सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई बालेनको व्यङ्ग्य :  एउटा मन कति पल्ट जित्नु हुन्छ ?

सोमबार, ०१ माघ २०८०, १३ : ५०
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक  स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै भएको जिकिर गरेका छन्  राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग भएको शाहले बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने कुप्रथाको सुरुवात भएको उनले बताएका छन् ।  उनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।’  

छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक रहेको उनले भनाई छ । ‘हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साँच्चै नै जित्नु भयो भनेर,’ उनले भनेका छन् ।

उनले थप भनेका छन्, ‘अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौँ समय र अर्बौँको लागत लाग्न सक्छ । वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेका नै छैनन् ।’

  • यस्तो छ उनको भनाई :

हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।

मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरू थाहा पाउनुहोस् :

१. २०७७ फागुन - तत्कालीन प्रम केपी ओली

२. २०७७ चैत्र - तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी

३. २०७९ वैशाख - तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी

४. २०७९ मङ्सिर - तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी

५. आज (२०८० माघ १) - प्रम पुष्पकमल दाहाल

अर्थात्, विभिन्न मितिमा खानेपानी मन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उद्घाटन ५ पटक भइसक्यो । मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई वर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो । तर सुरुङ खन्न सुरु गर्न पनि ११ वर्ष लगाएर २०६८ सालबाट मात्रै सुरुङ खन्न थालियो । त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरू नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तिको सूचि त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर काठमाडौँमा पहिलो पटक पानी झर्न त्यसको ९ वर्षपछि मात्रै सम्भव भयो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ फागुनमा मेलम्चीको पानी काठमाडौँ झार्ने कीर्तिमानका लागि उद्घाटन त गरियो तर कीर्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखियो । जसको असर सोही वर्षमा नै देखियो । बाढीको लेदो पसेर तथा बाढीले (1. Weir 2. Intake 3. Gravel flushing out let 4. Sand flushing system 5. Diversion tunnel outlet 6. Gates लगायतका) संरचनाहरू ध्वस्त पारेपछि मेलम्ची बन्द भयो । कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानी मात्र जोखिमपूर्ण बनाइएन, काठमाडौँबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो । र, देशव्यापी रूपमा नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढवा दिन मलजल गर्‍यो । अनि सँगसँगै, व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने कुप्रथाको सुरुवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उद्घाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।

विडम्बना ! अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौँ समय र अर्बौँको लागत लाग्न सक्छ । वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेका नै छैनन् । यसैले बर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राई (desilting नगरी) सिधै diversion canal बाट पानी सुरुङमा लैजाँदा त्यसमा भएका बालुवा सुरुङमा बिस्तारै थिग्रिएर केही समय पछि सुरुङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ । यसका लागि नयाँ intake खोलाको माथितिर राम्ररी study गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना (Desilting Basin) सुरुङ भित्रै बनाउन उचित हुन्छ । 

प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक stunt कै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ । 

हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साँच्चै नै जित्नु भयो भनेर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप