शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

छुट्ट्याइएको फोहोर संकलन गर्न रङ संकेत सहितको गाडी

३.५ क्युविक मिटर क्षमताको सवारी साधनमा छुट्टाछुट्टै कोठा
शनिबार, २० माघ २०८०, १३ : ०४
शनिबार, २० माघ २०८०

काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्ट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो । 

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको बिचबाट २ खण्ड बनाइएको छ । हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बिचमा गरी २ वटा ढोका छन् । यसमध्ये बिचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ । 

बाहिरबाट हेर्दा गाडी २ रङ्गको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ्ग राखिएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब १ हजार ५ सय किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुनसक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ । 

वडा नं. २७ बाट फोहोर वर्गीकरण नमूना कार्यक्रम चलाइने 

फोहोर वर्गीकरणको नमूना कार्यक्रम वडा नं. २७ बाट कार्यान्वयन गर्ने तयारी थालिएको छ । यसक्रममा आज सचेतनामूलक र्याली निकालियो । वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका सदस्य तथा पदाधिकारी, कर्मचारी, स्थानीय क्लब तथा टोल सुधार समितिका पदाधिकारीसहितको र्यालीले कमलाछी, असन, तँलाछि, ज्याथा, ठमेल, जमल, ग्वसिँफलगायतका स्थानमा पुगेर घरदैलो कार्यक्रम गरिएको थियो । यस क्रममा भेटिएका स्थानीयले महानगरपालिकाको कार्यक्रमको प्रशंसा गर्दै आफूहरुले छुट्टयाएर मात्र फोहोर बाहिर निकाल्ने दायित्व पूरा गर्ने बताए ।

यो वडाको जनसंख्या ५ हजार हो । यहाँ १ हजार ४ सय घरधुरी छन् । आवासीय र व्यापारिक क्षेत्र भएकोले कुहिने र नकुहिने दुवै प्रकारको फोहोर उत्पादन हुन्छ ।  फोहोर वर्गीकरणका विषयमा वडाध्यक्ष योगेश खड्गी भन्नुहुन्छ, ‘घरघरमा पुगेर फोहोर छुट्टयाएर विधि सिकाउँछौँ ।  फोहोर संकलन गर्न जाने कर्मचारीलाई छुट्टिएको फोहोर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । वडाबासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सहभागिताका लागि उहाँहरु इच्छुक हुनुहुन्छ । यी सबै कारणले कार्यक्रम सफल हुन्छ ।’

आउँदो एकहप्ता वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छुट््याइएको फोहोरको नमूना संकलन गर्ने अभ्यास गरिनेछ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।  यो वडाको कार्यक्रम सफल बनाएर वडा नं. १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लगिने विभागले योजना बनाएको छ । 

के हो फोहोर वर्गीकरण ?

भान्छामा कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । 

तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् ।  यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् । 

यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।  

   विभागले हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्याङ्कनको योजना बनाइरहेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप