आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

माओवादीमा दबाब : राष्ट्रिय सभालाई पुराना नेता थन्क्याउने थलो नबनाइयोस्

हाई प्रोफाइल, निर्वाचनमा पराजित र पटक पटक अवसर पाएकाहरू नै बढी आकांक्षी
शुक्रबार, १३ पुस २०८०, १४ : ००
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नयाँ र योग्य उम्मेदवार पठाउनुपर्नेमा माओवादी केन्द्रका अधिकांश नेताले जोड दिएका छन् । राष्ट्रिय सभा नेता व्यवस्थापन गर्ने थलो वा जागिर खाने ठाउँ नभएको भन्दै उनीहरूले यस पटक योग्य, नयाँ तथा अवसर नपाएकालाई पठाउनुपर्नेमा जोड दिएका हुन् । पछिल्लो समय उम्मेदवार छान्ने अधिकार तल्ला कमिटीलाई दिनुपर्ने मत माओवादीमा बलियो बन्दै गएको हो ।

यस्तो मत राख्नेमा राम कार्की, गणेश साह, प्रह्लाद बुढाथोकी, लक्ष्मण पन्त, हिमाल शर्मा, लेखनाथ न्यौपाने, लेखनाथ दाहाल, सरल सहयात्री पौडेल, रामप्रसाद सापकोटा, माधव सापकोटा, शरदसिंह भण्डारी, रञ्जित तामाङ, पञ्चा सिंह, सुरेन्द्र बस्नेत, सुबोधराज सेर्पाली, सुमन देवकोटा लगायत छन् ।

आगामी फागुन २० गते ६ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्य बाहिरिँदै छन् । रिक्त सदस्यमा निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । आयोगले पुस २३ गते उम्मेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ भने पुस २७ मा अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

गठबन्धनमा रहेका दलहरुले यसअघि जितेका सिट कायमै राख्नुका अतिरिक्त कांग्रेसले ४, माओवादी केन्द्रले ३, एकीकृत समाजवादीले २ र जसपाले एक सिट पाउने सम्भावना छ । भागबन्डा मिलाउनका लागि केही प्रदेशमा सिट अदलबदल हुन सक्ने शीर्ष नेताहरूले स्वीकारेका छन् । तर कुन प्रदेशमा कसलाई कुन सिट दिने भन्ने विषयमा दलहरूबिच सहमति भइसकेको छैन ।

एमालेले जितेको ९ सिटमा गठबन्धन दलहरूले भागबन्डा मिलाउन लागेका हुन् । यद्यपि भागबन्डा सहमति नजिक पुगेको नेताहरूले दाबी गरेका छन् ।

माओवादीमा कोशीबाट बिना पोखरेल, सुदूरपश्चिमबाट हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुनेछन् । एमालेका बागमतीबाट दिलकुमारी रावल थापा पार्वती,  रामचन्द्र राई, गण्डकीबाट गणेश तिमिल्सिना, दीपा गुरुङ, लुम्बिनीबाट कुमार दसौदी, कर्णालीबाट नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र सुदूरपश्चिम प्रदेशबाट इन्दु कडरियाको पदावधि सकिँदै छ ।

फागुन २० पछि राष्ट्रिय सभा अध्यक्षसमेत चयन हुने हुँदा यो निर्वाचनलाई गठबन्धनले चासो देखाएका छन् । राष्ट्रिय सभा अध्यक्ष दाबी गर्ने गरी कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठले उम्मेदवारी दिने चर्चा चलेको छ । अहिले सत्ताको नेतृत्व गरिरहेको माओवादीले पनि अध्यक्षमा दाबी गर्ने संकेत दिएको छ । यद्यपि अध्यक्ष आफूहरूले पाउनेमा माओवादीको नेताहरू विश्वस्त देखिएका छैनन् । अहिले राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल छिन् ।

उम्मेदवारको दौडमा पुरानै आकांक्षी

राष्ट्रिय सभा सदस्य बन्नका लागि माओवादीबाट हाई प्रोफाइल, निर्वाचनमा पराजित, पटक पटक अवसर पाएकाहरू नै बढी आकांक्षी देखिएको शीर्ष एक नेताले बताए ।

‘पटक पटक मन्त्री, सांसद भइसकेका पार्टीका शीर्ष नेताहरूले नै राष्ट्रिय सभा सदस्य बन्न दौडधुप गरिरहेका छन् । पार्टीभित्र नयाँ र अनुभवी व्यक्तिलाई पठाउनु पर्नेमा बहस नभएको होइन । पुराना अनुहार र बारम्बार अवसर पाएकालाई रोक्ने गरी मापदण्ड बनाउन बैठकमा छलफल भएका छन् । तर कार्यान्वयन हुने अवस्था म देख्दिनँ’, ती नेताले भने ।

माओवादीले उम्मेदवार छनोटका लागि पुस १५ सम्म प्रदेश र जवस मोर्चाबाट तीन÷तीन जना सिफारिस गरी पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको थियो । तर पार्टीले भनेजस्तो तीन÷तीन जना पठाउन सक्ने अवस्था नभएको लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

‘उम्मेदवार बन्नका लागि हाईप्रोफाइल र पटक पटक अवसर पाएकाहरूकै लर्को छ’, उनले भने, ‘पार्टीले भने बमोजिम तीन÷तीन जनामात्र पठाउन सक्ने अवस्था छैन । जति जना आकांक्षी छन्, ती सबैको नाम हामीले केन्द्रमा पठाएका छौँ ।’

उनले लुम्बिनीबाट उम्मेदवार बन्न ४० जनाको हाराहारीमा आकांक्षी पुगेको जानकारी दिए ।

कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले उम्मेदवार बन्न शीर्ष नेताहरूकै दौडधुप धेरै भएको बताउँछन् । उनका अनुसार कोशीमा दुई दर्जन नेताले आफ्नो नाम टिपाएका छन् । सुदूरपश्चिममा माओवादीबाट ५० को हाराहारीमा नेताहरुले उम्मेदवार बन्ने इच्छा देखाएका छन् । गण्डकीमा पनि उम्मेदवार बन्न उच्च नेताहरूकै दौडधुप रहेको बताइएको छ । यस्तै मधेस, बागमती र कर्णालीमा पनि पुरानै अनुहार र बारम्बार अवसर पाएकाहरूले आकांक्षा देखाएको नेताहरूले जानकारी दिएका छन् ।

सातै प्रदेश र जवसबाट एक सय ५० को हाराहारीमा अहिलेसम्म उम्मेदवारका लागि सिफारिस भएर केन्द्रका आएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । १५ गतेसम्म समयसीमा भएकाले आकांक्षी अझै थपिन सक्ने उनको भनाइ छ ।

‘अहिलेसम्म डेढसयको हाराहारीमा प्रदेशबाट सिफारिस भएर आएका छन् । संख्या तोकेर ठ्याक्कै भन्ने अवस्था छैन । सिफारिस पठाउन तोकिएको समय अझै बाँकी भएकाले थप हुन सक्छन् । अहिले नै संख्या भन्न सक्ने अवस्था छैन’, उनले भने ।

केन्द्रीय सचिवसमेत रहेका राम कार्कीले राष्ट्रिय सभा वैचारिक मन्थन गर्ने प्लेटर्फम रहेकाले वौद्धिक, वैचारिक क्षमता भएका व्यक्तिलाई पठाउनु पर्ने तर्क गरेका छन् । बारम्बार एउटै व्यक्ति पार्टी वा राज्यका निकायमा दोहोरिनुभन्दा पनि योग्य र क्षमतामान युवाहरू हस्तक्षेपकारी रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

बारम्बार अवसर पाएकालाई उम्मेदवार नबनाउन दबाब

हाई प्रोफाइल, निर्वाचनमा पराजित, पटक पटक अवसर पाएकाले नै राष्ट्रिय सभा सदस्य बन्न आकांक्षा देखाएपछि युवा नेताहरूले असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेमध्ये एक हुन् लेखनाथ न्यौपाने । राष्ट्रिय सभा प्राज्ञिक थलो भएकाले पार्टीको दर्शन, एजेण्डा मुखरित गर्न सक्ने व्यक्ति जानुपर्ने उनको तर्क छ । निर्वाचनमा पराजित भएका, पटक पटक अवसर पाएका व्यक्तिहरू दोहोरिनु नहुने उनले बताए ।

अर्का नेता लक्ष्मण पन्तले पार्टी विधि, पद्धति र विधानमा चल्न नसक्दा समस्या आएको बताए । कस्ता व्यक्तिलाई प्रतिनिधिसभा, राष्ट्रिय सभा सदस्य बनाउने, संवैधानिक र कुटनैतिक नियोगमा कस्ता व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा पार्टीले कार्यविधि बनाउनुपर्ने उनको तर्क छ ।

‘पार्टी विधि, पद्धति र प्रक्रियामा चल्न नसक्दा समस्या आएको छ । कस्ता व्यक्तिलाई कहाँ पठाउने भन्ने सम्बन्धमा कार्यविधि बनाउनुपर्छ’, उनले भने, ‘राष्ट्रिय सभामा पुराना, अवसर पाएकालाई होइन, नयाँ र योग्य व्यक्तिलाई पठाउनुपर्छ ।’

सुदूरपश्चिमका नेता शरदसिंह भण्डारीले नयाँ र युवाभन्दा पनि राष्ट्रिय सभामा योग्य, वैचारिक र क्षमतावानलाई पठाउनुपर्नेमा जोड दिए ।

‘युवा वा नयाँभन्दा पनि राष्ट्रिय सभामा अनुभवी, योग्य र क्षमतावान व्यक्तिलाई पठाउनुपर्छ । राष्ट्रिय सभा वौद्धिक थलोको रुपमा अभ्यास गर्न बनाएका हौँ । पार्टीले कार्यविधि बनाएर उम्मेदवार छनोट गर्नुपर्छ । नेताहरू व्यवस्थापनका लागि होइन’, भण्डारीले भने ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं युवा नेता रञ्जित तामाङले पुराना, पटक पटक अवसर पाएका नेताहरूको व्यवस्थापनको रुपमा बुझिए आफूलाई मान्य नहुने बताए ।  

अर्का युवा नेता सुमन देवकोटाले गएको आम चुनावमा पार्टीले बनाएको मापदण्डहरु अधिकतम लागु हुँदा युवाहरुमा उत्साह छाएको निष्कर्ष निकाल्दै यस पटकको राष्ट्रिय सभा निर्वाचनमा पनि मापदण्ड बनाउन ८ बुँदे सुझाव दिएका छन् ।  

उनको आठ बुँदे सुझावमा यस अघि सांसद, मन्त्री बनिसकेका र समानुपातिक प्रतिनिधित्वबाट कुनै पनि तहमा सांसद बनिसकेकाहरुलाई उम्मेदवार नबनाउन,  कम्तीमा २०७९ को निर्वाचनमा पराजय भोगेकाहरु र  लाभको पदमा बसिरहेकाहरुलाई उम्मेदवार नबनाउन माग गरिएको छ । 

यस्तै पाँच वर्ष यता सेवा निवृत्त भएका विशिष्ट श्रेणीका पूर्व कर्मचारीहरु र अवसरवादीलाई उम्मेदवार नबनाउन भन्दै उनले राष्ट्रिय सभालाई जीवन्त राख्नसक्ने, समसामयिक विषयमा बहस गर्न सक्नेहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । 

संकटको बेलामा अविचलित साथ दिएका र सक्रिय भएकालाई प्राथमिकतामा दिनुपर्ने भन्दै उनले राष्ट्रिय सभा वृद्धहरुलाई थन्क्याउने थलो नबनाउन नेतृत्वलाई समेत समेत गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप