आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

एक सय वटा मोटरसाइकल चोरी गर्ने दुई जनाको नालीबेली

चोरीका मोटरसाइकल अवैध मदिरा ओसारपसारमा प्रयोग
सोमबार, २३ पुस २०८०, १९ : १६
सोमबार, २३ पुस २०८०

विराटनगर । प्रहरीले मोरङ र सुनसरीबाट १ सय वटाभन्दा बढी मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा–६ का ४० वर्षीय नजाम अन्सारी र .भोक्राहा नरसिंह–२ का २३ वर्षीय निकाईल अन्सारी छन् ।

प्रहरीका अनुसार उनीहरुको धन्दा नै मोटरसाइकल चोरी गर्ने थियो । उनीहरुले चोरेका मोटरसाइकल भारततिर अवैध मदिरा ओसारपसार गर्न प्रयोग गरिन्थ्यो । उनीहरुलाई मोरङ प्रहरीले चलाएको अप्रेसनको क्रममा पक्राउ गरिएको हो ।

अन्सारीद्वयले नेपालबाट चोरी गरेको मोटरसाइकल भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा बिक्री गर्दथे । प्रहरीले उनीहरुलाई मङ्सिर २९ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका प्रतिवादीहरुविरुद्ध आइतबार मोरङ अदालतमा सरकारी वकिलको कार्यालयमा मार्फत अभियोग दर्ता गराइएको छ । प्रहरीका अनुसार उनीहरुले विराटनगरबाट मात्र सात वटा मोटसाइकल चोरी गरेको खुलेको छ । यसअघि पनि एक सयभन्दा बढी मोटसाइकल चोरी गरेको उनीहरुले बयानको क्रममा स्वीकार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

‘पक्राउ परेका गिरोह शृङ्खलाबद्ध चोरीको घटनामा संलग्न रहेको खुलेको छ,’ उनले भने, ‘विगतको घटनाक्रम पनि आपराधिक गतिविधिमा संलग्न रहेको छ ।’

चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘चोरीमा संलग्न गिरोहको पक्राउ पश्चात मोटरसाइकल चोरीका घटनामा समेत ठुलो मात्रामा कमी आएको छ,’ डीएसपी दाहालले भने ।

पक्राउ परेका उनीहरुले गत भदौ  १० गते विराटनगर–२ बन्जरा चोकमा पार्किङ गरी राखेको को २६ प ७७७६ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरे । त्यसको एक महिनापछि असोज ५ गते विराटनगर–४ नोवेल अस्पताल परिसरबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी गरेको प्रहरीको अभिलेखमा देखिन्छ ।

उनीहरुले मङ्सिरमा दिनैपिच्छे चोरी गरेको प्रहरीको अभिलेखमा देखिन्छ । यसैगरी मङ्सिर ६ गते विराटनगर–७ सेन्ट्रल मलको अण्डरग्राउण्ड पार्किङमा पार्किङ गरी राखेको को १० प ९५६६ नं. को स्प्लेण्डर मोटरसाइकल, मङ्सिर ८ गते विराटनगर– ९ गद्री बजारबाट को २८ प ७८१५ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल, मङ्सिर ९ गते विराटनगर–७ कोशी अस्पताल परिसरबाट को.२५ प १८११ नं. को होण्डा कम्पनीको सीबी हर्नेट मोटरसाइकल, मङ्सिर २२ गते विराटनगर–४ नोबेल अस्पतालको पार्किङ स्थलमा पार्किङ गरी राखेको को २९ प ५५४ नं. को हिरो कम्पनीको स्प्लेण्डर मोटरसाइकल र मङ्सिर २७ गते विराटनगर–६ भाटभटेनी सुपरमार्केटको पार्किङ स्थलमा पार्किङ गरी राखेको होण्डा कम्पनीको को. २१ प ५८९४ नम्बरको साइन सीबी मोटरसाइकल चोरी गरेको आरोप छ ।

पक्राउ परेका अन्सारी विगतमा समेत अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । अन्सारीविरुद्ध २०५९ मङ्सिर ८ गते चोरी कसुरमा मुद्दा दर्ता भएको थियो । उनी अदालतबाट ५ हजार धरौटीमा छुटेका थिए । धरौटीमा छुटेपछि उनी फेरि अपराध कर्ममा लागेको देखिन्छ । त्यसपछि २०६७ पुस २० गते सुनसरीबाट केही सार्वजनिक अपराधमा उनीविरुद्ध मुद्दा दर्ता भएको देखिएको छ ।

त्यसपछि  २०६७ माघ २ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ९ हजार धरौटीमा छुटेका अन्सारी २०५९ सालेदेखि २०७९ असोज १५ गते विभिन्न अपराधमा संलग्न अभियुक्त रहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप