आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

अस्पतालमा मेयरको राजनीति स्वार्थले मारिए निहत्था युवा

शुक्रबार, २० पुस २०८०, १६ : ३२
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो ।

शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो । आक्रोशित समूहले वरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटवालको घरमा गएर तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो । 

 । घटनापछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । बरहथवा–६ स्थित १५ शय्याको नगर अस्पताललाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै बरहथवा बजार क्षेत्रमा प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटवालको घरमा ढुंगामुढा गर्न थालेपछि अश्रुग्यास हानेसँगै हवाई फायर गरेको प्रहरीले बताएको छ । तर साहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो भने बरहथवा–८ का अभिशेष रामको पनि खुट्टामा गोली लागेर घाइते भएका छन् । प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका छन् ।

अस्पताल विवाद के हो ?

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बरहथवामा ५० शय्याको अस्पताल बनाउने घोषणा गरेको छ । बरहथवा नगरपालिकाको नगर कार्यपालिकाले ९ असोज २०८० मा बैठक बसेर प्राथमिक स्वास्थ्य चौकीको भवन ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशलाई दिने निर्णय पनि गरेको हो । त्यसपछि सुरु भयो राजनीतिक स्वार्थको हिसाब किताब । बरहथवाकी मेयर कल्पनाकुमारी कटवालले प्राथमिक स्वास्थ्य चौकीको भवनमा ५० शय्याको अस्पताल सञ्चालन गर्दा कांग्रेसलाई राजनीतिक लाभ लिने हिसाब निकालिन् । सर्लाही ४ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्र सिंह मधेश प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् ।

प्रदेशले अस्पताल चलाए कांग्रेस कांग्रेसले राजनीतिक लाभ लिने स्थानीय सरकारको नेतृत्व गरेको दल एमाले नेताहरुको बुझाइ रह्यो । त्यसपछि एमालेबाट निर्वाचित मेयर कटवालले निर्णयअनुसार प्रदेश सरकारलाई सहमति पत्र दिइनन् । प्रदेश सरकारले अरु अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै उनले नगरपालिकाले नै १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने मत अडान लिइन् । कांग्रेससहित सत्ता गठबन्धनका दलहरुले भने कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न मेयर कटुवालमाथि दबाव बढाए । 

यसले यही १७ पुसको कार्यपालिका बैठकमा विवाद चर्किँदा टेबल कुर्सी तोडफोडसम्मको स्थिति निम्तियो । त्यो बैठकले बहुमतका आधारमा ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारलाई दिने अघिल्लो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय ग¥यो । मेयर र उपमेयरसहित कार्यपालिकामाएमालेको बहुमत छ । कार्यपालिका भएको बहुमतको निर्णयका विरुद्धमा कांग्रेससहित गठबन्धनका नेता कार्यकर्ता सडक आन्दोलनमा उत्रिए । त्यसपछि अस्पतालबारे निर्णय गर्न आज २० पुसमा सर्वदलीय बैठक बस्ने सहमति भयो ।

५० शय्याको अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि दबाव दिन भन्दै शुक्रबार उद्योग बाणिज्य संघले बजार बन्द आह्वान ग¥यो । कांग्रेस सहितका राजनीतिक दलले समर्थन गरेका कारण विहानैदेखि बजार बन्द थियो । दलका प्रतिनिधिहरु सर्वदलीय बैठकका लागि नगरपालिका पुग्दा नपुग्दै मेयर कटवालले बैठक स्थगित गरिदिन् । बैठक स्थगितको सूचनामा आन्दोलनका बिच सर्वदलीय बैठक गर्नुको औचित्य नभएको उल्लेख छ ।
बैठक स्थगित गरेपछि पनि मेयरको कार्यकक्षमा छलफल चलिरहेको थियो । मेयर कटवालले सार्वदलीय टोली जनकपुर जाएर मन्त्रीसँग कुरा गर्ने प्रस्ताव राखिन् । तर, बाहिर आन्दोलनले उग्ररुप लिसकेको थियो । 

अस्पताल प्रदेश मातहत जानुपर्ने र स्तरोन्नति हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएको भीडले नगरपालिकामा ढुंगामुढा गर्न थाल्यो । प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु मेयरको घरतिर लागे । मेयरको घरमा ढुंगामुढा र कारमा पनि आगजनी भयो । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी अश्रुग्याससँगै हवाइ फायर गर्‍यो । 

त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर मेयर कटवालको घरभन्दा करिव ५०० मिटर टाढा  जयशंकर साहको मृत्यु भएको छ । जयशंकर प्रदर्शनमा सहभागी थिएनन् । विद्युत् महसुल तिर्न मोटरसाइकल चढेर विद्युत कार्यालय नजिकै पुगेका थिए ।

त्यही बेला प्रहरीले चलाएको गोली लागेर उनी सडकमै ढलेको बताइएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले १९ सेल अश्रुग्यास हान्नुका साथै १३ राउण्ड हवाइ फायर गरेको छ । प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते भएका छन् । मृतकको शव भने आन्दोलनकारीकै नियन्त्रणमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप