आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
उद्योग

नेपालमा कहिलेदेखि कपडा उत्पादन हुन थाल्यो ?

१९८३ सालमा शङ्खमूलमा स्थापित ‘त्रि–चन्द्र कामधेनु चर्खा महागुठी’ पहिलो संगठित कपडा उद्योग
शनिबार, ३० मङ्सिर २०८०, १८ : ०३
शनिबार, ३० मङ्सिर २०८०

‘नेपालमा ऊनबाट बनेका वस्तुको बेपार विदेशमा चलेको वर्णन अहिलेभन्दा २३०० वर्ष पहिलेदेखि पाइएको छ । कौटिल्यले नेपालमा बनेका आठपाटे राडी, घुमराडी असल हुन्छन् भनी लेखेका छन् । बौधायनले उत्तरका मानिसहरू ऊनबाट बनेका राडी, पाखी, कम्बलको बेपार गर्छन्, जाँडरक्सी खान्छन्, घोडाको बेपार गर्छन्, हातहतियार भिरेर हिँड्छन्, नाउद्वारा समुद्रपारका द्वीपहुँदो पुग्छन् भनी लेखेका छन् । नेपालको राडी (नेपाल कम्बल) ओछ्याएर श्राद्ध गर्नू भनी धर्मशास्त्रमा पनि लेखिएको छ’ (ज्ञानमणि नेपालको पुस्तक ‘नेपाल निरुक्त’) ।

यस्तै, हिन्दुहरूको प्राचीन ग्रन्थ ऋग्वेदमा कपडा बुन्ने कार्यका लागि ‘वाय’ शब्द र कपडा बुन्ने यन्त्रका लागि ‘तसर’ शब्दको उल्लेख पाइन्छ ।

मानिसका लागि अति आधारभूत आवश्यकता भनेकै गाँस, बास र कपास हुन् । कपास अर्थात् कपडा । सभ्यताको इतिहासमा मानिसले जाडोबाट बच्न र अर्को कुनै शत्रु वा जनावरबाट जोगिन शरीरलाई केही चिजले छोप्न थालेको अनुमान गर्न सकिन्छ । पछि त्यसले वस्त्रको रूप धारणा ग¥यो र इज्जत छोप्ने साधन बन्यो । ‘इज्जत छोप्नु’ले यौनाङ्ग ढाक्नु मात्रै नभई व्यक्तिको आर्थिक, सामाजिक र  राजनीतिक हैसियतको प्रदर्शनलाई पनि जनाउँछ । 

हामीकहाँ राणाकालमा दुई किसिमका कपडा प्रचलनमा थिए– जनसाधारणले प्रयोग गर्ने निम्न कोटिका र दरबारियाहरूले मात्र प्रयोग गर्ने महँगो मूल्यका । जंगबहादुरका सौतेने दाजु जनरल भक्तवीरले वि.सं. १९१२ वैशाखमा छोराहरूलाई गरिदिएको अंशबन्डाको पत्रलाई आधार बनाएर रमेश ढुंगेलले लेखेको एक आलेखमा तत्कालीन दरबारियाहरूले लगाउनका लागि पैठारी हुने कपडाबारे पनि उल्लेख छ । 

हाम्रो भूगोलमा प्र्राचीन कालदेखि नै कपडा बुन्ने सीप जनतामा रहँदै आएको हो । ‘आफ्ना देशका कपडा बुन्न जान्यालाई नमुना देखाई सघाउनू’ भन्ने पृथ्वीनारायणको उपदेशलाई नियाल्दा पनि त्यतिबेला कपडा बुन्न जान्ने नागरिक देशमै थिए र उनीहरूलाई राज्यको सहयोग आवश्यक भइरहेको भनी बुझ्न सकिन्छ । 

नेपालमा कपडा बुन्ने तान 

२०३५ सालसम्म हातेतान सुती कपडा उद्योगबाट नेपालमा वार्षिक एक करोड ८० लाख ७३ हजार मिटर कपडा उत्पादन भएको अनुमान गरिएको थियो । जसमध्ये करिब ७६ प्रतिशत कपडा घर–परिवार स्तरमा सञ्चालित उद्योगबाट र बाँकी संगठित उद्योग क्षेत्रबाट सञ्चालित उद्योगबाट उत्पादन हुन्थे । 

२०३५ सालमा ‘औद्योगिक सेवा केन्द्र’ले ‘हातेतान सुती कपडा उद्योगको अधिराज्यव्यापी अध्ययन’ गरेको थियो । जसको प्रतिवेदन (यसपछि २०३५ सालको प्रतिवेदन भनिनेछ) अनुसार, तान भन्नाले सुती वा उनी धागो प्रयोग गरी तानाबाना लगाएर कपडा बुन्ने यन्त्रलाई बुझिन्छ । तानबाट कपडाको अतिरिक्त राडी, पाखी, गलैँचा आदि बुनिन्थ्यो । 

कपडा बुन्ने तान तीन किसिमका थिए– हातेतान, अर्धस्वचालित तान (खुट्टाले चलाउने र हातले चलाउने । अर्धस्वचालित तानलाई विद्युत्को प्रयोगबाट पनि चलाइन्थ्यो) र पूर्ण स्वचालित (अत्याधुनिक) तान । २०३५ सालसम्म आइपुग्दा नेपालमा पूर्णस्वचालित तान थिएनन् । 

दुई प्रकारका हातेतान (थ्रो सटल र फ्लाई सटल) मध्ये थ्रो सटल तान नेपालको परम्परागत तान हो । काठ र बाँसबाट बनाइने यस तानलाई नेपाली तान पनि भनिन्छ ।

२०३५ सालसम्म देशभर ५३ हजार पाँच सय थ्रो सटल तान, १५ हजार फ्लाई सटल तान र ४७० अर्धस्वचालित तान स्थापित भएको अनुमान गरिएको थियो । यीमध्ये ६० थ्रो सटल, ३२०० फ्लाई सटल तथा २४० अर्ध स्वचालित तान संगठित क्षेत्रमा र बाँकी घर–परिवारमा सञ्चालन भएको थियो । 

त्यतिबेला थ्रो सटल तानमध्ये सबभन्दा बढी (२३ हजारवटा) तान पूर्वाञ्चल विकास क्षेत्रमा र सबभन्दा कम (५ हजार) पश्चिमाञ्चल विकास क्षेत्रमा भएको अनुमान गरिएको थियो । यस्तै, सबभन्दा बढी फ्लाई सटल हातेतान (१३,५००) पश्चिमाञ्चल र सबभन्दा कम (३००) पूर्वाञ्चल विकास क्षेत्रमा स्थापना भएको थियो । 

त्यस्तै, अर्ध स्वचालित तान सबभन्दा धेरै (३५०) मध्यमाञ्चलमा र सबभन्दा कम (५) सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा स्थापित थिए । कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी कपडा हातेतान (फ्लाई सटल)बाट, करिब १५ प्रतिशत थ्रो सटल तानबाट र करिब ५ प्रतिशत अर्थ स्वचालित तानबाट उत्पादन भएको अनुमान गरिएको थियो । यस्तै, हातेतान तथा अर्ध स्वचालित तानमा त्यतिबेला ५० हजार ३०० कामदार संलग्न भएको अनुमान गरिएको थियो ।1 pdf

तुलसीमेहेरले सजायको सट्टा सिकेको वस्त्रकला

आर्य धर्मको प्रचारमा लागेका तुलसीमेहेर श्रेष्ठले १९७८ सालतिर काठमाडौँमा ‘सत्य आचरण सभा’को सुरुआत गरेका थिए । यो सभा प्रचलित धर्मको विरोधमा भएको निष्कर्षसहित तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले श्रेष्ठलाई १२ वर्षको कैद वा आजन्म देश निकालाको सजाय सुनाए । देशमै १२ वर्ष कैद सजाय भोग्नु भन्दा देश निकाला भई केही इलम सिकेर फर्कने इच्छा श्रेष्ठले व्यक्त गरे । ‘महात्मा गान्धीको आश्रममा गई कपास खेतीदेखि कपडा बुन्नेसम्मको वस्त्र स्वावलम्बनको काम सिकेर आउनू’ भनी उनलाई चन्द्रशमशेरले निर्देशन दिए । छात्रवृत्तिबापत उनलाई मासिक १८ भारतीय रुपैयाँ समेत दिइएको थियो । 

भारतको मद्रास, अहमदावाद, बम्बई आदि स्थानमा अवस्थित गान्धी आश्रममा चार वर्षसम्म चर्खा चलाउने, धुलाई गर्ने, रङ्गाउने आदि वस्त्रकलासम्बन्धी प्रशिक्षण प्राप्त गरी १९८२ सालमा तुलसीमेहेर देश फर्के । फर्कंदा उनले आफैँले बुनेको खादीको लुगा लगाएका थिए भने साथमा एक चर्खा ल्याएका थिए । 

केही चर्खा चलाएर कपडा उत्पादन गर्न तुलसीमेहेरलाई चन्द्रशमशेरले ७५० रुपैयाँ र चारजना सहायक कामदारसमेत दिए । सोही कपडा उद्योगलाई १९८३ सालमा ‘त्रि–चन्द्र कामधेनु चर्खा महागुठी’ नाम दिई पाटनको शङ्खमूलमा स्थापित गरियो । यसैलाई नेपालको पहिलो संगठित कपडा उद्योग मान्नुपर्ने हुन्छ ।

शंखमूलस्थित महागुठीले १९९७ सालमा पाटनको मंगलबजारमा एक इकाई सञ्चालन गरी हातेतानबाट कपडा बुन्ने काम सुरु ग¥यो । आफैँले कपास काती तयार गरेको कतुवा धागोबाट मात्र सुती कपडा खासगरी खादी बुन्ने उद्देश्यले यस महागुठीले लिएको थियो ।

त्यतिबेला देशका विभिन्न भागमा कपासखेती भई जनस्तरबाट परम्परानुगत रूपमा सुती कपडा उत्पादन हुँदै आएको थियो । यद्यपि नेपालमा कपासखेती हुन सक्छ भन्नेमा राणा प्रधानमन्त्रीहरूलाई त्यति विश्वास नभएको उपरोक्त प्रतिवेदनमा उल्लेख छ । तुलसीमेहरले परीक्षणका रूपमा गमलामा कपास रोपी फलाएर चन्द्रशमशेरलाई चकित पारिदिए । त्यसपछि भारतको मधुवनीबाट पाँच भारी बिउ ल्याई पोखरा र मस्याङ्दी नदी किनार क्षेत्रमा कपास खेती गर्न लगाइयो । 

तुलसीमेहरले लेखेको पुस्तक ‘कपास खेतीको साधारण सूचना’ (वि.सं. १९८७) प्रकाशित छ । यस पुस्तकमा कपासको प्रशंसादेखि कपास खेतीका लागि कस्तो जमिन चाहिने, कपास लगाउने विधिबारे उल्लेख गरिएको छ ।

महागुठीले आफ्ना तानहरू सञ्चालन गर्नका लागि आवश्यक धागो कात्ने एकाइ बिस्तारै ललितपुरको सुनाकोठी, बुङमती, चापागाउँ आदि स्थानमा, भक्तपुरको भादगाउँ तथा ठिमीमा र काठमाडौँको पाँगा, कीर्तिपुर क्षेत्रमा स्थापना गर्दै गयो । कीर्तिपुरमा १९९८ सालदेखि व्यक्तिगत रूपमा हातेतान सञ्चालन गरी कपडा बुन्ने काम सुरु भइसकेको थियो । 

यस्तै, १९८७ सालमा काठमाडौँमा ‘टेक्निकल स्कुल’ नामक एक प्रशिक्षण पाठशालाको स्थापना गरिएको थियो । जहाँ विभिन्न विषयको तालिमसँगै मूलतः हातेतान सञ्चालनको तीनवर्षे प्रशिक्षण दिइन्थ्यो । 

२०३५ सालसम्म हातेतान सुती कपडा उद्योगबाट नेपालमा वार्षिक एक करोड ८० लाख ७३ हजार मिटर कपडा उत्पादन भएको अनुमान गरिएको थियो । २०४१ सालसम्म देशभर १६ वटा सुती कपडा उद्योग (मेसिनमा दुई लाखभन्दा बढी लगानी भएका) चालु अवस्थामा थिए ।

१९९६ सालमा आएर तत्कालीन राणा सरकारबाट ‘नेपाली कपडा र घरेलु इलम प्रचार अड्डा’को स्थापना गरियो । यस अड्डाको स्थापनापछि बिस्तारै विभिन्न क्षेत्रमा तानहरूको वितरण सुरु गरियो । फलस्वरूप रामलाल श्रेष्ठबाट लुभुमा प्रदर्शन कार्यक्रमको आयोजना गरी ६ वटा हातेतानबाट कपडा बुन्ने काम सुरु गरियो । ढाका बुन्ने काममा निपुण हुँदै गएको लुभु क्षेत्र बिस्तारै ‘ढाका सहर’को नामबाट प्रख्यात हुन थाल्यो । लुभु निवासी नरबहादुर श्रेष्ठले काठमाडौँको ज्याबहाल टोलमा त्यति बेला पनि करिब सय थान तान राखी उद्योग सञ्चालन गरेका थिए । कपडा उद्योगको बढ्दो प्रगति देखेर तत्कालीन सरकारले उद्योगीलाई ऋण समेत दिन थालेको थियो ।

सुती कपडा उद्योगको विकासमा सहयोग पु¥याउने उद्देश्यले जुद्धशमशेरका पालामा ‘आदर्श भण्डार’ नामक एक संस्थाको सञ्चालन गरिएको थियो । यस भण्डारले उत्पादित कपडा किनिदिने गथ्र्यो । १९९९ सालमा यो भण्डार बन्द भयो ।

यहीबीचमा काठमाडौँको भोटेबहालस्थित केन्द्रीय कारागारमा सरकारी रेखदेखमा सुती कपडा उद्योग सञ्चालन गरिएको थियो । यहाँ बन्दीहरूलाई काम सिकाई कपडा उत्पादन गरिन्थ्यो । यस कारखानामा २००० सालतिर बेलायती स्वचालित तानहरूको सञ्चालन सुरु गरिएको थियो ।  

२००४ सालमा ‘नेपाली कपडा र घरेलु इलम प्रचार अड्डा’बाट सुती उद्योग तालिम लिनका लागि केही कर्मचारीलाई भारतमा पठाइयो । त्यसपछि उपत्यकाभित्रका त्रिपुरेश्वर, ठिमी, हरिसिद्धि, पाँगा, चापागाउँ, सानगाउँ, सदरजेल, स्वयम्भु, भक्तपुर आदि क्षेत्रमा तालिम तथा उत्पादन केन्द्र र उपत्यकाबाहिर बनेपा, जनकपुर, मटिहानी, धनकुटा, पोखरा, बाग्लुङ, बैतडी, बझाङ, अछाम आदि स्थानमा तालिम तथा प्रचार केन्द्रहरू खोलिए । २०१० सालमा आएर ‘नेपाली कपडा र घरेलु इलम प्रचार अड्डा’लाई ‘त्रिभुवन ग्राम विकास विभाग’मा सम्मिलित गराइयो ।

२००७ सालमा गैरसरकारी क्षेत्रमा ‘नेपाल गान्धी स्मारक निधि’ नामक अर्को एक संस्थाको स्थापना गरिएको थियो, जसको उद्घाटन भारतीय नेता जवाहरलाल नेहरूले गरेका थिए । यस संस्थामार्फत सुती कपडा उद्योगसम्बन्धी विभिन्न विकास कार्यक्रम सञ्चालन भइरहेको थियो । भारतबाट वार्षिक २०० गाँठ कपास पनि आउने गरेको थियो । यसै संस्थाको नाममा भारतीय सहयोगमा जनकपुर क्षेत्रमा करिब ५५ बिघा जमिन कपासखेतीका लागि भनी किनियो । जहाँ २०३५ सालसम्म चार बिघा जग्गामा कपासखेती भइरहेको र वार्षिक करिब ३० गाँठ कपास (करिब ६० मन) संस्थालाई आइरहेको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ भारतको राँचीबाट ल्याइएको शंकर नामको कपासको बिउ लगाइएको थियो । त्यतिबेलासम्म नेपालमा कपास खेतीको वैज्ञानिक परीक्षण गरिएको थिएन । 

‘नेपाल गान्धी स्मारक निधि’लाई २०२९ सालमा ‘त्रि–चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी’सँग गाभेर ‘नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी’ नामकरण गरियो । 

सुती कपडा उद्योगमा गैरसरकारी क्षेत्रबाट विभिन्न सेवा पु¥याउने उद्देश्यले २००९ सालमा नेपालमा पहिलोपटक ‘वेभिङ (बुनाई) एसोसिएसन’को समेत स्थापना गरिएको थियो, तर केही वर्षभित्रै यो बन्द भयो ।

२०१२ सालमा ‘अमेरिकी फोर्ड फाउन्डेसन’ नामक संस्थाले कपडा उद्योग क्षेत्रमा केही आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । यही वर्ष ‘घरेलु ग्रामीण र साना उद्योग तालिम तथा विकास विभाग’ (यसपछि घरेलु विभाग भनिने छ)को स्थापना भयो ।

श्याम गोपालले आविष्कार गरेको त्यो तान

घरेलु कार्यालयमा पूर्व १ नम्बर चौतारा निवासी श्याम गोपाल नाम गरेका व्यक्ति प्रशिक्षार्थीका रूपमा आएका थिए । तालिम लिएर फर्केपछि उनले आफ्नो घरमा बसी चार वर्ष लगाएर २०१६ सालमा नेपाली अर्धस्वचालित तान (पेडल लुम) बनाए ।

२०१९ सालमा यस तानलाई घरेलु विभागको कार्यालयमा प्रदर्शन गरियो । त्यसपछि श्याम गोपाललाई पनि घरेलु कार्यालयमा नियुक्ति दिई त्यस तानको विकासमा लगाइयो । यो तानलाई २०२० सालमा परीक्षण उत्पादनका लागि सदर कारागार कारखानामा पठाइएको थियो । २०२२ सालदेखि यस तानलाई काठमाडौँस्थित अन्य कपडा उत्पादन क्षेत्रमा पठाइयो । २०२२ सालमै यसै नमुनाबमोजिम केही तान बनाउने ठेक्का बालाजु औद्योगिक क्षेत्रमा अवस्थित बालाजु यन्त्रशालालाई दिइएको थियो । 

२०१५ सालमा घरेलु विभाग अन्तर्गत ‘असहाय कल्याण केन्द्र’को नाममा संगठित एक अर्को कपडा उद्योगको स्थापना गरियो, जो सुरुका वर्षमा थापाथलीमा सञ्चालित थियो । पछि यसलाई पाटन औद्योगिक क्षेत्रमा सारियो । 

२०२२ सालमा काभ्रे जिल्लाको बनेपामा घरेलु उद्योग विभागले चण्डेश्वरी कपडा कारखाना नाम गरेको एक सुती कपडा उद्योग स्थापना गरेको थियो । 

२००२ सालको एक अध्ययन 

२००२ सालमा प्रकाशित ‘कपास खेती’ नामक सानो पुस्तिका मदन पुस्तकालयमा रहेको छ । प्रोपगन्डा अफिसर गोपिनाथ थपलियाले लेखेको यस पुस्तिकामा तत्कालीन अवस्थामा नेपालको जनसंख्या ५० लाख रहेको अनुमान गरिएको छ । 

‘मुलुकभरिको हिसाब परै रहोस्, तीन सहरलाई र डाँडापाखालाई पनि छाडी खालि चार भञ्ज्याङभित्रका सानातिना गाउँले सहरहरूमा घरेलु इलम प्रचारको उद्योग लिई घुम्दा त्यहाँ मैले जो देखेँ त्यसको छोटकरी अन्दाजी हिसाब तलका दफाबाट जाहेर हुनेछ,’ थपलियाले लेखेका छन्, ‘गाउँले सहर ३९ मा जम्मा जनसंख्या ४८,४५८ मा जम्मै भने जस्तो ज्यापु जात भएकाले निजहरूका पुराना किसिमका तान २८४९ वटा रहेछन् । ज्यापु–ज्यापुनीले कसैले कपास किनी त्यसबाट धागो काती कपडा बुन्ने र कसैले धागो किनी ज्यादा सुती थोरबहुत ऊनी तयँगा (बर्कोजस्तो ओढ्ने) समेत आफ्ना घर खर्चलाई चाहिँदो बनाई चोलाका कपडाहरू मात्र किन्दा रहेछन् । गाउँले सहरका मानिसले सयकडा ६० देखि ९० सम्म आफूले बुनेका कपडाको चलन गरेको देखियो ।’ 

उनले केटाकेटी र महिला–पुरुष गरी ५० लाख जनसंख्यालाई १२ करोड ५० लाख गज कपडा लाग्ने अनुमान समेत गरेका थिए । 

२०३५ सालको प्रतिवेदनमा समेत कपडा बुन्ने काम अन्य समुदायको तुलनामा विशेषतः नेवारले बहुसंख्यक रूपमा गरेको उल्लेख छ । ‘यस कार्यलाई उनीहरू ‘था ज्या ला ज्या’को रूपमा हेर्छन् । था ज्या भनेको बुन्ने काम, ला ज्या भनेको फुर्सदको काम । उनीहरूको भनाइमा यो फुर्सदमा गरिने काम हो,’ २०३५ सालको प्रतिवेदन भन्छ, ‘नेवारहरूको परम्परामा छोरीको विवाह गर्दा दाइजोको रूपमा एउटा तान र चर्खा दिने प्रचलन केही समयअगाडि चल्तीमा थियो, ताकि छोरीले भोलि घरमा गएर पनि केही इलम र मेहनत गरी जीविका गर्दै रहोस् ।’

२०३५ सालको प्रतिवेदन अनुसार, थ्रो सटल तानमध्ये सबभन्दा बढी २३ हजार तान पूर्वाञ्चल विकास क्षेत्रमा रहेका थिए । यसले के संकेत गर्छ भने त्यस भेगका राई–लिम्बु महिलाले तानबाट कपडा उत्पादनमा राज्यलाई टेवा पु¥याइरहेको हुनुपर्छ । अचेल लिम्बु अध्येताहरू आफूहरूकी इष्टदेवी युमाले तान बुन्ने गरेको चर्चा गर्छन् । 

हेटौँडा कपडा उद्योग

सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रस्थित ‘हेटौँडा कपडा उद्योग लिमिटेड’लाई ब्युँताउने चर्चा पछिल्ला सरकारले गर्दै आएका छन् । 

२०३२ सालको पुसमा शिलान्यास भई ५ माघ २०३५ मा उद्घाटन गरिएको यस उद्योगमा धागो कात्ने, कपडा बुन्ने तथा रङ्गाइ र छपाइ गर्ने काम हुन्थ्यो । अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको र २३६.०७ रोपनी जग्गामा फैलिएको यो उद्योगलाई चिन सरकारको सहयोग थियो । 

‘उद्योगको संक्षिप्त परिचयात्मक पुस्तिका’ (२०४२) अनुसार, यस कारखानाको वार्षिक उत्पादन क्षमता ११० लाख मिटर कपडा र २५० मेट्रिक टन धागो रहेको थियो । २०३५ सालको कात्तिकदेखि परीक्षण उत्पादन सुरु गरेको यस उद्योगले २०४२ सालसम्म आफ्नो उत्पादनमा वृद्धि गरिरहेको थियो । परीक्षण वर्ष (२०३५÷३६) मा सात लाख ७६ हजार मिटर कपडा उत्पादन गरेको उद्योगले आर्थिक वर्ष ०३६÷३७ मा २० लाख मिटरको लक्ष्य लिई २१ लाख ३९ हजार मिटर अर्थात् अर्थात् लक्ष्यभन्दा सात प्रतिशत बढी (१०७ प्रतिशत) उत्पादन गरेको थियो । यस्तै, आव २०३७÷३८ मा ३० लाख मिटर उत्पादन गर्ने लक्ष्य लिँदा ३२ लाख २१ हजार मिटर उत्पादन गरेको थियो भने आव २०३८÷३९ मा ५० लाख मिटरको लक्ष्य राख्दा ४७ लाख २१ हजार मिटर अर्थात् लक्ष्यको ९४ प्रतिशत उत्पादन गरेको थियो । यस्तै, आव २०३९÷४० देखि आव ०४१÷४२ सम्मको तीन वर्षमा हरेक वर्ष ७५ लाख मिटर उत्पादनको लक्ष्य राखेकामा पहिलो वर्ष ५३ लाख १७ हजार, दोस्रो वर्ष ५६ लाख ६० हजार र तेस्रो वर्ष ४९ लाख नौ हजार मिटर कपडा उत्पादन गरेको थियो । यो उद्योग २०५७ सालदेखि बन्द छ । 

pdf2

हालको अवस्था 

२०४२ सालमा प्रकाशित पञ्चायत स्मारिका अनुसार, २०४१ सालसम्म देशभर सुती कपडाको १६ वटा उद्योग चालु अवस्थामा थिए भने, पाँचवटा बन्द थिए । यस्तै सातवटा निर्माणाधीन, अस्पष्ट स्थितिका १३ गरी जम्मा ४१ वटा सुती कपडा उद्योगको तथ्यांक स्मारिकामा समेटिएको छ । सिन्थेटिक कपडाका १० वटा उद्योग चालु रहेको पनि स्मारिकामा उल्लेख छ । यी तथ्यांक मेसिनमा दुई लाखभन्दा बढी लगानी भएका उद्योगका मात्र हुन् । 

नेपाल कपडा उत्पादन संघका उपाध्यक्ष जितेन्द्र लोहियाका अनुसार, हाल देशभर निजी स्तरका करिब २५० वटा साना–ठुला कपडा उद्योग छन्, जो प्रायः संकटग्रस्त अवस्थामा छन् । ‘खुला सिमाना, चोरी पैठारी, न्यून विजकीकरणदेखि विभिन्न समस्याले गर्दा हाम्रा कपडा उद्योग पहिलेदेखि नै संकटग्रस्त अवस्थामै छन्,’ लोहिया भन्छन्, ‘सम्भावना धेरै छ । यस सम्बन्धमा अर्थ मन्त्रालयसँग विभिन्न समयमा छलफल भएका छन् तर मन्त्रालयबाट एउटा कुरा घोषणा हुन्छ, कार्यान्वयन हुन धेरै गाह्रो छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप