सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
साझा सहकारीको कन्तबिजोग

कृषि विकास बैंकको ३ करोड कर्जा स्वाहा !

सहकारीको जग्गा र भवनमा प्रहरी चौकी राख्न गाउँपालिकाको प्रस्ताव
मङ्गलबार, २३ माघ २०८०, १० : ४५
मङ्गलबार, २३ माघ २०८०

विराटनगर । मोरङ, कानेपोखरी–१ होक्लाबारीमा रहेको साझा सहकारी संस्थाको साधारण सभा विगत १७ वर्षदेखि भएको छैन । सोही समयदेखि उक्त सहकारी झपटबहादुर कुँवर (अध्यक्षका रुपमा) र टीकाराम लुइँटेल (व्यवस्थापकको रुपमा) ले चलाइरहेका छन् । तर, सहकारीले कृषि विकास बैंकबाट लिएको ३ करोड ऋण तिर्न सकेको छैन ।

सहकारीका पूर्व अध्यक्षहरू भोकनारायण गच्छदार र देवी सङ्ग्रौलाहरूको पालामै सहकारी डुबेको हालका अध्यक्ष कुँवर बताउँछन् । ‘म त कोही बन्ने अवस्था नभएपछि अध्यक्ष बनेको मात्रै हुँ । सहकारी निष्क्रिय भइसकेको छ । ऋण–धनबारे मलाई धेरै जानकारी छैन,’ उनले भने ।

उनले कृषि विकास बैंकको ३ करोड रुपैयाँ ऋण अहिले पनि रहेको बताए । तर, बैंकलाई ऋण तिर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ । सहकारीको नाममा भएको भवन, जग्गा तथा सम्पत्तिले ऋणको भार नबोक्ने उनी स्वयं स्वीकार गर्छन् ।

‘जग्गा लिलामी गरेर लान्छ नि ?,’ ऋण कसरी तिर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सहकारीको बबिया, बाहुनी र होक्लाबारीमा भएको सम्पत्ति बैंकले जफत गर्छ होला । तर, अहिलेसम्म ऋण नबोक्ने भएका कारण बैंक लिलामी प्रक्रियामा नगएको हो ।’

उनका अनुसार अहिले पनि सहकारीले ऋण लगानी गरेकामध्ये २२ जनाबाट ऋण असुली भएको छैन । २०४० सालमा ५ हजार साँवा ऋण दिएको सहकारीले ब्याजसमेत असुल गर्दा ९५ हजार पुग्ने उनको भनाइ छ ।

त्यसबेला सावाँमात्रै साढे ३ लाख हाराहारीमा ऋण लगानी गरेको र अहिले ब्याजसहित १९ गुणा बढी असुल गर्दा पनि बैंकको ऋण पुग्न सक्ने अवस्था छैन । यद्यपि सावाँको डबलभन्दा बढी ब्याज लिन नपाइने व्यवस्थाले गर्दा ऋण तिर्नै नसक्ने अवस्था रहेको कुँवर बताउँछन् ।

अबको एक हप्तामा सहकारीको विस्तृत अडिट गरेर साधारण सभा गर्ने उनको भनाइ छ । ‘अब एक हप्तामा अडिट गर्न लेखापरीक्षकको व्यवस्था गरेका छौँ । त्यसपछि हिसाबकिताब फरफारख भएपछि साधारण सभा राख्छौँ,’ उनले भने ।

कृषि विकास बैंकबाट लिएको ३ करोड ऋणचाहिँ के भयो भन्ने प्रश्नमा उनले भने, ‘भवन निर्माण भयो । जग्गा खरिद भयो ।’

उता, सेयर सदस्यहरूले भने संस्थाको कारोबार, अडिट रिपोर्ट र माइन्यूटको अवस्थाबारे सार्वजनिक हुनुपर्ने माग गरेका छन् । ‘०३६ सालमा स्थापना भएको उक्त सहकारीमा ५ सयभन्दा बढी सेयर सदस्य थिए,’ सहकारीका सेयर सदस्य तथा जग्गादाता गोपाल कार्की भन्छन्, ‘०६३ सालको अडिट रिपोर्टमा २१ लाख रुपैयाँ ऋण लगानी गरेको उल्लेख छ । तर, त्यसपछि भित्रभित्रै कारोबार गरेको भए पनि अहिलेसम्म त्यसको सत्यतथ्य जानकारी आएन । चेकबाट कारोबार पनि हुँदै आएको देखिन्थ्यो । सहकारी कसरी डुब्यो ? किन डुबाइयो ? जनतालाई जानकारी दिनुपर्छ ।’

कार्कीले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई समक्ष उजुरी दिएका छन् । कार्कीका अनुसार उनका बुबा टेबहादुर कार्कीले आफ्नो नाममा दर्ता गरेको २ कट्ठा जग्गा सहकारीलाई दिएका थिए ।

होक्लाबारीमा भएको ३ कट्ठा जग्गामध्ये २ कट्ठा जग्गा दानबाट पाएपछि अर्को १ कट्ठा जग्गा सहकारीले नै खरिद गरेको थियो । सहकारीको नामोनिसान भनेकै सोही जग्गामा निर्माण भएको भवनमात्रै हो । अरू विषयबारे सर्वसाधारण अनभिज्ञ छन् ।

अहिले उक्त भवन र जग्गामा प्रहरी चौकी राख्नका लागि गाउँपालिकाले सिफारिस गरेको छ । स्थानीयले भने हिसाब किताब फरफारख नगरी चौकी राख्न नहुने बताउँदै आएका छन् ।

कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले खाली भवन र जग्गामा अस्थायी हिसाबले प्रहरी चौकी राख्न खोजिएको बताए । स्थानीयले सहकारीको हिसाब किताबको बारेमा छानबिनको माग गर्दै यसअघि नै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको अधिकारीले बताए । तर, सहकारीको हिसाब किताब छानबिनको जिम्मा प्रदेश रजिस्ट्रार कार्यालयको भएको अधिकारीले बताए ।

यता, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने सहकारीको हिसाब किताब पारदर्शी बनाउन अध्यक्ष र व्यवस्थापकलाई बोलाएर छलफल गर्ने बताएका छन् । ‘सहकारीको जग्गा र भवनमा प्रहरी चौकी राख्ने कुरा हुँदैन । सहकारीमा अनियमितता भएको भए वा हिसाब किताब पारदर्शी नभएको भए पारदर्शी गरेर पुनः सहकारी सञ्चालनका लागि हामी सहजीकरण गर्छौँ,’ उनले भने ।

उता, स्थानीय ७१ जना सेयर सदस्यहरूले भने सहकारीको साधारण सभा फागुन ११ गतेभित्रमा गरेर पुनः सहकारी सञ्चालन गर्नुपर्ने निर्णय गरेका छन् ।

Sahakari 1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप