अमेरिकामा एआई बहसलाई प्रभावित गर्न चीनले च्याटजीपीटी प्रयोग गरिरहेको आरोप
सारांश
- चीनसँग सम्बन्धित व्यक्तिहरूले अमेरिकामा कृत्रिम बौद्धिकता (एआई) नीतिगत बहसलाई प्रभावित गर्न च्याटजीपीटी प्रयोग गरेको आरोप लागेको छ ।
- ओपनएआईको सुरक्षा प्रतिवेदन अनुसार, चीनबाट सञ्चालित आशंका गरिएका समूहहरूले अमेरिकी एआई नीति, भन्सार महसुल र डाटा सेन्टर विस्तारजस्ता विषयमा प्रभाव पार्न च्याटजीपीटी प्रयोग गरेका थिए ।
- यी अभियानहरूले अमेरिकी समाजमा मतभेद सिर्जना गर्ने र ऊर्जा खर्च बढ्ने विषयलाई जोड दिने प्रयास गरे पनि प्रभाव सीमित रहेको ओपनएआईले जनाएको छ ।
वासिङ्टन डीसी । अमेरिकामा कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी नीतिगत बहसलाई प्रभावित गर्न चीनसँग सम्बन्धित व्यक्तिहरूले च्याटजीपीटी प्रयोग गरेको आरोप सार्वजनिक भएको छ ।
अमेरिकी संसद्को चिनियाँ कम्युनिस्ट पार्टीसम्बन्धी विशेष समितिका अध्यक्ष जोन मूलेनारले चीनले अमेरिकाको खुला राजनीतिक प्रणालीको फाइदा उठाएर जनमत प्रभावित गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
यो आरोप एआई कम्पनी ओपनएआईले सार्वजनिक गरेको २०२६ को जुनको सुरक्षा प्रतिवेदनपछि आएको हो । प्रतिवेदनअनुसार चीनसँग सम्बन्धित आशंका गरिएका केही समूहहरूले अमेरिकी एआई नीति, अतिरिक्त भन्सार महसुल (ट्यारिफ) तथा डाटा सेन्टर विस्तारजस्ता विषयमा प्रभाव पार्न च्याटजीपीटीको प्रयोग गरेका थिए । ओपनएआईका अनुसार कम्पनीले चीनबाट सञ्चालन भएको आशंका गरिएका दुई समूहका च्याटजीपीटी खाताहरू बन्द गरेको छ ।
यी खाताहरू प्रयोग गरेर अमेरिकी एआई पूर्वाधार, ऊर्जा लागत तथा प्रविधि क्षेत्रमा प्रतिस्पर्धासम्बन्धी बहसलाई प्रभावित पार्ने उद्देश्यले सामग्री तयार गरिएको बताइएको छ । कम्पनीका अनुसार उक्त सामग्री सम्भवतः नक्कली सामाजिक सञ्जाल खातामार्फत प्रसारण गरिएको थियो । प्रतिवेदनले देखाएको अनुसार केही अभियानहरूले एआई डाटा सेन्टरहरूको तीव्र विस्तारका कारण ऊर्जा खर्च बढ्ने विषयलाई जोड दिँदै जनचिन्ता बढाउने प्रयास गरेका थिए ।
‘डाटा सेन्टरका विषयमा वैध प्रश्नहरू छन् र अमेरिकी जनताले त्यसका उत्तर पाउनुपर्छ । तर दुर्भाग्यवश चिनियाँ कम्युनिस्ट पार्टीले हाम्रो खुला समाजको फाइदा उठाएर अमेरिकीहरूलाई विभाजित गर्ने प्रयास गरिरहेको छ,’ चिनियाँ कम्युनिष्ट पार्टीको हाउस सेलेक्ट कमिटीका अध्यक्ष तथा अमेरिकी प्रतिनिधि जोन मूलेनारले भने । उनले चीन समर्थित संस्थाहरूले अंग्रेजी भाषाका सामग्रीमार्फत अमेरिकी समाजमा मतभेद सिर्जना गर्न खोजेको आरोप लगाए ।
‘टेक एन्ड ट्यारिफ्स’ नाम दिइएको अर्को अभियानमा अमेरिकी आयात शुल्क नीतिको आलोचना गर्ने सामग्री तथा राजनीतिक कार्टुनहरू तयार गरिएको थियो । ती सामग्रीहरूमा अमेरिकालाई प्रविधि क्षेत्रमा विश्वव्यापी प्रभुत्व जमाउन खोज्ने राष्ट्रका रूपमा चित्रण गरिएको थियो । ओपनएआईका अनुसार अभियान सञ्चालनकर्ताहरूले एआई प्रणालीलाई विशेष निर्देशन दिँदै सामग्रीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मात्र उल्लेख गर्न र चिनियाँ राष्ट्रपति सी जिनपिङको नाम नसमेट्न भनेका थिए ।
उक्त नेटवर्कका केही खाताहरूले च्याटजीपीटी प्रयोगकर्ताहरूको डाटा चुहावट भएको भनी झूटो सूचना फैलाउने प्रयास पनि गरेका थिए । तर ओपनएआई यस्तो दाबी पूर्ण रूपमा गलत भएको स्पष्ट पारेको छ । कम्पनीले भनेको छ, ‘यी आरोपहरू पूर्ण रूपमा झूटा थिए।’
यद्यपि कम्पनीका अनुसार ती अभियानहरूको वास्तविक प्रभाव निकै सीमित थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्रीहरूले उल्लेखनीय प्रतिक्रिया, सहभागिता वा व्यापक प्रभाव प्राप्त गर्न सकेनन् । तर कम्पनीले यस्ता गतिविधिहरूले अमेरिकी एआई नीति, ऊर्जा लागत र प्रविधि प्रतिस्पर्धासम्बन्धी आन्तरिक बहसमा विदेशी प्रभाव प्रवेश गराउने प्रयास गरेकोले यसलार्ई गम्भीर रूपमा लिनुपर्ने कम्पनीको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण