बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
अटिजम

बागमतीमा १ हजार बढीमा अटिजम समस्या, पहिचानमा चुनौती

यस्तो छ प्रदेश सरकारको प्रतिकार्य योजना
सोमबार, ०१ माघ २०८०, ०७ : ०१
सोमबार, ०१ माघ २०८०

मकवानपुर । पछिल्लो समय अटिजम विश्वमा चुनौतीपूर्ण स्वास्थ्य समस्याको रूपमा देखा परिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार प्रत्येक १०० व्यक्तिमा १ जनालाई अटिजम भएको पाइन्छ भने नेपालमा पनि अटिजम सम्बन्धी स्वास्थ्य समस्या निकै चुनौतीका साथ देखा परिरहेको छ ।

नेपालमा अटिजम सम्बन्धी समस्या भएका व्यक्तिको यकिन तथ्याङ्क छैन । नेपालमा अटिजम भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने संस्थाहरूको तथ्याङ्क अनुसार नेपालमा ४ हजार ८८६ जनाको मात्र तथ्याङ्क रहेको छ । जसमा २ हजार २८५ पुरुष र २ हजार ६२८ महिला रहेका छन् । यकिन तथ्याङ्कको अभावका बिच नेपालमा करिब ३ लाख अटिजम भएका व्यक्ति रहेको अनुमान गरिएको छ । नेपालमा तथ्याङ्कसँगै अटिजम सम्बन्धी समस्या न्यूनीकरण तथा निराकरणको योजना तथा उपचारात्मक सुविधा समेत छैन ।

  • के हो अटिजम ?

अटिजम एक प्रकारको मस्तिष्कको विकासात्मक (न्यूरो डेभ्लपमेन्टल) तथा जन्मजात समस्या हो । अटिजमका लक्षणहरू व्यक्ति व्यक्तिमा व्यापक रूपमा भिन्न भएको कारणले यसलाई अटिजम स्प्रेक्ट्रम डीसअर्डरको रूपमा लिइन्छ ।

व्यक्तिको उमेरको विकाससँगै उमेर सापेक्ष संवाद, विचार बुझ्न र भाषाको प्रयोग गर्न कठिनाइ हुने (सञ्चार), उमेर सापेक्ष व्यवहार गर्न असमर्थ हुने, एउटै व्यवहार लगातार दोहोर्‍याइरहने, अरूसँग घुलमिल नहुने, तीव्र प्रतिक्रिया वा अस्वाभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भनिन्छ ।

अटिजम भएका व्यक्तिहरूमा विशेष गरी ३ पक्षमा जटिलता देखिन्छ । सञ्चार लाई बुझ्न र प्रयोग गर्न कठिनाइ, सामाजिक सीप बुझ्न र प्रयोग गर्न कठिनाइ, दोहोर्‍याएर  गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरूपता नहुनु अटिजमको मूल समस्या हुन् भने अटिजम भएका व्यक्तिमा वंशाणुगत, वातावरणीय प्रभाव, पारिवारिक इतिहास, लिङ्ग, अन्य रोगहरूका कारणले पक्षमा जटिलता देखिन्छ ।

अटिजमलाई एक जटिल प्रकारको मस्तिष्कको विकासात्मक तथा जन्मजात समस्या मानिन्छ । शारीरिक रूपमा अपाङ्गता स्पष्ट नहुने र व्यावहारिक रूपमा मात्र चिनिने भएकोले यो अवस्था सानो उमेरमा पत्ता लगाउन कठिन हुने गरेको छ । जन्मेको तीन वर्षभित्रमा प्रस्ट रूपमा अटिजम देखिन सक्ने बताइन्छ ।

बालबालिकामा करिब १८ महिनादेखि दुई वर्षसम्म अटिजमको उल्लेखित लक्षण देखा पर्न थाल्छ । अटिजम भएको ६ वर्ष नपुग्दै पहिचान गर्न सकिन्छ ।

  • बागमतीमा अटिजमको अवस्था

बागमती प्रदेशमा अटिजमसम्बन्धी समस्या बढ्दो क्रममा रहेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा अटिजम सम्बन्धी समस्या बढ्दो क्रममा रहेको छ । प्रदेशमा एक हजार भन्दा बढी व्यक्तिमा अटिजम सम्बन्धी समस्या रहेको छ भने सो दर उकालो लाग्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कुल एक हजार २५३ जनामा अटिजम सम्बन्धी समस्या रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । जसमा पुरुष ६२३ र महिला ६३० जना रहेका छन् । अटिजम सम्बन्धी समस्या भएका व्यक्तिहरू अझ बढी भए पनि तथ्याङ्कले समेट्न नसकेको मन्त्रालयका डा. साकार खनालले जानकारी दिए । उनका अनुसार अटिजम सम्बन्धी समस्या भएका व्यक्तिहरू खुल्ने तथा पहिचान गर्ने संरचना र पूर्वाधार सहितको संयन्त्रको अभावका कारण तथ्याङ्कमा समेट्न नसकिएको हो ।

अटिजम सम्बन्धी समस्या प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयको तथ्याङ्कमा अनुसार काठमाडौँमा ४९५ जनामा अटिजम सम्बन्धी समस्या रहेको छ भने ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको सम्बन्धी समस्या रहेको छ । सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ७५ र रसुवामा १७ जनामा अटिजम सम्बन्धी समस्या रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी अटिजम सम्बन्धी समस्या भएका बालबालिका प्रभावित पाइएको उनले बताए । ५ देखी ७ वर्ष भन्दा कम उमेर समूहका बालबालिका अटिजम सम्बन्धी समस्याबाट प्रभावित भएको उनको भनाई छ ।

  • अटिजम समस्याका चुनौतीहरू

नेपालकै परिपेक्ष्यमा अटिजम निकै नौलो विषय हो । जसका कारण सो विषयमा आम नागरिकहरूमा खासै जानकारी छैन । मुख्य रूपमा अटिजमको जनचेतनाको कमी महत्त्वपूर्ण चुनौतीका रूपमा देखिएको छ ।

डा. खनालका अनुसार अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मीमा नै अटिजमलाई पहिचान गर्न सक्ने क्षमताको कमी छ । अटिजम सम्बन्धी स्वास्थ्य सेवाको कमी, शीघ्र जाँच  पहिचान र निदानमा समस्या र शीघ्र हस्तक्षेपकारी भूमिका र पुनः स्थापनामा समस्याले निकै चुनौती थपिएको उनले बताए ।

उनका अनुसार अटिजम सम्बन्धी विशेषज्ञ जनशक्तिको कमी, हैबिलिटेशन तथा पुनः स्थापनामा समस्या, अटिजमको तथ्याङ्क अभाव, अटिजम सम्बन्धी अनुसन्धान, नीतिको कमी, अटिजम भएका व्यक्तिहरूका लागि आवश्यक सेवा तथा सुविधा र रोजगारीमा समस्या चुनौतीका रूपमा रहेका छन् ।

  • अटिजम समस्यामा मन्त्रालयको प्रतिकार्य योजना

अटिजम समस्याको निदान तथा न्यूनीकरणका लागि सो क्षेत्रमा कार्यरत विभिन्न सघंसंस्थाहरुको नक्साङ्कन, मानसिक स्वास्थ्यको सुदृढीकरणको लागि प्रादेशिक अभिमुखीकरण गरिएकोका कार्यक्रमहरू अघि बढाइएको छ ।

अटिजमसम्बन्धी समस्या पहिचान तथा न्यूनीकरणका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा अटिजमसम्बन्धी काम गर्ने संघसंस्थाको पहिचान गरेर अगाडि बढ्ने योजना निर्माण गरेको छ । समयमै समस्याको पहिचान गरेर आवश्यक तालिम समेत प्रदान गर्ने तयारी गर्ने मन्त्रालयको योजना रहेको छ ।

व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा, सञ्चारको थेरापी, विशेष र समाहित शिक्षा, विशेष लक्षण भएकालाई औषधीको प्रयोग र अन्य थेरापीको माध्यमबाट उपचार गर्न सकिने भएकाले सोही अनुसार अघि बढेको स्वास्थ्य मन्त्रालयको महाशाखा प्रमुख खगेश्वर गेलालले जानकारी दिए । मन्त्रालयले अटिजम भएकाको पहिचानसँगै समस्याको निदानका लागि नीति निर्माण गर्न छलफल सुरु गरेको उनले बताए ।

आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रबाट आवश्यक सेवा तथा सुविधा दिने गरी कार्यक्रम निर्माण गरी अघि बढ्ने मन्त्रालयको तयारी रहेको उनको भनाई छ ।

उनका अनुसार मन्त्रालयले अटिजमको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा प्रदेशको विद्यमान अवस्था बारेमा  छलफल गर्ने, प्रदेशमा अटिजमको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूको नक्साङ्कन  गर्ने, अटिजम सम्बन्धी जनस्वास्थ्य क्षेत्रबाट सम्बोधन गर्न सकिने सवालहरूबारेमा छलफल गर्ने, कार्यक्रमको कार्ययोजना तयार गर्ने र मन्त्रालय तथा सरोकारवाला निकाय बिचको समन्वय र सहकार्यलाई सुदृढीकरण गर्ने तयारी गरेको छ ।

सोही अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा, एन.सी. डी. तथा मानसिक स्वास्थ्य शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वयमा विभिन्न कार्यक्रमहरू सञ्चालनको तयारी गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयमार्फत नसर्ने रोग अन्तर्गत अटिजमको समस्या पहिचान तथा पैरवी गर्ने तयारी गरेको छ ।

डा. गेलालका अनुसार मन्त्रालयले आगामी कार्ययोजना निर्माण गरी जनचेतना अभिवृद्धि, शीघ्र पहिचान, शीघ्र जाँचसहित हस्तक्षेपकारी भूमिका र पुनः स्थापनाका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिएको छ । जस अन्तर्गत विद्यालय पाठ्यक्रममा अटिजम सम्बन्धी समावेश गर्ने पालिका स्तरका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूबाट परामर्श प्रदान गर्ने, सञ्चार संस्थाहरूबाट प्रचार प्रसार गर्ने र हरेक वर्ष अप्रिल २ मा अटिजम दिवस मनाउने योजना रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप