शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दलका लठैत शिक्षक

आइतबार, ०७ माघ २०८०, १३ : २१
आइतबार, ०७ माघ २०८०

हरेक पेसाको आफ्नो पेसागत कर्तव्य, जिमेवारी, आचरण, व्यवहार र पेसागत धर्म हुन्छ । जब कुनै पनि पेसामा आबद्ध पेसाकर्मीले यी सबै नियम र आचरण पेसागत परिधिभित्र रहेर काम गर्छन्, अनि मात्र त्यो पेसाको सामाजिक मर्यादा कायम हुन्छ, होइन भने त्यस्तो पेसा निकम्मा र पेसाकर्मी लठैत हुन जान्छन् । 

गुरु वशिष्ठका चेला राम मर्यादा पुरुष बने, सान्दिपिनीजस्ता गुरुले कृष्णजस्ता बौद्धिक व्यक्ति तयार पारे, अनि दोर्णाचार्य जस्ता गुरुबाट अर्जुन जस्ता धनुर्धर योद्धा जन्मिए । यस कारण प्राचीन इतिहासका ती महान् गुरुहरूले गुरुको आफ्नो पहिचान बनाए अनि त्यस्ता महान् गुरुका शिष्यहरूले आफ्नो इतिहास रचे, जसलाई हामी आज पनि सर्वश्रेष्ठ गुरु र श्रेष्ठ शिष्यका रूपमा मान्दै आएका छौँ । 

प्राचीन पश्चिमी समाजको कुरा गर्ने हो भने पाण्डित्यवादी युगको चर्चा नै पर्याप्त छ, पाण्डित्यवाद आफैँमा राम्रो या नराम्रोभन्दा पनि त्यस युगमा चर्चका पादरी वा गुरुहरूले नै देशको शासन व्यवस्था सञ्चालन गर्दथे, समाज तथा राज्यका हरेक व्यवस्थामा उनीहरूको महत्त्वपूर्ण भूमिका रहन्थ्यो । त्यति बेलाकै पूर्वीय समाजको कुरा गर्ने हो भने, गुरुकुलका शिक्षक सामाजिक, आर्थिक तथा राजनीतिक व्यवस्थाको निर्णायक व्यक्तिका रूपमा रहन्थे । 

हाम्रो देशमा धेरैपटक व्यवस्था परिवर्तन भयो, संरचना परिवर्तन भयो, नियम–कानुन परिवर्तन भए । यी सब परिवर्तनले न शिक्षण पेसामा परिवर्तन आयो न त शिक्षकमै । परम्परावादी शिक्षण पेसा कायमै देखियो भने शिक्षकमा लठैतपनको दिन प्रतिदिन हाबी हँुदै गयो ।

प्राचीन तक्षशिलाका गुरु चाणक्यले एउटा सामान्य परिवारको बालक चन्द्रगुप्तलाई आफ्नो शिक्षा–दीक्षाको माध्यमबाट महान् सम्राट बनाएको इतिहास पनि हाम्रो सामु छ । यी सबै तथ्यलाई आधार मानेर विश्लेषण गर्ने हो भने आधुनिक विश्व समाजको निर्माणमा प्राचीन समाजका गुरुहरूले विविध क्षेत्रमा दिएको योगदानलाई महत्त्वपूर्ण आधार मान्न सकिन्छ । 

कुरो गरौँ अहिलेको हाम्रो समाज, शिक्षा व्यवस्था, अहिलेको राजनीतिक व्यवस्था अनि अहिलेको शिक्षक र शिक्षकको भूमिकाको । संसारका अधिकांश विकसित देशहरूमा शिक्षकको भूमिका ज्यादै महत्त्वपूर्ण मानिन्छ भने त्यहाँ शिक्षकको स्थान अन्य पेसाकर्मीको भन्दा उपल्लो स्थानमा रहन्छ । त्यहाँका राजनीतिककर्मीले समेत शिक्षकहरूबाट सल्लाह–सुझाव लिएर काम गर्ने प्रचलन स्थापित रहेको छ । शिक्षकले आफ्नो सम्पूर्ण समय अध्ययन–अध्यापन र अनुसन्धानमा बिताउँछन् । उनीहरूको कार्य दक्षताको आधारमा पुरस्कार–दण्ड र बढुवाको व्यवस्था गरिएको हुन्छ । शिक्षकहरू विद्यार्थीको सिकाइमा केन्द्रित हुन्छन् । उनीहरुले आफ्नो हक–अधिकारका लागि कहिल्यै आन्दोलन गर्नुपर्दैन, सरुवा–बढुवा र पदोन्नतिका लागि कहिल्यै पनि नेताको चाकडी गर्नुपर्दैन । यी सब कारणले गर्दा त्यस्ता देशहरूको शिक्षा प्रणाली ज्यादै सुदृढ छ र शिक्षण पेसा व्यवस्थित, मर्यादित र अनुकरणीय छ । 

हाम्रो देशमा धेरैपटक व्यवस्था परिवर्तन भयो, संरचना परिवर्तन भयो, नियम–कानुन परिवर्तन भए । यी सब परिवर्तनले न शिक्षण पेसामा परिवर्तन आयो न त शिक्षकमै । परम्परावादी शिक्षण पेसा कायमै देखियो भने शिक्षकमा लठैतपनको दिन प्रतिदिन हाबी हुँदै गयो । परम्परागत शिक्षण विधिको लठैत शिक्षक, राजनीतिक दलप्रतिको लठैत शिक्षक, नेताको गुलामी गर्ने लठैत शिक्षक, परम्परागत ज्ञान मात्र हस्तान्तरण गर्न चाहने लठैत शिक्षक— शिक्षकको यस्तो लठैतपनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा दिन प्रतिदिन ध्वस्त हुने अवस्थामा पुगेको छ । हरेक वर्ष लाखौँको संख्यामा विद्यार्थी विदेश पलायन हुने अवस्था बढ्दो छ । स्वदेशमै पढेका अधिकांश विद्यार्थीसँग पनि न राम्रो ज्ञान छ, न राम्रो सीप । काम गर्ने सोच र नैतिकता तथा अनुशासन भन्ने कुरा त झन् दिनदिनै स्खलित हँुदै गइरहेको छ । यसमा केही हदरसम्म जिम्मेवार शिक्षक पनि हुन् । 

शिक्षकले पढाएको विद्यार्थी फेल हुन्छ, तर शिक्षकले आरोप विद्यार्थीलाई लगाउँछ । विद्यार्थीलाई अनुशासित बनाउन सकेन भने उसले दोष अभिभावकलाई लगाउँछ । विद्यार्थीले राम्रो गर्‍यो भने शिक्षकले मैले गर्दा भएको हो भन्छ, विद्यार्थी पढेर पनि केही गर्न सकेन भने पाठ्यक्रम नै गतिलो थिएन भन्छ । आफूले पढाएको विद्यार्थी बेरोजगार भयो भने राज्यले रोजगार दिन सकेन भन्छ । राम्रो कार्यको मात्र आफूले जस लिन चाहने र नराम्रो कार्यको अरुलाई दोष दिने लठैत शिक्षक । 

नेपालको प्रचलित कानुनी व्यवस्था अनुसार शिक्षक कुनै पनि राजनीतिक दलको सदस्य बन्न पाउँदैन तर त्यो कानुनी व्यवस्था कानुनी किताबको ठेलीमा मात्र सीमित रहेको अवस्था छ । अधिकांश शिक्षकहरू कुनै न कुनै ठुला राजनीतिक दलहरूको सदस्य मात्र होइन झोला नै बोकेर हिँडेको पनि प्रशस्त देखिएको छ । दलका राजनीतिमा सक्रिय रहेका शिक्षकलाई गुरुको उपमा दिनभन्दा राजनीतिक दलका लठैत शिक्षक भन्दा फरक नपर्ला । राजनीतिक दलका लठैत शिक्षकले कस्तो शिक्षा प्रदान गर्लान्, त्यो विश्लेषण गर्ने जिम्मेवारी अभिभावक र विद्यार्थीको हो । 

शिक्षक आफ्नो शैक्षिक तथा पेसागत क्षमताको विकास गर्नभन्दा पनि नेताको चाकडी गर्न व्यस्त भयो । सरुवा–बढुवा तथा प्रधानाध्यापक बन्नका लागि रातारात पार्टीको सदस्य लिन र फेरबदल गर्न ऊ क्रियाशील भयो । उसले आफ्नो सम्मानित पेसालाई चिनेन, आफ्नो पेसालाई सम्मानित बनाउन सकेन, आफ्नो पेसा बिर्सियो, आफ्नो कर्तव्य र जिम्मेवारीलाई लत्यायो, सधैँ आफ्नो स्वार्थ मात्र हेर्न थाल्यो, आफ्नो मात्र अधिकार खोज्यो तर अरुको अधिकारलाई ध्यान दिएन । यी सबै कारणले गर्दा उसले शिक्षण पेसालाई नै दूषित बनायो र आफूले आफैँलाई लठैत शिक्षकका रूपमा देख्न थाल्यो । जसको परिणामस्वरूप सार्वजनिक रूपमा शिक्षण पेसालाई आलोचित बनायो । 

शिक्षा समान हुनुपर्छ, शिक्षामा कुनै पनि विभेदको अन्त हुनुपर्दछ भनेर ढोल ठोक्ने शिक्षकले आफूले पढाउने विद्यालयमा आफ्नो बच्चालाई पढाउन चाहेन, आफ्नो बच्चालाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भनेर आफ्नो बच्चाको शिक्षकसँग पाखुरा सुर्कायो तर आफूले पढाउने विद्यार्थीका अभिभावकले त्यही कुरा भन्दा धेरै जान्ने नहुनु भनेर आँखा फर्कायो । आफ्नो पेसालाई उसले विद्यालयको चार दिवारभन्दा बाहिर लान सकेन, अध्ययन अनुसन्धानलाई कुरामा मात्र सीमित राख्यो । पुस्तकका ठेलीभन्दा बाहिरको संसार विद्यार्थीलाई चिनाउन सकेन, वर्षाैं पुरानो नोटको भरमा जागिर खायो, तालिम लिन जान कहीँ छाडेन तर तालिममा सिकेको कुरालाई कहिल्यै पनि प्रयोगमा ल्याउन सकेन । परम्परागत शिक्षण विधिलाई आफ्नो पेवाको रूपमा सम्झेर त्योभन्दा बाहिर गएर शिक्षण गर्ने उसले  मन गरेन । 

शिक्षकले राम्रोसँग सिकाउन नसक्दा धेरै विद्यार्थीको भविष्य अन्धकारतिर गएको छ भन्नेमा पनि हाम्रो ध्यान जानुपर्छ । अर्कोतिर, आज सरकारको तलब–भत्ता खाएर भ्रष्टाचार गर्ने वा जनहितमा काम नगर्नेहरुलाई हिजो कुनै शिक्षकले सिकाएका वा पढाएका थिए ।

शिक्षक, शिक्षण भनेको पढाउने हो भन्ने धारणाबाट सिकाउने हो भन्ने धारणामा रूपान्तरण हुन सकेन ऊ । उसको न आफ्नो शैलीमा परिवर्तन भयो न त आफ्नो सीपमा नै । शिक्षणलाई जागिरको रूपमा हेरियो तर जिम्मेवारीका रूपमा हेर्न सकिएन । शिक्षण पेसामा जुन जिम्मेवारी छ त्यो अन्य पेसाको भन्दा कैयौँ गुणा धेरै छ, त्यो जिम्मेवारी पूरा गर्न शिक्षकमा क्रान्तिकारी परिवर्तनको जरुरत छ । त्यसका लागि शिक्षक लठैत शिक्षकबाट प्राज्ञिक शिक्षकमा रूपान्तरण हुनुपर्छ । 

शिक्षकको दाबी छ— समाजका हरेक जनशक्ति हामीले निर्माण गर्‍यौँ, समाजका हरेक व्यक्तिलाई हामीले दीक्षित गर्‍यौँ । यो दाबी धेरै हदसम्म सत्य हो । स्कुल–कलेजमा पढ््ने जो–कोहीलाई कसरी सिकाउने वा बुझाउने भन्नेमा धेरै हदसम्म शिक्षकको भूमिका थियो । पाठ्यक्रम कस्तो हुने, शिक्षा नीति कस्तो हुने भन्ने अगल पाटो भयो । 

शिक्षकले राम्रोसँग सिकाउन नसक्दा धेरै विद्यार्थीको भविष्य अन्धकारतिर गएको छ भन्नेमा पनि हाम्रो ध्यान जानुपर्छ । अर्कोतिर, आज सरकारको तलब–भत्ता खाएर भ्रष्टाचार गर्ने वा जनहितमा काम नगर्नेहरुलाई हिजो कुनै शिक्षकले सिकाएका वा पढाएका थिए । आज खराब काम गर्ने वा खराब आचरणले निर्देशित कुनै व्यक्ति हिजो कुनै शिक्षकको विद्यार्थी हुन सक्छ । त्यसैले स्कुल आएर कसैले राम्रो शिक्षा वा आचरण पाएन भने त्यसमा शिक्षक कति जिम्मेवार हुने भन्ने पनि प्रश्न छ ।

विद्यार्थीलाई पढाउने र सिकाउने काम मात्र शिक्षकको होइन, शिक्षकको जिम्मेवारी त विद्यार्थीलाई ज्ञानी, सीपयुक्त, चरित्रवान्, विवेकशील, परिश्रमी, लगनशील, धैर्यवान, आदर्शवान, देशप्रेमी बनाउने पनि हो । यसो सम्भव छ, तर यसका लागि शिक्षकमा निहित लठैतपनलाई हटाउनुपर्छ । शिक्षक आफ्नो पेसाप्रति पूर्ण जिम्मेवार बन्नुपर्छ । आफ्नो पेसालाई उच्च सम्मान गर्नुपर्छ । अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्छ । कुनै पनि राजनीतिक दलको झोले कार्यकर्ता बन्न छाडेर पार्टी र नेतालाई उपयुक्त सल्लाह सुझाव दिने व्यक्ति बन्नुपर्छ । विद्यार्थीलाई बनाउने सन्दर्भमा पूर्ण जिम्मेवार बन्नुपर्छ । अध्ययनशीलता र विवेकशीलता शिक्षकको पहिचान हो भन्ने बुझेर सधैँ त्यसमा लागिरहनुपर्छ । यी सब कार्य हरेक शिक्षकले गरेमा शिक्षण पेसाको मर्यादामा आमूल परिवर्तन आउँछ । अनि आम मानिसको बुझाइमा शिक्षण पेसा सम्माननीय बन्छ । हरेकको रोजाइमा शिक्षण पेसा बन्न जान्छ र सक्षम व्यक्ति शिक्षण पेसामा आबद्ध हुन्छन् । योसँगै राज्यले शिक्षकको हकहितलाई पनि ध्यान दिनुपर्छ । 

(लेखक मध्यपश्चिम विश्वविद्यालयमा उप–प्राध्यापक छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टेकेन्द्र कुमार महतरा
टेकेन्द्र कुमार महतरा
लेखकबाट थप