बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
ठगी

भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका

पीडकको जग्गा आफू अनुकूलको व्यक्तिलाई पास गराई प्लटिङ धन्दा चलाएको आरोप
बुधबार, २७ जेठ २०८३, १९ : ३०
बुधबार, २७ जेठ २०८३

सारांश

  • भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेललाई सुनचाँदी पसलको ठगी प्रकरणमा जिल्ला प्रशासन कार्यालय मोरङले बयान लिएको छ ।
  • कानेपोखरीकी विष्णुमाया गिरीले अधिकारी सुनचाँदी पसलले २९ लाख १७ हजार रुपैयाँ ठगेको उजुरी दिएकी थिइन् ।
  • पौडेलले घटना मिलाउने जिम्मा लिएको स्वीकार गरे पनि प्रशासनले उनलाई बिचौलियाको भूमिकामा पीडितलाई झुलाएको आशंका गरेको छ ।

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेललाई जिल्ला प्रशासन कार्यालय मोरङले दुई घण्टा बयान लिएको खुलेको छ । 

कानेपोखरी–७ की विष्णुमाया गिरीले सुनचाँदी व्यवसायी होमनाथ अधिकारी, श्रीमती बाटुलादेवी अधिकारी, जेठो छोरा ध्रुव अधिकारी, छोरा मनोज अधिकारी, बुहारीहरू ममता कार्की अधिकारी र स्मिता ओझा अधिकारीसमेतलाई विपक्षी बनाउँदै जेठ ७ गते किटानी निवेदन दिएकी थिइन् । गिरीले आफ्नो २९ लाख १७ हजार रुपैयाँ अधिकारी सुनचाँदी पसलले ठगेको उजुरीमा उल्लेख गरेकी छन् । 

उक्त उजुरीका आधारमा बाटुलीदेवी अधिकारीसँग बयान लिँदा सबै हिसाब मिलाउने जिम्मा पौडेलले लिएको बताएपछि उनीसँग पनि बयान लिइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । पौडेलले बयानका क्रममा आफूले घटना मिलाउने जिम्मा लिएको स्वीकार गरेका छन् । ‘मैले पीडितहरूकै अनुरोधमा पीडितहरूकै न्यायका लागि विवाद मिलाउने प्रयत्न गरेको हुँ,’ उनले भनेका छन् ।

तर, जिल्ला प्रशासन कार्यालय मोरङले भने पौडेलले बिचौलियाको भूमिकामा पीडितहरूलाई झुलाउने प्रयास गरेको आशंका गरेको छ । ‘ठगीमा संलग्न परिवारको आफन्त पनि होइन, बचतकर्ता पनि होइन, जनप्रतिनिधि पनि होइन । कुनै नियामक निकायको व्यक्ति पनि नभएको हिसाबले पौडेलले केका आधारमा ठगीको मुद्दा मिलाउन सक्छन् भन्ने प्रश्न उठेपछि हामीले बयान लिएका हौं,’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने । कोइरालाका अनुसार पौडेललाई घटना नमिलेसम्म जिल्ला प्रशासन कार्यालयले बोलाएको बेला उपस्थित हुने सर्तमा छोडेको छ । 

घटनाको वास्तविकता

मोरङको कानेपोखरी–६ रमाइलो बजारमा रहेको अधिकारी सुनचाँदी पसलले २५० भन्दा बढी सर्वसाधारणको करोडौं रकम हिनामिना गरेको थियो । अहिले पनि सुन पसलमा दिएको बचत रकमको खोजीमा सर्वसाधरणहरू विभिन्न निकाय धाइरहेका छन् । 

कुनै बेला रमाइलो बजारमा विश्वासिलो पसलको रूपमा स्थापित थियो अधिकारी परिवारको सुनचाँदी पसल । तर, पछि पसलका सञ्चालक होमनाथ अधिकारी र उनका छोरा मनोज अधिकारीलगायतको परिवारले नै मिलेर बचत रकम फिर्ता नगरी हिँडेको पीडित बताउँछन् । यस्तो रकम करिब १२ करोड भएको पीडितहरूको दाबी छ । 

ठगीमा फस्नेहरू स्थानीय व्यापारी वा केही गन्नेमान्ने पनि छन् । उनीहरू प्रशासन कार्यालय वा न्यायिक निकायमा जानुको साटो गाउँमै घटना मिलाउन लागेका थिए । उनीहरूले नै नवीन पौडेलको नेतृत्वमा ‘ऋण असुली समिति’ गठन गरेका थिए । तर, त्यसरी घटना मिल्न नसक्ने देखिएपछि गिरीले निवेदन दिएकी थिइन् । उनको निवेदनपछि घटनामा पौडेल पनि संलग्न भएको देखिएको थियो । 

अधिकारी परिवारको तर्फबाट प्रशासन कार्यालयमा उपस्थित बाटुली देवीले आफ्नो नाममा रहेको करिब १ बिघा जग्गा मिलाउँछु भनेर पौडेलले काशीराज थापाको नाममा लगेको बयान दिएकी थिइन् । थापाको नाममा लगेपछि उनले जग्गा बिक्री गरेर पीडितलाई मिलाउने भन्दा पनि जग्गा प्लटिङ सुरु गरेका थिए । ‘सबै मिलाउँछु भनेर नवीनले मेरो जग्गा अर्कैको नाममा पास गरिदियो । अहिलेसम्म मिलेन खै किन नमिलेको हो थाहा छैन,’ उनले बयानका क्रममा भनेकी छन् । 

उता, पौडेलले भने थापाको नाममा आएको जग्गा प्लटिङ गरेर पीडितलाई चलेको मूल्यभन्दा बढीमा बिक्री गर्न खोजेपछि पीडितहरूले असन्तुष्टि व्यक्त गरेका थिए । पौडेलले जिल्ला प्रशासन कार्यालयले लिएको बयानमा पनि उक्त जग्गा प्लटिङ भएको स्वीकार गरेका छन् । यही समिति र यसका अगुवा नवीन पौडेलले अधिकारी परिवारको जग्गा किनबेचमा अस्वभाविक चासो देखाएपछि प्रशासन कार्यालयले उनलाई झिकाएको स्रोतले बतायो । 

उता, पौडेलले निवेदक गिरीलाई भने, ‘अरूको पैसा दिए पनि तेरो पैसा कुनै हालतमा दिँदिनँ’ भन्दै धम्काएका थिए । त्यति मात्रै नभई आफूलाई ‘झुण्डिएर मर’ समेत भनेको गिरीले बताइन् । जिल्ला प्रशासन कार्यालयले बयान लिइसकेपछि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई पौडेलले अधिकारीको इटहरीमा भएको जग्गाको वारेर लिने वातावरण मिलाइदिन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी कट्टेलले भने पौडेललाई आफूले मिलाउने भनेको घटनाको जिम्मा प्रशासनलाई नदिन भन्दै आफैं मिलाउन चेतावनी दिएका थिए । 

उता, कानेपोखरी गाउँपालिकाको न्यायिक समितिमा पनि यो विषयमा उजुरी परेको थियो । तर, उपाध्यक्ष भोला अधिकारीले ठगीको मुद्दा न्यायिक समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै कुनै ठोस निर्णय दिएनन् । उनले मुद्दाको अनुसन्धानको लागि अर्को न्यायिक निकायमा पनि पठाएनन् । ‘पीडितहरूले निवेदन दिएका थिए । हामीले न्यायिक समितिमा छलफल पनि गरायौँ । तर पछि उहाँहरू आफैँले समिति बनाएर अघि बढ्नुभयो । अहिले के भइरहेको छ, विस्तृतमा थाहा छैन,’ उपाध्यक्ष अधिकारीले भने ।

तर, गिरीले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमाथिको छलफलमा भने अधिकारीले दबाब दिन खोजेको स्रोत बताउँछ । छलफलको क्रममा बाटुलीदेवीको फोनमा कुरा गर्दै उपाध्यक्ष अधिकारीले प्रहरी अधिकारीलाई ‘हामी गाउँमै मिलाउने प्रयासमा छौं’ भनेका थिए । 

पीडितको विपक्षमा लबिङ गर्दै नेताहरू

उता, पीडित गिरीले दिएको निवेदनमाथि एक्सन लिने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालयमा मोरङका एमाले नेताहरूले भने दबाब दिने प्रयास गरेका छन् । मंगलबार पौडेलको बयान लिनुभन्दा अघिल्लो दिन ५० औं नेताहरू जिल्ला प्रशासन कार्यालय मोरङ घेराउमा आएका थिए । जसमा एमाले मोरङका उपाध्यक्ष सागर थापा, एमालेका प्रदेश सदस्य ताराबहादुर काफ्ले, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी, कानेपोखरीका एमाले अध्यक्ष सुशील बुढाथोकी, पालिकाको ६ र ७ नम्बर वडाका अध्यक्षहरू क्रमशः खड्ग बस्नेत र मोहन अधिकारी, एमाले नेता दानबहादुर कार्कीलगायत थिए । पौडेललाई जिल्ला प्रशासन कार्यालयमा झिकाउने पत्र पठाएपछि उनीहरू प्रशासन कार्यालयलाई दाबब दिन आएका थिए । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समय नदिएपछि उनीहरू सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई भेटेर फर्किएका थिए ।  

अधिकारी परिवारको नालीबेली

होमनाथ अधिकारी र बाटुलीदेवी अधिकारीका दुइ छोरा र एक छोरी छन् । जसमध्ये छोरा जेठा ध्रुव र कान्छा मनोज हुन् । उनकी एक छोरी मुना छिन्, उनी विवाहित हुन् । ध्रुव र उनकी श्रीमती ममता कार्की अमेरिका बस्दै आएका छन् । कान्छा छोरा मनोजकी श्रीमतीको नाम स्मिता हो । 

होमनाथ र बाटुलीदेवी अधिकारीको नाममा कानेपोखरी ६ रमाइलो बजारमा ‘शुभलक्ष्मी अधिकारी सुनचाँदी’ नामक व्यवसाय २० वर्ष अगाडिदेखि संचालित थियो । छोरा बुहारी मनोज अधिकारी र स्मीता अधिकारी उक्त व्यवसायमा १३ वर्षदेखि संलग्न थिए । उक्त व्यवसायमा उनीहरूले सुनचाँदी धितो राखी रकम दिने र महँगो दरमा ब्याज असुल गर्ने, सुनचाँदीका गरगहनाहरू बनाउने, पैसा ट्रान्सफर गर्नेजस्ता कार्यहरू गर्दै आएका थिए ।

होमनाथ अधिकारी, बाटुलीमाया अधिकारी विदेश जाने आउने गर्दथे । मनोज र स्मिता भने वैदेशिक रोजगारीमा रहेका र वृद्ध भत्ता प्राप्त गर्ने, अशिक्षित महिलाको घर पहिचान गरी आफूहरूकोमा दैनिक, मासिक तथा ऐच्छिक बचत गरेमा आकर्षक ब्याज उपलब्ध गराउने, निश्चित समयमा पाएको ब्याजलाई सावाँमा गाभी त्यसको पनि ब्याज उठाउने, आफूहरूसँग सुनचाँदी व्यवसायी संघबाट आकर्षक स्किम प्राप्त भएको भन्दै बचत संकलन गर्दथे । उनीहरूले सुरु–सुरुमा रकम जम्मा गर्ने व्यक्तिहरूलाई पासबुक उपलब्ध गराएका थिए, तर पछि दैनिक, मासिक तथा ऐच्छिक रूपमा बचत गर्ने व्यक्तिलाई प्रलोभन तथा डर देखाई पासबुक फिर्ता मागेर प्रमाण नष्ट गरे । यद्यपि अधिकारी दम्पतीले डायरीमा रकम भने उल्लेख गर्ने गर्दथे । 

पासबुकमा ब्याज पाएको रकम सावाँमा गाभी होमनाथ, मनोज र स्मिताले दस्तखत गरेर पीडितलाई दिने गर्दथे । लामो समय भएपछि रकम फिता नपाएपछि सोधीखोजी सुरु भयो । तर, चाँडै रकम फिर्ता गर्छु भनेर अधिकारी दम्पतीले भन्न छोडेनन् । ‘हामीलाई लामो समयदेखि सावाँ र ब्याज फिर्ता नगरेकाले रकम फिर्ताको माग गर्दै हामी गयौं । त्यसपछि थाहा भयो हामी डुबेका रहेछौं,’ पीडित पर्शुराम फुयालले भने । 

त्यहीबिच जेठो छोरा धुव्र र जेठी बुहारी ममतालाई भेटघाट गर्न भन्दै होमबहादुर र बाटुलीदेवी पटक पटक अमेरिका जाने आउने गरे । अमेरिका जाँदा र कान्छा छोरा अधिकारी र स्मितासमेत चारै जनाले हुण्डीमार्फत रकम अमेरिका पुर्‍याएको पीडितको दाबी छ ।

बाटुलीमाया र दुवै बुहारीको माइतीपक्ष र छोरी ज्वाइँ क्रमशः मुना र बाबासिंहलाई समेत नगदै रकम उपलब्ध गराएको तथा माइती र छोरी ज्वाइँको नाममा समेत घरजग्गा खरिद गरेको पीडितहरू दाबी गर्छन् । 

रकम माग्दा नतिरेपछि होमनाथ अधिकारी र बाटुलीमाया अमेरिका भागेका थिए । हाल बाटुलीमाया कानेपोखरी–६ को रमाइलो बजारको घरमै छिन् । छोरा मनोज भने सम्पर्कविहीन छन् । 

यो पनि 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप