सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशी प्रदेश : सरकार विस्तारको तयारीमा मुख्यमन्त्री कार्की

आफ्नो पार्टीबाट २ मन्त्री नियुक्ति गर्न माओवादीको दबाब
आइतबार, १४ माघ २०८०, ०६ : १४
आइतबार, १४ माघ २०८०

विराटनगर । राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूसँग छलफल गरेर सोमबारसम्ममा ३ जना फूल मन्त्री र एक राज्यमन्त्री नियुक्तिको तयारी गरेका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार कांग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रबाट भने एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा सङ्खुवासभाको राजेन्द्र कार्की थप नियुक्त हुने माओवादी स्रोतले बतायो । 

मुख्यमन्त्री कार्कीले माओवादीबाट तत्कालका लागि एक जना मात्रै मन्त्री थप गर्ने तयारी गरेका छन् । तर, माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । माओवादीलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय दिने सहमति भइसकेको छ । यस्तै माओवादीलाई दिनै पर्ने अवस्थामा सामाजिक विकास मन्त्रालय थप हुने मुख्यमन्त्री स्रोत बताउँछ । यस्तै काँग्रेसले अब उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना लिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय जसपालाई दिन मुख्यमन्त्री तयार भए पनि जसपाले भने तत्काल सरकारमा नजाने बताउँदै आएको छ । 

त्यस्तो परिस्थितिमा कांग्रेसले रामकुमार खत्रीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने र प्रदीपकुमार सुनुवारलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीको छ । थापालाई भने तत्कालका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री बनाउने कार्कीको तयारी छ ।

हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन् ।

कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २७ गते नियुक्त भएर २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए । 

कार्कीले कार्तिक १ गते नै विश्वासको मत लिए । उनलाई राप्रपाका ६ सांसद बाहेक सबैले विश्वासको मत दिएका थिए । आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिन पछि कार्कीले कार्तिक १७ गते माओवादीबाट गणेश प्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमल प्रसाद जबगूलाई मन्त्री पदमा नियुक्त गरे । उनीहरुलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए ।

एमालेबाट मगरले राजीनामा दिएसँगै मन्त्रीमण्डल ४ सदस्यीयमा सीमित भयो । नियुक्त भएका मन्त्रीहरू राई, जबेगू र उप्रेतीले पनि लामो समय विना विभागीय बस्नु पर्‍यो । कार्कीले उनीहरुलाई मंसिर १७ गते जिम्मेवारी दिए । जसअनुसार राई सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन, जबेगूलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप