सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

रास्वपाले भन्यो– उपविजेतामा सीमित हुनुपर्ने हो कि जस्तो देखियो

आइतबार, १६ वैशाख २०८१, १९ : ५१
आइतबार, १६ वैशाख २०८१

विराटनगर । इलाम–२ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई अपेक्षित मत नआएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ । रास्वपा इलामका नेता सन्तोष श्रेष्ठले आफ्नो पार्टीले अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएको भएपनि अपेक्षित मत भने आउन नसकेको बताए । 

‘हामीले अघिल्लो निर्वाचनमा मत खसेकै थिएन । अहिले उल्लेखनीय खसेको छ,’ उनले भने, ‘देउमाई र इलाम नगरपालिकाको मत गणना सुरु भएपछि अगाडि आउँछौँ होला ।’ मत परिणामलाई स्वीकार गर्दै आगामी दिनमा जनताको माझमा जाने उनले बताए । 

उनले चारवटा वडाको मत परिणाम हेर्दा आफ्नो उम्मेदवार उपविजेता हुने हो कि जस्तो देखिएको बताए । ‘अहिलेको मत परिणामलाई हेर्ने हो भने उपविजेतामा सीमित हुनुपर्ने हो कि जस्तो देखियो । तर, अहिले नै निराश हुनुपर्ने अवस्था छैन,’ उनले भने, ‘एउटा पालिकाको ४ वटा वडाको मात्रै परिणाम आएको हो । धेरै मतदाता भएको ठाउँको मतगणना भएकै छैन । हामीलाई हाम्रा साथीहरूले दिएको रिपोर्ट अनुसार कमी भएको मतलाई फुलफिल गरेर अगाडि बढ्छौँ भन्ने छ । हामीले जति अपेक्षा गरेका थियौँ । त्यो कम छ ।’ उनले फाकफोकथुमबाट धेरै मत आउने अपेक्षा पनि नगरेको बताए । ‘पुराना पार्टीहरूको संगठन र विरासत रहेको ठाउँमा यति मत आउनु नै हाम्रो लागि ठुलो कुरा हो,’ उनले भने । 

इलाम २ को फाकफोकथुमको ४ वटा वडाको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा छन् । 

सुहाङले २ हजार ५४२ पाएका छन् भने कांग्रेस उम्मेदवार डम्बर खड्काको २ हजार १९७ मत पाएका छन् । यस्तै पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५९३ भोट ल्याउँदा रास्वपाका मिलन लिम्बूले ३७९ भोटका साथ चौथो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप