शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

प्रत्युत्तरको पर्खाइमा

आइतबार, २२ पुस २०८०, १४ : १८
आइतबार, २२ पुस २०८०

कामुक त्यो सिरसिर हावासँगै
तिम्रो सौन्दर्यको वर्णन
वर्षातले निथ्रुक्क झैँ शरीर
मन छेड्ने ती नग्न आँखाहरूले
सधैँ मलाई नै बोलाए झैँ लाग्ने 
तिम्रा नसालु हाउभाउ 
प्रत्युत्तरको पखाइमा 
अविरल प्रतीक्षारत रहने छु । 

आँसुका भेल भुइँमा बज्रिन पुग्दा
मुटु चिरा परे झैँ फटफटी चिरिँदा
तिम्रो सम्झनाका झझल्का 
अन्तरात्मामा तितरबितर हुँदा 
सम्हलिदिने स्वयं एक्लो भागीदार हुँदो रहेछ ।

सारा सपना यथार्थ हुँदो हो त
निराशाहरू आशामा बदलिँदो हो त
सायद आफ्नो भाग्य आफैँ कोरिदिन्थेँ 
बितेका दिनको गन्ती 
म कसरी मस्तिष्कमा अटाउन सकुँ
केही गल्ती तिम्रा भए कि 
केही भुल मेरै भए झैँ 
यो मानसपटलको तराजु
हरदम अन्योलमा पर्न खोजे झैँ
आत्मा चिच्याउँदै लल्कारिरहेछ ।

सिउँदो सजिएकी एउटी कुशल नारी
निधारमा रातो टीका र पोते 
अनि गुन्युचोलो नेपाली पहिरन
थामेर हातहरू उसैले सुम्पेर लिऊन् 
ज्युँदा स्मृतिहरू बिर्से झैँ गरे पनि
म सम्झन्छु नमरी बाँचे प्यारो मान्छे 
प्रत्युत्तरको पखाइमा 
अविरल प्रतीक्षारत रहने छु
रातो फूल सिउरेर
उही चौतारोमा कुर्ने छु ।

काठमाडौँ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अलका मल्ल
अलका मल्ल
लेखकबाट थप