साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
सारांश
- भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ ।
- भारतले बंगलादेशलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा छैटौँ पटक उपाधि जितेको हो ।
- भारतका लागि प्यारी जाजा, सन्फिदा नोङ्रम र लिन्डा कोमले गोल गरे भने बंगलादेशका लागि ऋतु पोर्ना चक्माले एक गोल फर्काइन् ।
गोवा । भारतले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ ।
गोवाको मार्गाओस्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा शनिबार सम्पन्न फाइनल खेलमा जित हात पार्दै भारतले यस दक्षिण एसियाली प्रतियोगितामा छैटौँ पटक ऐतिहासिक उपाधि आफ्नो पोल्टामा पारेको हो ।
भारतका लागि प्यारी जाजा (४२औँ मिनेट), सन्फिदा नोङ्रम (४६औँ मिनेट) र लिन्डा कोम (८२औँ मिनेट) ले गोल गरे । बंगलादेशका तर्फबाट पहिलो हाफको अतिरिक्त समय (४५) औँ मिनेटमा ऋतु पोर्ना चक्माले एक सान्त्वना गोल फर्काइन् ।
यस जितसँगै भारतले साफ महिला च्याम्पियनसिपमा सर्वाधिक उपाधि जित्ने आफ्नो कीर्तिमानलाई थप बलियो बनाएको छ । भारतले सन् २०१९ पछि पहिलो पटक यो उपाधि जितेको हो । यसअघिका सन् २०२२ र २०२४ का संस्करणहरू भने बंगलादेशले जितेको थियो ।
विश्व वरीयताको ६९औँ स्थानमा रहेको भारतले घरेलु दर्शकको बलियो समर्थनमा ११२औँ वरीयताको बंगलादेशविरुद्ध आक्रामक सुरुआत गरेको थियो । यद्यपि, खेलको सुरुवाती चरणमा बंगलादेशले गतिविपरीत अग्रता लिने अवसर सिर्जना गरेको थियो । सेमिफाइनलमा नेपालविरुद्ध कर्नरबाट सिधै गोल (ओलिम्पिको) गरेकी ऋतु पोर्ना चक्माले फाइनलमा पनि सोही प्रयास गरेकी थिइन्, तर यस पटक बल क्रसबारको थोरै माथिबाट बाहिरिँदा भारतीय गोलकिपर पान्थोई चानुले राहतको सास फेरिन् ।
त्यसपछि भारतले आफ्नो आक्रमणलाई थप तीव्र बनायो र पहिलो हाफ सकिनुअघि अग्रता लिन सफल भयो । खेलको ४२औँ मिनेटमा प्यारी जाजाको प्रहार बंगलादेशी डिफेन्डर सुरोभी अख्तरलाई लाग्दै गोलकिपर मिले अख्तरको टाउको माथिबाट गोलमा परिणत भएपछि भारतले १–० को अग्रता लियो ।
तर, भारतको यो अग्रता धेरै समय टिक्न सकेन । पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशकी ऋतु पोर्नाले दायाँ खुट्टाले प्रहार गरेको ग्राउन्डेड बलले सिधै जाली चुमेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।
दोस्रो हाफ सुरु हुनेबित्तिकै भारतले पुनः अग्रता लियो । प्यारी जाजाले दायाँ विङ्गरबाट दिएको क्रसलाई सदुपयोग गर्दै सन्फिदा नोङ्रमले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याइन् । सन्फिदाले सेमिफाइनलमा भुटानविरुद्ध पनि निर्णायक गोल गरेकी थिइन् ।
यस गोलपछि भारतले खेलमा आफ्नो नियन्त्रण कायम राख्यो । बंगलादेशले बराबरी गोलका लागि आफ्ना खेलाडीहरू अघि बढाएपछि सिर्जना भएको खाली ठाउँको फाइदा उठाउँदै भारतीय अग्रपंक्तिले लगातार आक्रमण बुनिरह्यो । खेलको ८२औँ मिनेटमा लिन्डा कोमले बंगलादेशी रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै गोल गरेपछि भारतको ३–१ को जित सुनिश्चित भयो ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको भारतले कुल ४ खेलमा १८ गोल गर्यो भने फाइनलमा बेहोरेको गोल नै टोलीले प्रतियोगिताभर बेहोरेको एक मात्र गोल रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण