बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले भन्यो– सीसीटीभी फुटेज विस्तारको काम भइरहेको छ

मङ्गलबार, १० पुस २०८०, १५ : १६
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । नेपाल नागरिक उड्यन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको सीसीटीभी फुटेजको क्षमता विस्तार भइरहेको जनाएको छ । कार्यालयले २१ दिन देखिको सीसीटीभी फुटेज नरहेको भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ । 

केही दिनअघि १४ किलो सुन तस्करी प्रकरणमा गठित छानबिनका लागि समितिले विमानस्थलको २१ दिनको मात्र  सीसीटीभी फुटेज प्राप्त भएको जनाएको थियो ।

कार्यालयका महाप्रवन्धक प्रताप बाबु तिवारीले विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५०० भन्दा बढी  सीसीटीभी क्यामेरा जडान गरिएको जनाएका छन् ।

‘सबै सिसिटिभिको स्टोरेज २१ दिन मात्र भएको भनी प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको नै तीन महिना नभएकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको छ भने बाँकीको पनि क्रमशः बढ्ने क्रममा छ’, कार्यालयले भनेको छ ।

साथै कार्यालयले यसअघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा ढिलै भएपनि यो वर्ष स्टोरेज क्षमता विस्तारको कार्य सम्पन्न भइसकेकोले सम्पूर्ण सीसीटीभी क्यामेराको रेकर्ड स्टोरेज ३ महिनाको हुने प्रस्ट पारेको छ । १६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा केही समय लागेको पनि कार्यालयको भनाइ छ ।

सीसीटीभी जडानको कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गर्ने र त्यसको अपरेशन तथा सर्वेलेन्स नेपाल प्रहरीले गर्दै आएको पनि जनाएका छन् ।

‘अध्यागमन कार्यालय र भन्सार कार्यालयले पनि आ–आफ्नो क्षेत्रमा सीसीटीभी जडान गरी संचालन तथा सर्वेलेन्स कार्य गर्दै आएका छन् । विमानस्थल भित्रको संदिग्ध गतिविधि सम्बन्धमा सूचना दिन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत विभिन्न निकायहरू कार्यरत रहेका छन्’, तिवारीले भनेका छन् ।

साथै विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड– १९ का कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नु पर्ने भएकोले बजेट उपलब्ध हुन नभएको पनि प्रस्ट पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप