सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रिमियर लिग

इङ्लिस प्रिमियर लिग : केही अप्रत्याशित नतिजासहित आधा खेल सकियो, उपाधि होड झनै रोचक

मङ्गलबार, १७ पुस २०८०, ०९ : २८
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । विश्वमा व्यावसायिक फुटबलकै सबैभन्दा उत्कृष्ट र रोमाञ्चक लिगका रूपमा लिइन्छ, इङ्लिस प्रिमियर लिग लिगलाई । विश्वभर प्रिमियर लिगका करोडौँ पारखी छन् । नयाँ सिजनको प्रिमियर लिग सुरु हुनु अघिदेखि नै समर्थकहरू सम्भावित विजेता टोलीको अनुमान लगाउन सुरु गर्छन् । 

तर, खेल अगाडि बढ्दै गर्दा अनुमान विपरीतका नतिजाहरू आउन थाल्छन् । अङ्क तालिकाको माथिल्लो स्थानमा रहेका टोलीहरू कमजोर मानिएका प्रतिद्वन्द्वीहरूसँग पराजित हुन पुग्छन् । कमजोर टोलीहरू बलिया टोलीमाथि हाबी हुन्छन् । 

प्रिमियर लिगमा सबैभन्दा ठुलो रोमाञ्च पनि यस्तै अप्रत्याशित नतिजाहरूले थप्ने गरेका छन् । प्रिमियर लिगको सबैभन्दा सुन्दर पक्ष पनि यही हो । यस्तै अपत्यारिलो र अप्रत्याशित नतिजाहरूले प्रिमियर लिगको उपाधि होडलाई पनि थप रोमाञ्चक बनाउँछ । 

जारी सिजनको प्रिमियर लिग यतिबेला मध्य भागमा पुगेको छ । प्रिमियर लिगमा सहभागी धेरै टोलीले आफ्नो २०औँ खेल पनि खेल्न भ्याइसकेका छन् । समग्रमा सन् २०२४ को नयाँ बिहानी सुरु हुँदासम्म जारी सिजनको प्रिमियर लिग मध्य भागमा पुगेको छ । 

प्रिमियर लिग मध्य भागमा पुगिसक्दा पनि समर्थकहरूका लागि विजेता टोलीको अनुमान लगाउन निकै कठिन देखिन्छ । लाग्छ, प्रिमियर लिग भर्खरै सुरु भएको छ । अहिले पनि केवल दुई खेलको नतिजाले अङ्क तालिकामा निकै ठुलो अन्तर पार्ने अवस्था देखिन्छ । 

36b7008d-8dfd-4e99-b4ea-374a26e8c6bf_gettyimages-1252779277

जारी सिजनको प्रिमियर लिग मध्य भागमा आइपुग्दासम्म कुनै पनि टोली अपराजित रहेका छैनन् । अङ्क तालिकामा लिभरपुल पहिलो स्थानमा आसीन छ । हालसम्म २० खेल खेलेको लिभरपुलले ४५ अङ्क बटुलेको छ । 

लिभरपुलले १३ जित, ६ बराबरी र एक हारको नतिजा निकालेको छ । सबैभन्दा कम खेलमा हार भोग्ने टोली पनि लिभरपुल नै हो । लिभरपुलले हालसम्म विपक्षीको पोस्टमा ४३ गोल गरेको छ भने आफूले १८ गोल खाएको छ । 

लिभरपुलले हालसम्म १९ पटक प्रिमियर लिगको उपाधि चुमेको छ भने १५ पटक उपविजेताको पगरी गुथेको छ । लिभरपुलले पछिल्लो पटक सन् २०१९/२० सिजनमा प्रिमियर लिगको उपाधि उचालेको थियो । त्यसयता लिभरपुलले उपाधि चुम्न सकेको छैन ।

aston villa 

जारी सिजनको लिगमा धेरैको अनुमान विपरीत उत्कृष्ट नतिजा निकाल्दै आएको एस्टन भिल्ला अङ्क तालिकाको दोस्रो स्थानमा आसीन छ । केही अप्रत्याशित नतिजासमेत निकालेको एस्टन भिल्लाले २० खेलबाट ४२ अङ्क नै बटुलेको छ । 

बलिया टोलीहरूको लागि सबैभन्दा ठुलो टाउको दुखाइको विषय बनेको एस्टन भिल्लाले यो सिजन १३ जित, तीन बराबर र चार हारको नतिजा निकालेको छ । एस्टन भिल्लाले हालसम्म विपक्षीको पोस्टमा ४३ गोल गरेको छ भने आफूले २७ गोल खाएको छ । 

कुनै समयको प्रभावशाली क्लब एस्टन भिल्लाले हालसम्म सातपटक प्रिमियर लिगको उपाधि चुमेको छ भने १० पटक उपविजेता बनेको छ । एस्टन भिल्लाले पछिल्लो पटक सन् १९८०/८१ सिजनमा प्रिमियर लिगको उपाधि चुमेको थियो । पछिल्लो पटक उपाधि चुमेको ४३ वर्षपछि अहिले एस्टन भिल्ला पुनः आफ्नो पुरानो इतिहास दोहोर्‍याउने अभियानमा देखिएको छ । 

यसैगरी साबिक विजेता म्यानचेस्टर सिटीले पनि हालसम्म आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गर्दै आएको छ । उपाधि जोगाउने अभियानमा देखिएको म्यानचेस्टर सिटीले हालसम्म १९ खेल खेल्दै ४० अङ्क बटुलेको छ । 

01gxtges6n6zngnfjv0z

हाल म्यानचेस्टर सिटी अङ्क तालिकाको तेस्रो स्थानमा छ । तर, आगामी एक खेलको नतिजाले नै म्यानचेस्टर सिटीलाई अङ्क तालिकाको दोश्रो स्थानमा उकाल्ने अवस्था छ । जारी सिजनमा हालसम्म म्यानचेस्टर सिटीले १२ जित, चार बराबरी र तीन हारको नतिजा निकालेको छ । 

म्यानचेस्टर सिटीले हालसम्म विपक्षीको पोस्टमा ४५ गोल गरेको छ भने आफूले २१ गोल खाएको छ । म्यानचेस्टर सिटीले हालसम्म नौ पटक प्रिमियर लिगको उपाधि जितेको छ भने ६ पटक उपविजेताका रूपमा चित्त बुझाएको छ । 

यसैगरी आर्सनल अङ्क तालिकाको चौथो स्थानमा आसीन छ । २० खेल खेलेको आर्सनलले ४० अङ्क जोडेको छ । आर्सनलले १२ जित, चार बराबरी र चार हारको नतिजा निकालेको छ । विपक्षीको पोस्टमा ३७ गोल गरेको आर्सनलले २० गोल खाएको छ । 

उपाधि होडमा कायम रहेको आर्सनलले सन् २००३/०४ सिजनपछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । आर्सनलले हालसम्म १३ पटक लिगको उपाधि जितेको छ भने १० पटक उपविजेतामा समेटिएको छ । 

arsenal

यसैगरी तालिकाको पाँचौँ स्थानमा आसीन टोट्टनहाम पनि उपाधि होडमा कायमै देखिएको छ । हालसम्म टोट्टनहामले २० खेल खेल्दै ३९ अङ्क बटुलेको छ । टोट्टनहामले १२ खेलमा जित, तीन खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकालेको छ । 

टोट्टनहामले विपक्षीको पोस्टमा ४२ गोल गरेको छ भने २९ गोल खाएको छ । टोट्टनहामले पछिल्लो पटक सन् १९६०/६१ सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो । हालसम्म टोट्टनहामले दुईपटक प्रिमियर लिगको उपाधि जितेको छ भने पाँचपटक उपविजेता बनेको छ । 

tottenham

यो सिजन प्रिमियर लिगको उपाधि जित्ने अभियानमा अन्य टोली भने केही पछाडि परेका छन् । यद्यपि, भर्खरै आधा खेलमात्र सकिएकाले अन्य टोलीको उपाधि सम्भावना पनि समाप्त भने भइसकेको छैन । १९ खेल खेलेको वेस्ट हाम ३३ अङ्कसहित छैटौँ स्थानमा छ ।

यसैगरी २० खेल खेलेको म्यानचेस्टर युनाइटेड ३१ अङ्कसहित सातौँ, १९ खेल खेलेको ब्राइटन ३० अङ्कसहित आठौँ, १९ खेल खेलेको न्युक्यासल २९ अङ्कसहित नवौँ र २० खेल सकेको चेल्सी २८ अङ्कसहित तालिकाको १०औँ स्थानमा रहेका छन् । 

हालसम्म प्रदर्शन हेर्दा यी टोलीले बाँकी खेलमा नाटकीय प्रदर्शन गर्दै उपाधि जित्ने सम्भावना निकै कम देखिन्छ । तर, छैटौँदेखि १०औँ स्थानसम्म रहेका टोलीले बाँकी खेलमा युरोपियन च्याम्पियन्स लिग र युरोपा लिग छनोटलाई भने आफ्नो लक्ष्य बनाउन सक्छन् । 

प्रिमियर लिगको समाप्तिपछि अङ्क तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सिधै आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगको समूहगत चरणमा खेल्ने अवसर पाउने छन् । पाँचौँ स्थानमा रहने टोलीले सिधै युरोपा लिग खेल्ने अवसर पाउने छ ।

जारी सिजनको लिगमा सेफिल्ड युनाइटेड सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ । २० मध्ये केवल दुई खेलमा जित हात पार्न सकेको सेफिल्ड नौ अङ्कसहित तालिकाको सबैभन्दा तल २०औँ स्थानमा छ । तीन खेलमा बराबरीको नतिजा निकालेको सेफिल्ड १५ खेलमा पराजित भएको छ । विपक्षीको पोस्टमा केवल १५ गोल गरेको सेफिल्डले ४९ गोल खाइसकेको छ ।

हालसम्म २० खेल खेलेको बर्नली ११ अङ्कसहित १९औँ र १९ खेल खेलेको लुटन टाउन १५ अङ्कसहित १८औँ स्थानमा छन् । बर्नलीले तीन र लुटन टाउनले चार जितको नतिजा निकालेका छन् । यी तीनवटै टोली हाल रेलिगेसन क्षेत्रीमा रहेका छन् । 

यसका अतिरिक्त २० खेलबाट १६ अङ्क जोडेको एभर्टन १७औँ, १९ खेलबाट १९ अङ्क बटुलेको ब्रेन्टफोर्ड १६औँ, २० खेलबाट २० अङ्क हात पारेको नटिङ्घम फरेष्ट १५औँ र समान खेलबाट २१ अङ्क बटुलेको क्रिस्टल प्यालेस १४औँ स्थानमा रहेका छन् । आधा खेल बाँकी रहेकाले यी टोली पनि रेलिगेसनको खतराबाट मुक्त भने छैनन् । 

यसैगरी २० खेलबाट २४ अङ्क जोडेको फुलहाम १३औँ, १९ खेलबाट २५ अङ्क बटुलेको बर्नमाउथ १२औँ र २० खेलबाट २८ अङ्क जोडेको उल्भस ११औँ स्थानमा रहेका छन् । यी टोलीमाथि भने रेलिगेसनको जोखिम तुलनात्मक रूपमा कम देखिन्छ । 

केही अप्रत्याशित नतिजा 

  • म्यानचेस्टर युनाइटेड–०, बर्नमाउथ–३  

Untitled-2

जारी सिजनको प्रिमियर लिगमा डिसेम्बर ९ तारिखमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथबिच खेल भएको थियो । उक्त खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा खेलिएको थियो । उक्त खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी बर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा ३–० गोलले हराएको थियो । प्रारम्भदेखि नै घरेलु टोली म्यानचेस्टर युनाइटेड निरीह देखिएको थियो । बर्नमाउथका लागि एकपक्षीय खेलको पाँचौँ मिनेटमा डोमिनिक सोलान्की, ६८औँ मिनेटमा फिलिप बिलिङ र ७३औँ मिनेटमा मार्कोस सेनेसीले गोल गरेका थिए । जारी सिजनको प्रिमियर लिगमा यो अप्रत्याशित नतिजा थियो । 

  • फुलहाम–५, वेस्ट हाम–० 

celebrates-teammates-scoring-fifth-goal-865382826

डिसेम्बर ९ तारिखमा वेस्ट हाम र फुलहामबिच खेल भएको थियो । उक्त खेल फुलहामको घरेलु मैदानमा खेलिएको थियो । घरेलु मैदानको फाइदा उठाउँदै फुलहामले बलियो प्रतिद्वन्द्वी वेस्ट हामलाई ५–० गोलको फराकिलो अन्तरले हराएको थियो । जारी सिजनको लिगमा निस्किएको अप्रत्याशित नतिजामध्ये यो पनि एक थियो । उक्त खेलमा एकपक्षीय उक्त खेलमा फुलहामले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । फुलहामका लागि राउल जिमेन्ज, विलियन, तोसिन एडराबियो, हेरी विल्सन र कार्लोस भिनिसियसले गोल गरेका थिए ।

  • लुटन टाउन–१, लिभरपुल–१

1776669605.0

गत नोभेम्बर ५ तारिखमा लुटन टाउन र लिभरपुलबिच खेल भएको थियो । उक्त खेल लुटन टाउनको घरेलु मैदानमा खेलिएको थियो । अप्रत्याशित नतिजा आएको उक्त खेलमा लुटन टाउनले बलियो लिभरपुललाई १–१ गोलको बराबरीमा रोक्दै अङ्क बाँड्न बाध्य पारेको थियो । खेलको ८०औँ मिनेटमा लुटन टाउनका लागि ताहिथ चोङले पहिलो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलका लागि लुइस डियाजले जवाफी गोल फर्काएका थिए । 

  • म्यानचेस्टर सिटी–२, क्रिस्टल प्यालेस–२ 

3845994-78152808-2560-1440

म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसबिच डिसेम्बर १६ तारिखमा खेल भएको थियो । उक्त खेल म्यानचेस्टर सिटीको घरेलु मैदानमा खेलिएको थियो । त्यो खेलमा म्यानचेस्टर सिटी अप्रत्याशित रूपमा कमजोर प्रतिद्वन्द्वी क्रिस्टल प्यालेससँग बराबरमा रोकिन पुगेको थियो । त्यो नतिजाले म्यानचेस्टर सिटीलाई अङ्क तालिकामा निकै ठुलो घाटा लागेको थियो । खेलको प्रारम्भमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटीले बराबरीमा चित्त बुझाउनु परेको थियो । म्यानचेस्टर सिटीका लागि २४औँ मिनेटमा ज्याक ग्रेलिस र ५४औँ मिनेटमा रिको लेविसले गोल गरेका थिए । क्रिस्टल प्यालेसका लागि भने ७६औँ मिनेटमा जिन फिलिप माटेटा र इन्जुरी समयमा माइकल ओलिसले गोल गरेका थिए । 

  • ब्राइटन–२, लिभरपुल–२

TELEMMGLPICT000245517516_trans_NvBQzQNjv4Bqlz5OdA_D3VmrC4drz6CMya9AwgQD4Npf3GkFJvgcOWM

ब्राइटन र लिभरपुलबिचको खेल अक्टोबर ८ तारिखमा खेलिएको थियो । त्यो खेल ब्राइटनको घरेलु मैदानमा खेलिएको थियो । त्यो खेलमा ब्राइटनले घरेलु मैदानको फाइदा उठाउँदै बलियो प्रतिद्वन्द्वी लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको थियो । ब्राइटनका लागि २०औँ मिनेटमा सिमोन एडिनग्रा र ७८औँ मिनेटमा लेविस डन्कले गोल गरेका थिए । लिभरपुलका लागि भने दुवै गोल मोहम्मद सलाहले गरेका थिए । उनले खेलको ४०औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । 

  • वूल्भरह्याम्पटन–२ म्यानचेस्टर सिटी–१ 

fbl-eng-pr-wolves-man-city-scaled

म्यानचेस्टर सिटी र वूल्भरह्याम्पटनबिचको खेल सेप्टेम्बर ३० तारिखमा खेलिएको थियो । उक्त खेल वूल्भरह्याम्पटनको घरेलु मैदानमा खेलिएको थियो । त्यो खेलमा उल्भरह्याम्पटनले बलियो म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएको थियो । खेल सुरु भएको १३औँ मिनेटमै म्यानचेस्टर सिटीका रुबेन डियासबाट आत्मघाती गोल भएको थियो । ५८औँ मिनेटमा म्यानचेस्टर सिटीका युनियन अल्भारेजले जवाफी गोल गरेका थिए । ६६औँ मिनेटमा वूल्भरह्याम्पटनका ह्वाङ ही चानले निर्णायक गोल गर्दै म्यानचेस्टर सिटीलाई जिल्याएका थिए ।

  • एस्टन भिल्ला–१, म्यानचेस्टर सिटी–० 

2426463

एस्टन भिल्ला र म्यानचेस्टर सिटीबिचको खेल डिसेम्बर ७ तारिखमा खेलिएको थियो । उक्त खेल एस्टन भिल्लाको घरेलु मैदानमा खेलिएको थियो । उक्त खेलमा एस्टन भिल्लाले बलियो म्यानचेस्टर सिटीलाई १–० गोलले हराएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७४औँ मिनेटमा एस्टन भिल्लाका लागि लियोन बेलीले निर्णायक गोल गरेका थिए । त्यो हारले अङ्क तालिकामा म्यानचेस्टर सिटीलाई निकै ठुलो घाटा लागेको थियो । 

  • सेफिल्ड युनाइटेड–०, न्युक्यासल युनाइटेड–८ 

lcimg-c5971364-0cea-44ca-b8bc-76738a77b556

सेफिल्ड युनाइटेड र न्युक्यासल युनाइटेडबिचको खेल सेप्टेम्बर २४ तारिखमा खेलिएको थियो । उक्त खेलमा न्युक्यासल युनाइटेडले सेफिल्डलाई ८–० गोलको विशाल अन्तरले हराएको थियो । रमाइलो पक्ष त के थियो भने, उक्त खेलमा न्युक्यासलका आठजना खेलाडीले गोल गरेका थिए । न्युक्यासलका लागि सिन लङ्स्टाफ, डन बर्न, स्भेन बोटम्यान, कालुम विल्सन, एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेज र एलेकजेन्डर ईशाकले एक–एक गोल गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप