शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सरोकार

बालश्रमसँगै पढाइलाई निरन्तरता दिइरहेका बालबालिकाको कथा

मङ्गलबार, १० पुस २०८०, १३ : ४५
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । आमाको न्यानो काख, बुबाको न्यानो काँध बालबालिकाका लागि प्रिय हुन्छन् । बाल्यकाल आमाबुवाकै वरिपरि घुमिरहन्छ । आफूले देखेको र चाहेको कुरा नपाए क्षणभरमै रिसाउने । मागेको चिज पाए फुरुङ्गै हुने । बालबालिकाको नेचर नै हो । तर यस्तो अवसर सबै बालबालिकाले पाउँदैनन् । त्यही भीडमा छिन् रामेछापकी अञ्जली (साङ्केतिक नाम) । 

सानै उमेरमा रामेछापबाट काठमाडौँ आइन् र काठमाडौँ एक धनी परिवारसँग बस्न थालिन् । ९ वर्षको हुँदा गाउँकै एक जना बाजेको आग्रहमा उनका आमाबुवालाई काठमाडौँ पठाएका थिए । 

काठमाडौँमा धनी परिवारमा काम केही गर्नु नपर्ने, जति मन लाग्यो त्यति पढ्न पाइने भनेपछि उनलाई आमाबुबाले काठमाडौँ पठाए । सानै उमेरमा आमा बुबाबाट टाढा काठमाडौँ आएकी अञ्जलीलाई गाउँमा बाजेले भने जस्तो भएन । 

९ वर्षको हुँदा नै २० वर्षकी किशोरी जस्तो काम गर्नुपर्थ्यो । बिहान सबेरै उठ्नुपर्ने । घर सरसफाइदेखि लिएर खाना पकाउनुपर्ने । खाना पकाएर सबैलाई खुवाएर मात्रै उनी खान पाउँथिन् । खाना खाएर १० बजेभित्र स्कुल पुगिसक्नु पर्थ्यो । बिहान १० बजेदेखि ४ बजेसम्म स्कुलमा हुन्थिन् । 

बेलुका घर आयो फेरि त्यही काम । खाना पकाउने, भाँडा धुने, सरसफाइ गर्ने उनको दिनचर्या थियो । 

एक दिन खाना पकाउँदा पकाउँदै ग्यास सकियो । अनि आन्टीले नै उनलाई ग्यास लिन लगाइन् । सानै उमेरमा ग्यास सिलिन्डर बोकेर भान्सा कोठासम्म लगिन् । 

उनले ८ वर्षसम्म घरेलु श्रमिकका रूपमा त्यो घरमा बिताइन् । ८ वर्षमा भोगेको शारीरिक तथा मानसिक पीडा व्यक्त गर्ने शब्द नै छैन उनमा । 

उनलाई घरमा आफ्ना आमाबुवाले पिटेको, गाली गरेको सम्झना नै छैन । तर काठमाडौँमा बस्दा दिनहुँ पिटाइ खाने, गाली त शब्द शब्दमा उनले सुन्नुपर्थ्यो । तर पनि उनी त्यही घरमा बस्न र काम गर्न बाध्य थिइन् । 

‘सानो काम बिग्रियो भने पनि कुटाइ खानुपर्थ्यो । उनीहरू बिहान ढिलासम्म सुतिरहेका हुन्थे । म ४–५ बजेतिर नै उठेर सरसफाइ गर्ने, भाँडा धुने, खाना पकाउने गर्थे’ उनले भनिन् । 

उनीसँगै त्यो घरका ससाना छोराछोरी भने आफ्नो बाल्यकालको भरपुर मनोरञ्जन लिइरहेका हुन्थे । तर उनको भने सानैमा काँधमा ठुलो भारी बोकाइएको थियो । 

उनले ८ वर्षसम्म घरेलु श्रमिकका रूपमा त्यो घरमा बिताइन् । ८ वर्षमा भोगेको शारीरिक तथा मानसिक पीडा व्यक्त गर्ने शब्द नै छैन उनमा । 

उनीसँगैका साथीभाइहरू दिउँसो टिफिन टाइममा नास्ता खान्थे । तर उनी बिहान ४ बजे घरबाटै खाएर बेलुका घरमै खान आउँथिन् । 

‘कापी, पेन किन्नलाई १० रुपैयाँ माग्दा त, किन चाहियो ? के गर्ने हो ? भनेर खुबै सोध्नुहुन्थ्यो । खाजा खाने पैसा कताबाट दिनु ? केही किनेर ल्यायो भने बचेको पैसाको एक, एक हिसाब दिनुपर्थ्यो,’ उनले भनिन् । 

‘८ वर्षसम्म अर्काको घरमा बसेर काम गर्दा एक पैसा पनि उनले पाइनन् । खान बस्न त राम्रोसँग दिएको भए त्यसैमा चित्त बुझाउन हुन्थ्यो । थप पैसा दिने कुरा त धेरै टाढाको भयो । मेरा लागि त्यो ८ वर्ष कालकोठरी जस्तै थियो,’ उनले भनिन् ।

त्यहाँबाट घर फर्किन पनि उनले अनेकौँ प्रयास नगरेको भने होइन । तर घरपरिवारमा आर्थिक अवस्था अत्यन्तै कमजोर, त्यसपछि घरपरिवारबाट पढाउन नसक्ने बताएपछि उनी दुःख सहेरै भए पनि बस्न बाध्य भइन् । कक्षा ४ मा पढ्दादेखि त्यो घरमा बसेकी उनले गत वर्ष एसईई दिइन् । एसईईमा पास भएर उनी यतिबेला कोटेश्वरको एक विद्यालयमा कक्षामा ११ मा कानुन विषय लिएर पढिरहेकी छन् । 

गत असोजबाट उनले त्यो घर छोडिन् । यतिबेला काँडाघारीमा आफ्नै दिदी भिनाजुसँगै बसेर पढिरहेकी छन् । कक्षा ११ मा पढ्दा लाग्ने केही खर्च उनको दिदीले नै तिरिदिएकी छन् । 

‘जुन दिन उनी त्यो घरबाट दिदीसँग गइन् । त्यो बेला उनलाई पिँजडामा थुनिएको पन्छी स्वतन्त्र भए जस्तै भयो । त्यो बेला त यति खुसी भएँ कि शब्दमा बयान गर्न सक्दिनँ । वर्षौँसम्म पिँजडामा थुनिएको पन्छी खुला छोडिदियो भने कस्तो फिल गर्छ होला ? हो मलाई पनि त्यस्तै भएको थियो,’ त्यो क्षण सम्झिँदै उनले भनिन् । 

अहिले स्वतन्त्र भएर हिँडडुल गर्न पाएकी छन् । दिदीभिनाजुबाट उनले आमाबुवाले झैँ अपार माया पाएकी छन् । अहिले स्वतन्त्र भएर घरपरिवारको मायाका साथ आफ्नो भविष्य निर्माण गर्न तल्लीन छन् । हाल १७ वर्षकी उनलाई विगतको पीडाले बेलाबेला झकझक्याउँछ । उनी एक्लै टोलाउन पुग्छिन् । कतिकति बेला झसङ्ग हुन्छिन्, डराउँछिन् । 

उनी भन्छिन्, ‘मैले भोगेको दुःखपीडा म जस्ता बालबालिकाले भोग्नु नपरोस् भनेर म कानुन पढिरहेकी छु । कानुन पढेर अन्यायमा परेकाहरूलाई न्याय दिलाउन लाग्छु । समाज सेवा गरेर नाम कमाउने मेरो धोको छ ।’

०००

ओखलढुङ्गाका राम (नाम परिवर्तन) अहिले १८ वर्षका भए । हाल रामकोटमा रहेको एक कलेजमा स्नातक तह प्रथम वर्षमा पढिरहेका छन् । ८ वर्षको हुँदा उनकी आमाको निधन भयो । त्यसको केही समयपछि बुबाले अर्को बिहे गरे । त्यसपछि उनलाई घरमा कहिल्यै पनि राम्रो व्यवहार गरेनन् । बुबाले समेत ‘तिमी मेरो छोरा होइनौँ, अर्कैको छोरा हौँ,’ भनेर बचन लगाउँथे । 

त्यसपछि उनी काठमाडौँ आए । काठमाडौँमा पढ्न मन थियो । तर कसले पढाउने ? त्यसपछि उनी होटलमा काम गर्न थाले । उनले आफ्नो पढाइ र काम एकैसाथ अगाडि बढाए । 

दिनभरि स्कुल जानु कि होटलमा काम गर्नु ? उनलाई साह्रै गाह्रो हुन्थ्यो । त्यसपछि उनी पशुपतिस्थित आश्रममा पुगे । आश्रममा सेवा गर्नका लागि पुगेका थिए । त्यही बेला बाबाले किन स्कुल नगएको भनेर गाली गरे । पैसा नभएर पढ्न नपाएको भनेपछि आश्रमका बाबाले नै उनलाई पढ्ने वातावरण बनाए । 

जसोतसो एसईई पास गरे । त्यसपछि उनलाई प्लस टु पढ्न मन थियो । त्यसका लागि कक्षा ११ मा भर्नासमेत भए । तर पैसाको अभावमा परीक्षा दिन पाएनन् । 

‘पैसा नभएपछि ११ को परीक्षा नै दिन पाइनँ । त्यसपछि पढाइ छोडिदिन्छु भन्ने लागेको थियो । तर आश्रमका एक जना दाइले पढ्ने वातावरण मिलाइदिनुभयो । अनि प्लस टु पास गरेँ ।’ उनले भने । 

उनी हरेक रात आफ्नी आमालाई सम्झेर रुन्छन् । ८ वर्षको उमेर आफूलाई जन्मदिने आमालाई दागबत्ती दिनुपर्‍यो । दम रोगका कारण उनकी आमाको निधन भएको थियो ।

‘कक्षा ७ देखि कक्षा १० सम्म पढ्न उनले बाल श्रमिकका रूपमा थुप्रै काम गरे । साहुहरूले जे काम भने पनि सकिनसकी गर्नुपर्थ्यो । साह्रो गाह्रो हुन्थ्यो’ उनले भने । 

पशुपतिकै आश्रममा बसेर आफ्नो पढाइलाई निरन्तरता दिइरहेका उनलाई रामकोटमा एक जनाले एडप्ट गरेका छन् । जसले गर्दा उनलाई अहिले पढ्न निकै सजिलो भइरहेको छ । 

सामाजिक अभियान्ताका रूपमा समेत चर्चामा रहेकी एक जनाले उनलाई एडप्ट गरेकी हुन् । ‘दिदीसँग हुँदा अहिले एकदमै राम्रो छ । आफ्नो आमाबुवासँग बसे जस्तो छ । काम पनि केही गर्नु पर्दैन । आफ्नो घरपरिवार जस्तो गरेर बसिरहेको छु,’ उनले भने । 

र्‍याप गीततर्फ उनको खुबै रुचि छ । आफूलाई फुर्सदको समयमा त्यही र्‍यापमा व्यस्त गराउँछन् । अभावै अभाव र माया, प्रेमबिना नै यहाँसम्म आइपुगेका उनलाई विगतको सम्झनाले साह्रै पीडा दिन्छ । 

उनी हरेक रात आफ्नी आमालाई सम्झेर रुन्छन् । ८ वर्षको उमेर आफूलाई जन्मदिने आमालाई दागबत्ती दिनुपर्‍यो । दम रोगका कारण उनकी आमाको निधन भएको थियो । त्यो बेला उनैले दागबत्ती दिएका थिए । 

‘आमाको याद सधैँ आइरहन्छ । हरेक दिन आमालाई सम्झेर रुन मन लाग्छ । अरू साथीभाइका आमाबुवा साथमा देख्दा साह्रै पीडा हुन्छ । भाग्यलाई दोष दिन्छु । साथमा आमा भइदिएको भए यस्तो दुःख पाउँदैनथिएँ होला,’ भावुक हुँदै आमाको सम्झनाबारे उनले भने ।

आमाको निधनपछि बुबाको माया पाउने आशामा थिएँ । तर बुबाले समेत दोस्रो बिहे गरे । उनलाई हेप्न थाले । गाली गर्ने, पिट्नसमेत थाले । त्यसपछि उनी घर छोडेर हिँडे । घर छोडेर काठमाडौँ पुगेका उनले रेस्टुरेन्टमा हेल्परको काम गरे । कहिले पार्टी प्यालेसहरूमा काम गरे । साह्रै दुःख गरेर आजको दिनसम्म आइपुगेका उनलाई बालबालिकालाई काममा लगाउनु हँुदैन भन्ने त थाहा छ । तर आफू जस्तै बाध्यतामा परेका बालबालिकालाई राज्यले हेर्नुपर्ने बताउँछन् । 

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) का अध्यक्ष विमला ज्ञवालीले बालश्रम मुक्त गर्न थुप्रै खालका चुनौतीहरू रहेको बताइन् । 

नेपालले सन् २०३० सम्ममा सम्पूर्ण रूपमा बालश्रम अन्त्य गर्ने घोषणा गरेको छ । सोही आधारमा सरकारले काम गर्दै आएको छ । तर त्यो प्रयाप्त र प्रभावकारी हुन नसकेको उनको भनाइ छ । पछिल्लो समय बालश्रममा नयाँ नयाँ खालका चुनौती थपिइरहेको बताइन् । 

‘पहिला सिन्धुपाल्चोक, नुवाकोट, धादिङबाट बालबालिकाहरू काठमाडौँमा धेरै आउँथे । अहिले ती जिल्लाबाट आउँदैनन् । त्यो क्षेत्रमा एनजीओ आईएनजीओ बढी गए । उनीहरूले सचेतनामूलक काम गरे,’ उनले भनिन्, ‘त्यसैले त्यो क्षेत्रबाट आउँदैनन् तर अहिले पाल्पा, पर्वतलगायतका जिल्लाका बालश्रमिकहरू काठमाडौँमा देखिरहेका छन् ।’ 

अहिले बालश्रममुक्त पालिका घोषणा गर्ने काम चलिरहेको छ । त्यसका लागि सङ्घीय सरकारले पालिकाहरूलाई प्रोत्साहन रकमसमेत दिइरहेको छ । तर पालिकाहरूमा समेत बालश्रममुक्त क्षेत्र बनाउन थुप्रै खालका चुनौतीको सामना गर्नुपरिरहेको उनको भनाइ छ । 

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बालश्रम घट्दो अवस्थामा रहेको बताए । राज्य, विभिन्न सङ्घसंस्थाको सक्रियतामा बालश्रम न्यूनीकरणमा उपलब्धि भइरहेको भन्दै उनले भने, ‘यसलाई अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । यसमा देखिएका विद्यमान चुनौतीलाई न्यूनीकरण गर्न राज्य मात्र नभई सबैको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप