मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
कविता

घामका रङहरू

शनिबार, १४ पुस २०८०, १४ : ५३
शनिबार, १४ पुस २०८०

त्यही एउटा घाम मात्र त हो फेरि आउने,
सन्ध्यामा मुख बटारेरै बिदा लिए पनि
बाँकी नफर्किने त जगत नै छ
स्मृतिका हरेक अंशले
दिनरात खाजे पनि ।
 
हिजो साँझ अस्ताएका घामहरू
तिमी जस्तै सुन्तला रङका  देखिए 
एकाबिहानै झुल्किएको घामलाई हेरेँ 
छुट्याउन सकिनँ, समान देखेँ ।
 
फरक न घाममा थियो
फरक न तिमीमा थियो
फरक न दुवैको रङमा थियो
डुब्न लागेको अनि
उदाउन लागेको समयले 
मलाई अथ्र्याउँदै थिए,
जन्मनु अनि बिदालिनु भनेकै
तिम्रा समान कृत्य हुन्
जसरी अस्ताएर फेरि झुल्किनु अनि
झुल्किएर फेरि अस्ताउनु
घामका नित्य कर्म हुन् ।
 
झुल्किएको घामले 
रापिएरै रङ बदलिए जस्तै 
रापिएको घामले पनि
रङ फेर्ने गर्छन् हरेक सन्ध्यामा
शरीरले वस्त्र फेरेझैँ र आत्माले शरीर ।
 
एक घाम तिमीसँगै अस्तायो
हरेक  बिहान मेरा आँखाहरू
सगरका पूर्वी किनारा नियाल्दछन्
घाम फेरि झुल्किन्छ, रापिन्छ अनि अस्ताउँछ
तर तिमी एक पटक पनि फेरि झुल्किएनौ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

साकारबाबु सुवेदी
साकारबाबु सुवेदी
लेखकबाट थप