शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

६ अर्बमा किनेको चिनियाँ जहाज कतिमा बेच्दैछ निगम ?

सोमबार, ०९ पुस २०८०, १५ : ५३
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय एकैपटक तीनवटा मुद्दाले चर्चामा छ । नयाँ जहाज खरिद, पुरानो जहाज बिक्रीसँगै वर्षौँवर्षदेखि जिम्मेवारी सम्हाल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ग्राउन्ड ह्याण्डलिङको सुविधासमेत खोस्ने नागरिक उड्डयन प्राधिकरणको निर्णयसँगै थप निगम चर्चामा आएको हो ।

ग्राउन्ड ह्याण्डलिङको मुद्दालाई छाडेर यतिखेर निगम जहाज किनबेचमा अझ बढी चर्चा र विवादमा छ । दुर्गम क्षेत्रमा उडान भर्ने गरी निगमले तत्काल तीन वटा ट्विनअटर जहाज खरिदप्रक्रिया अघि बढाएको छ । 

२२ अक्टूबर, २०२३ देखि ५ डिसेम्बर २०२३ सम्म ४५ दिने जहाज खरिदको अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेकोमा तीनवटा अन्तर्राष्ट्रिय कम्पनी हिन्दुस्तान एयरोनोटिकल लिमिटेड (भारत), दी हेविलल्याण्ड (क्यानडा) र एयरक्राफ्ट इन्ड्रस्ट्रीज (चेक रिपब्लिका)ले आवेदन हालेका छन् । यी कम्पनीहरूको दरखास्तका आधारमा मूल्याङ्कन भइरहेको निगमले जनाएको छ ।

पहिलोपटक निगमले आफ्नै स्रोतबाट जहाज किन्न लागेको जनाएको छ । तर, यसअघिको दुईवटा वाइड बडीसहित न्यारो–बडी जहाज किन्दाको सावाँ ब्याज गरी करिब ४९ अर्ब रुपैयाँ ऋणमा रहेको निगमले आफ्नै स्रोतबाट थप जहाज किन्छु भन्नु हास्यास्पद रहेको भन्दै यतिबेला निगमको तिखो आलोचना भइरहेको छ । ‘कमिसनको लोभमा जहाज किन्न लागिएको त होइन ?’ भन्दै निगमका कर्मचारी र विभागीय मन्त्री सुदन किरातीको आलोचना पनि भइरहेको छ । 

तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती भने निगम जहाज किन्न सक्षम रहेको भन्दै जसरी पनि जहाज किनिछाड्ने बताउँछन् । ‘बरु म जेल जान तयार छु । तर जहाज किन्ने नै हो । सधैँ निगम कमजोर अवस्थामा रहन सक्दैन । कोइला खानीमा काम गर पनि भन्ने अनि सेतो कपडामा वेदाग आइज भन्न मिल्दैन । म जोखिम लिन्छु, जहाज किन्छु,’ किरातीले भने । जहाजको किस्ता सावाँ ब्याज एकैपटक तिर्नु नपर्ने हुँदा किस्ता किस्तामा निगमले कमाउँदै तिर्दै जाने समेत मन्त्री किरातीले बताए । 

जहाज खरिदको योजना तत्कालको भने होइन । तीन वर्षअघि २०७७ भदौमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नै आन्तरिक उडानका लागि थप जहाज आवश्यक रहेको भन्दै जहाज खरिद गर्ने प्रक्रिया अघि बढाउन निगमको व्यवस्थापनलाई निर्देशन दिएका थिए । जतिबेला निगमको व्यवस्थापन समितिको कार्यकारी अध्यक्ष सुशील घिमिरे थिए भने निगमको महानिर्देशक डिमप्रकाश पौडेल थिए । 

अध्यक्ष घिमिरेको नेतृत्वमा जहाज खरिद उपसमिति गठन गरिएको थियो । उक्त समितिले २ वटा एटीआर र ३ वटा साना ट्विनअटर जहाज खरिद गर्न आवश्यक रहेको औँल्याएको थियो । सोही उपसमितिको सुझाव र आवश्यकतालाई मनन गर्दै हाल पहिलो चरणमा निगमले तीन वटा ट्विनअटर जहाज खरिद गर्न लागेको निगमका प्रवक्ता रमेश पौडेलको भनाइ छ ।

चिनियाँ जहाज लिलामीको विवाद

जहाज खरिदको विवाद साम्य नहुँदै फेरि निगम यता जहाज बिक्री (लिलामी) को विवादमा फसेको छ । वर्षौँदेखि त्रिभुवन विमानस्थलमा थन्किएको (ग्राउन्डेड) ५ वटा चिनियाँ जहाज बिक्री गर्न लागेसँगै निगम विवादमा तानिएको हो । 

२१ डिसेम्बर, २०२३ अर्थात् पुस ५ गते एक सूचना जारी गर्दै निगमले दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई चिनियाँ जहाज बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ । सन् २०१४ देखि पटकपटक गरेर ५ वटा चिनियाँ जहाज ल्याएको निगमले कुनै पनि जहाज राम्रोसँग चलाउन सकेन । 

कम्पनीले दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई जहाजमा दुईवटा अनुदानमा र तीनवटा सुलभ मूल्यमा खरिद गरेको हो । जहाज खरिदका लागि कूल ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च भएको छ । तर, चिनियाँ जहाज ६ वर्ष पनि राम्रो उडान नभर्दै ग्राउन्डेड हुनपुग्यो । आर्थिक वर्ष २०७७÷७८ देखि निरन्तर ग्राउन्डेड जहाजका कारण निगमलाई १० अर्बमाथि घाटा लागिसकेको छ । 

आर्थिक वर्ष २०७१÷७२ देखि २०७५÷७६ सम्म (जहाज सञ्चालन रहेकै अवस्थामा) निगमलाई ७७ करोड ७४ लाख १० हजार १४३ रुपैयाँ सञ्चालन घाटासहित कूल १ अर्ब ९० करोड ६९ लाख ३३ हजार ११४ रुपैयाँ घाटा लागेको निगमले जनाएको छ । त्यसयता वार्षिक २० करोडका दरले आर्थिक वर्ष २०७६÷७७ सम्मा थप ५० करोड हाराहारी घाटा थपिएको र हालसम्म पार्किङ चार्ज, बीमा प्रिमियम लगायतको खर्चमा थप २ अर्ब हाराहारी खर्च भइसकेको निगमले जनाएको छ । 

नयाँ चिनियाँ जहाजका कारण उपयुक्त पाइलट, इन्जिनियर मेकानिक्स (प्राविधिक), प्रशिक्षक, स्पेयर पार्टस् लगायतको समस्याका कारण जहाज उडान गर्न नसकिएको निगमको तर्क छ । अझ सामान्य अन्य जहाजको तुलनामा चिनियाँ जहाजले दोब्बर परिमाणमा तेल (ईन्धन) समेत खर्च गर्ने हुँदा खर्च धान्न नसकिएको निगमको दाबी छ । यसैकारण खर्च बचाउनका लागि पनि जहाज बिक्री गर्न लागिएको मन्त्री किरातीले बताएका छन् ।

२ अर्ब ६० करोडमा ५ वटा जहाज बिक्री गर्दै निगम

वायुसेवा निमगको ट्रेन्डर सूचना अनुसार करिब २ अर्ब ६० करोड रुपैयाँ हाराहारीमा ५ वटा चिनियाँ जहाज बिक्री गरिने भएको छ । जबकि यी जहाज खरिदमा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च भएको छ । हालसम्मको सञ्चालन तथा व्यवस्थापन खर्च, मेन्टेनेन्स खर्च गरी १० अर्ब हाराहारी खर्च भइसकेको छ । तर, निगमले घाटामा नै भएपनि कूल १९,५७७,७८४ अमेरिकी डलर अर्थात् करिब २ अर्ब ६० करोड रुपैयाँ बराबरको न्यूनतम मूल्यमा जहाज बिक्रीमा राखेको हो । 

‘सधैँ सेतो हात्तीको रुपमा रहेको चिनियाँ जहाज बेच्दा नै उपयुक्त हुने देखियो । वर्षौँवर्ष पाकिङ चार्ज र बीमा शुल्क तिर्दातिर्दै हैरान भइसकियो । बनाएर उडाउन पनि नसकिने र पाल्न पनि नसकिने । बरु बेचिदिँदै फाइदा हुने देख्यौँ र चिनियाँ जहाज बिक्री प्रक्रियामा अघि बढेका हौँ,’ मन्त्री किरातीले भने । 

वार्षिक २० करोडभन्दा बढी शुल्क तिरेर चिनियाँ जहाज पाल्न नसकेको भन्दै बेच्न टेन्डरमा गएको मन्त्री किरातीले मिनी संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी दिएका छन् । तथापि, जहाज बिक्रीको विकल्पमा समितिले कुनै उपयुक्त विकल्प दिएमा आफूले जहाज बिक्री प्रक्रिया रोक्ने समेत मन्त्री किरातीले बताएका छन् ।

 कुन जहाजको मूल्य कति तोकियो ?

२ वटा एमए–६० र ३ वटा वाई–१२ ई जहाज चिनियाँ कम्पनी छिआन एयरक्राफ्ट इन्ड्रस्टी (ग्रुप) ले उत्पादन गरेको हो । २०७१ सालदेखि २०७५÷७६ सम्म पटकपटक गरी भित्रिएका जहाजहरूले कूल २४ हजार १७४ घण्टा मात्र उडान भरेका छन् ।

दुईवटा एमए–६०, ९एन–एकेक्यू र ९एन–एकेआर जहाजले क्रमशः २ हजार ९९६ घण्टा ३२ मिनेट अर्थात् ३ हजार ३१६ साइकल र ३ हजार ७९ घण्टा ७ मिनेट (३ हजार ४१५ साइकल) उडान भएका छन् भने चार वटा वाई–१२ ई जहाजहरू कूल १८ हजार ९८ घण्टा उडेका छन् । 

उडान साइकल अनुसार र एयरक्राफ्टको अवस्थाका आधारमा बिक्री मूल्य निर्धारण गरिएको प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए । 

निगमको ट्रेन्डर आह्वान अनुसार एमए–६० एयरक्राफ्ट (९एन–एकेआर) को मूल्य ८,२२५,५०१ अमेरिकी डलर अर्थात् करिब १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ तोकिएको छ । यसैगरी एमए–६० कै अर्को एयरक्राफ्ट (९एन–एकेक्यू) दर्ता नम्बर रहेको जहाजको मूल्य ४,९२२,२३५ अमेरिकी डलर अर्थात् करिब ६४ करोड ९७ लाख रुपैयाँ तोकिएको छ । 

यसैगरी तीनवटा वाई–१२ सेग्मेन्टका जहाजहरुमा, वाई–१२ ई, ९–एन–एकेभीको न्यूनतम मूल्य २,४१२,६७१ यूएस डलर (करिब ३१ करोड ८४ लाख रुपैयाँ), वाई–१२ ई, ९एन–एकेटीको मूल्य २,३५८,८६० यूएस डलर (करिब ३१ करोड १३ लाख रुपैयाँ) र वाई–१२ ई ९एन–एकेएसको मूल्य १,६५८,५१७ यूएस डलर अर्थात् करिब २१ करोड ८९ लाख रुपैयाँ तोकिएको छ । 

china-aircraft-MA-60aircraft-Y-12 E (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप