सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

'कानुनबाहिर उद्योगी व्यवसायी हुँदैन, तर धरपकड शैलीमा पक्राउ गर्दा प्रश्न उब्जियो'

शुक्रबार, १९ माघ २०८०

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार उद्योगी अरुण चौधरीलाई बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गर्‍यो । सरकारले हठातरुपमा कानुनी प्रक्रिया छाडेर प्रहरीमार्फत पक्राउ गरेको र यसबाट लगानीको वातावरण बिग्रने उद्योगी–व्यवसायीको भनाइ छ । उनीहरूले देशमा ठुलो लगानी खन्याएका उद्योगी रातारात भाग्ने जसरी सरकारले अकस्मात् पक्राउ गरेको आरोप लगाइरहेका छन् । उद्योगी चौधरी पक्राउ परेको विषय र देशको पछिल्लो आर्थिक तथा व्यवसायिक वातावरणका विषयमा केन्द्रित रहेर रातोपाटीले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालसँग गरेको कुराकानीको सम्पादित अंशः

  • केन्द्रीय अनुसन्धान ब्युरोले उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको स्थिति छ । यो घटनालाई कसरी लिनुभएको छ ?

राज्यले कारबाही गर्न सक्ने कुरा आफ्नो ठाउँमा छ । लगानी सम्मेलन वैशाखमा राखेका छौँ । विदेशबाट लगानी ल्याउन चाहिरहेका छौँ । प्रतिष्ठित उद्योगी व्यवसायीलाई सोधपुछ बिना नै एक्कासि पक्राउ गर्न नहुने हो । यसले पछिल्लो समय धुमिल बनिरहेको देशको औद्योगिक व्यवसायिक वातावरण पनि बिग्रन्छ । विदेशबाट नयाँ लगानी आउनभन्दा पनि स्वदेशमा नै उद्योगी र सरकारबिचको सम्बन्ध बिग्रन्छ । तर पनि यो घटनाबारे मैले थप बुझ्न भने बाँकी छ । यद्यपि, बिना सोधपुछ र बिना सूचना पुलिस नै पुगेर पक्राउ गर्दाचाहिँ निजी क्षेत्रको मनोबल बिग्रन्छ ।

  • यसअघि पनि केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको उदाहरण त ताजै छन्, नि ?

कानुन सबै देशको हुन्छ । कानुनबाहिर उद्योगी व्यवसायी पनि हुँदैन । तर, यसको तौरतरिका हुन्छ भन्ने लाग्छ । कानूनीरुपमा अघि बढ्नपर्ने ठाउँमा ८० प्रतिशतभन्दा धेरै जीडीपी ओगेटेको निजी क्षेत्रलाई धरपकड शैलीमा पक्राउ गर्दा प्रश्न उब्जिएको छ । पछिल्लो समय धमाधम करका विषय र अन्य विषय उठाउँदै साना–ठुला उद्योगी व्यवसायी पक्राउ पर्ने क्रम जारी छ । 

जिल्लामा पनि उद्योगी व्यवसायी धमाधम पक्राउ परिरहेका छन् । बैंकहरुले पनि ऋणको विषयलाई लिएर हतोत्साहित बनाइरहेका छन् र राज्यले त्यसलाई संरक्षण गरिरहेको छ । कानुनले आफ्नो कारबाही गर्छ, कानुन सक्रिय हुन हुँदैन भनेको छैन । कानुनबाहिर गएका छन् भने उद्योगी व्यवसायी पनि कानुनी दायरामा आउनुपर्छ भन्नेमा दुई मत छैन । तर, धरपकड नै गर्न हुँदैनथ्यो ।

  • यसको अर्को विकल्पचाहिँ के हुन सक्थ्यो, त्यसो भए ?

अर्काे विकल्पकारुपमा न्यायालय छ । यो विषयमा बोलाएर सोधपुछ गर्नुपर्थ्यो । राज्यमा ठुलो लगानी गरिरहेको लगानीकर्ता वा भनौँ व्यवसायी फुत्त भाग्दैन नि ! राजनीतिकर्मीहरूलाई कुनै विषयमा घरमै पुगेर बयान लिने गरिन्छ । तर, उद्योगी व्यवसायीलाईचाहिँ पक्राउ गरिहाल्नुपर्ने होइन । ठुलो लगानी गरेको अवस्था छ । गल्ती गरेको देखियो र कानुन मिचेको देखिएमा अदालतमा मुद्दा दर्ता गर्न मिल्छ । अदालतले गरेको फैसला नमान्ने स्थिति हुँदैन । तर, धरपकड शैलीमा पक्राउ गर्दाचाहिँ लगानीको वातावरण बिग्रन सक्छ । यसो भन्दै गर्दा नेपाल उद्योग वाणिज्य महासंघ गलतको पक्षमा छ भन्न खोजेको भने होइन । यसको प्रक्रिया गलत भयो मात्रै भनेको हो ।

  • यसको अर्थ यतिबेला सरकारले गलत प्रक्रियाबाट उद्योगी पक्राउ गरेको छ, भन्नुभएको हो ?

पक्कै पनि । यतिबेला सरकारले गलत प्रक्रिया रोजेको छ । अहिले पनि धेरै क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई मुद्दा दायर गरिरहेको स्थिति छ । अदालतले दोषी भनेमा कारबाही भोगी पनि रहेका छन् । तर, सुरुमा नै पक्राउ गरेर अदालती प्रक्रिया सुरु गर्नुचाहिँ गलत नै भयो । अब उसको प्रतिष्ठा र व्यवसायमा असर गरेको छ । कानुन मिच्नेलाई सजाय दिनुपर्छ । तर, यसको प्रक्रिया हुन्छ ।

  • कानुनले चाहिँ कुनै आरोप लाग्नसाथ पक्राउ गरिएन भने आरोपितले प्रमाण मेट्छ भन्छ । सन्दीप लामिछानेको केसलाई उदाहरणका रुपमा लिँदा पनि भयो । यस आधारमा चौधरीलाई पक्राउ भन्ने छ नि ?

सन्दीप लगायत धेरै मानिसहरूको उदाहरण हेर्दा पनि यसरी सुरुमा नै पक्राउ गरिहाल्नुपर्ने अवस्था भने देखिँदैन । अदालतले फैसला गरेपछि सबैले त्यसलाई मान्नैपर्ने स्थिति हुन्छ । कोही पनि भागेका छैनन् । कुनै केस गम्भीर छ भने मुद्दा मामिलामा जानुपर्छ । सुरुमा नै प्रहरीको हिरासतमा राखेर टर्चर गर्न हुँदैन । तानाशाही सरकारको झल्को देखिन्छ । कानुनले आफ्नो बाटो लिनुपर्छ, तर यो मर्यादित तरिकाको हुनुपर्छ ।

420692973_912552810379110_3281579514232196570_n

  • सरकारको एक्सनले उद्योगी व्यवसायी पनि गलत छैनन् भनेर त भन्न सक्ने स्थिति छैन नि ?

अहिले देशभर १० लाखभन्दा धेरै मानिस उद्यम व्यवसायमा लागेका छन् । यी सबै मानिस राम्रा मात्रै छन् भनेर भन्न सक्ने स्थिति भने छैन । त्यसले त सरकार र कानुन चाहिएको हो । यही कारणले नै प्रहरी प्रशासन चाहिएको हो । सबैजसो देशमा सबै क्षेत्रमा राम्रा र नराम्रा मान्छे हुन्छन् । तर, संविधान र कानुनसम्मत प्रक्रियामा जानुपर्छ भन्ने मेरो भनाई छ । आज पक्राउ गरिएका उद्योगी भोलीका दिनमा निर्दोष घोषित भएमा उसको मान प्रतिष्ठा त फर्केर आउँदैन नि । उद्योगी व्यवसायीलाई मात्रै आक्रमण गर्दा सरकारलाई फाइदाचाहिँ के हुन्छ भनेर बुझ्न सकेको छैन ।

  • पछिल्लो घटनाले वैशाखमा आउँदै गरेको लगानी सम्मेलनलाई कस्तो प्रभाव पार्ला ?

यसले त पक्कै पनि लगानी सम्मेलनलाई प्रभावित बनाउँछ । सरकारले आफ्नै नेतृत्वमा वैशाखमा लगानी सम्मेलन गर्दै छ । लगानीमैत्री वातावरण बनाउनुपर्छ । अहिलेसम्म किन लगानी आएको छैन भनेर तुलना गर्नपर्छ । छिमेकी मुलुक भारत र चीनले कसरी विश्वभरबाट लगानी आकर्षण गरिरहेको छ भने अध्ययन गर्नपर्छ । चीनलाई कम्युनिस्ट मुलुक भनिए पनि नाफा कमाउनका लागि रोकतोक छैन । अघिल्ला दुई सम्मेलनमा आएका प्रतिबद्धताअनुसार पनि लगानी आएको छैन । यही कारण, हामी आफ्नो कानुनी र प्रशासनिक झन्झट हटाएर अघि बढ्नपर्छ । सबै वातावरण हुँदाहुँदै पनि कानुन तोड्ने गरी कोही अघि बढ्छ भने कारबाही गर्नै पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया