्री भएमा ।
सर्वनास पनि, हुनेछ प्यारा, मेरो नाश भएमा ।।

चन्द्रागिरि–१४, नयाँ नैकाप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुल्सी गिरी
तुल्सी गिरी
लेखकबाट थप