आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

सिक्किममा पक्राउ परेकी उमाबारे सरकारलाई छैन जानकारी

सिक्किमको आन्तरिक राजनीतिक खिचातानीको शिकार
आइतबार, १५ पुस २०८०, २० : ०७
आइतबार, १५ पुस २०८०

विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ की उमा चाम्लिङ राई युटुबर हुन् । उनलाई सिक्किमको सरकारले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा शनिबार पक्राउ गरेको छ । 

गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले आफूले पनि पक्राउ परेको बारे जानकारी पाएको बताए । यद्यपि थप विवरण थाहा नभएको बताए । ‘उनको परिवार सामान्य हो । त्यति उच्छृङ्खल मान्छे पनि होइन । सामान्य भ्लगर हुन्,’ राईले भने, ‘पक्राउ परेको विषयमा के हो भनेर उनका घरपरिवारलाई बुझ्न मान्छे पठाएको थिएँ । तर, अहिलेसम्म जानकारी आएको छैन ।’ 

खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने आफूलाई यसबारे जानकारी नभएको बताए । छिमेकी अरुण चाम्लिङले सामान्य कुरा बोलेर फेसबुकमा भिडियो हालेकै विषयमा पक्राउ गरिएको जानकारीमा आएको बताए । तर, उनी त्यस खालको मान्छे नभएको उनको भनाइ छ । 

‘ती बहिनी त्यस्तो उग्र थिइनन्, उनले गरेको सामान्य कुरा हो । यसबाट हामी सबै नेपाली युवाले नेपालमा जस्तो स्वतन्त्रतापूर्वक बोल्न अन्य लोकतान्त्रिक मुलुकमा पनि पाइँदैन रहेछ भन्ने हो,’ उनले भने, ‘त्यहाँ पीएस गोले र पवन चाम्लिङको लडाइँको बिचमा उमा परेको मैले बुझेको हो ।’

उमालाई ५ दिनको म्याद थप गरेको आफूले थाहा पाएको उनले बताए । त्यहाँ राई समुदायमा पनि फरकफरक समूह रहेको कारण अर्को समूहले उनलाई पक्राउ गराएको हुनसक्ने उनले बताए । 

उता, सिक्किम क्रान्तिकारी मोर्चाका सचिव शीतल सोताङ राईले एक विज्ञप्ति प्रकाशित गर्दै पवन चाम्लिङले देशबाहिरबाट मान्छे ल्याएर हिंसा भड्काउन सुरु गरेको आरोप लगाएकी छन् । उनले खोटाङकी युवती उमालाई सङ्केत गर्दै भनेकी छन्, ‘सिक्किमको विशेष कानुनहरूलाई तोडेर गैरकानुनी ढङ्गमा देश बाहिरका मान्छेहरू ल्याएर सिक्किममा मिलेर बसेका मानिसहरूमा भ्रम फैलाउने चाम्लिङको उहिलेदेखिको बानी हो । यसपल्ट फेरि पनि सकेवा पर्वको नाममा राज्यबाहिर साथै नेपालबाट चाम्लिङले मान्छे झिकाएर जातमाथि राजनीतिकरण गर्ने जुन घिनलाग्दो खेल खेले, त्यो अति नै निन्दनीय छ ।’

उनले सिक्किम प्रवेश गरेकी उमाले इन्नर लाइन पर्मिट नकाटेको हुनसक्ने सङ्केत गरेकी छन् । ‘देशबाहिरका नागरिकहरू सिक्किम आउँदा इन्नर लाइन पर्मिट काट्नुपर्छ अनि निर्धारित समयको लागि सिक्किममा बस्ने घुम्ने अनुमति दिइन्छ, यो सिक्किमको नियम हो, कानुन हो । तर २५ वर्ष सरकार चलाएको व्यक्तिले यसरी आफ्नै राज्यको नियम र कानुनलाई अनदेखा गरी गैर कानुनी रूपमा विदेशी मान्छे राज्यमा छिराउँछ भने उसले सिक्किम मात्र होइन देशलाई नै खतरा पुर्‍याउनसक्ने सम्भावना बढ्दछ,’ उनले लेखेकी छन् । 

उनले सकेवा मनाउन पवन चाम्लिङले नेपालबाट उमालाई सिक्किममा बोलाएर आयोजकको रूपमा राखेको दाबी पनि गरेकी छन् । ‘ती महिला चाम्लिङकै आडमा सिक्किमको नियम इन्नर लाइन पर्मिट समेत नकाटी सिक्किम भित्रिएको खुलेको छ । यसरी गैर कानुनी ढङ्गमा सिक्किम पसेकी ती महिलाले लेग्सेपमा सकेवा पर्व मनाउने भन्दै भिडियोमार्फत बारबार निमन्त्रणा तिनले किन दिनुपर्‍यो ?,’ उनले भनेकी छन् ।

उता उमाले भने शनिबार आयोजना हुने साकेला नाच्नका लागि आव्हान गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उक्त भिडियोमा कुनै साम्प्रदायिक कुरा उल्लेख छैन । तर, सिक्किमको आन्तरिक निर्वाचन हुने सङ्घारमा भइरहेको राजनीतिक दाउपेचमा उनी परेकी छिन् । उमाले आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि आव्हान गरेकी थिइन् ।

उनले चारदिन अगाडि राखेको उक्त भिडियो भने सकेवा पर्व सिक्किम नामक पेजबाट पनि शेयर भएको छ । हालसम्म उक्त भिडियो १ लाख १६ हजार बढीले हेरेका छन् । भिडियोमा ११ हजार बढी लाइक, ६ सय बढी कमेन्ट र २३१ जनाले शेयर गर्दै खुसी व्यक्त गरेका छन् । फेसबुक पेजमा उनको १ लाख ११ हजार फलोअर्स रहेका छन् । उमाले २४ डिसेम्बर अर्थात् एक हप्ता अगाडि सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको फोटो पनि पोस्ट गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप