सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशीमा एक मन्त्रालय राज्यमन्त्रीले सम्हाल्ने, ७ मन्त्रालयमा फूल मन्त्री

को-को बन्दैछन् मन्त्री
शुक्रबार, २६ माघ २०८०, १६ : ११
शुक्रबार, २६ माघ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि सरकारलाई पूर्णता दिने भएका छन् । आज ५ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालय भने राज्यमन्त्रीले जिम्मेवारी सम्हाल्ने छन् । उक्त मन्त्रालयमा कांग्रेसबाट इन्दिरा थापा राज्यमन्त्री बन्ने भएकी हुन् ।

मुख्यमन्त्री कार्कीले कांग्रेसकै भागमा परेको प्रदेशको स्वास्थ्य मन्त्रालयमा ओखलढुङ्गा क्षेत्र नं. १ का कांग्रेस सांसद प्रदीपकुमार सुनुवारलाई नियुक्त गर्ने भएका छन् । सुनुवार एक वर्षको अवधिमा तेस्रोपटक मन्त्री बन्न लागेका हुन् । उनी यसअघि उद्धव थापा मुख्यमन्त्री हुँदा दुवै पटक मन्त्री भए पनि अदालतको आदेशबाट मुख्यमन्त्रीसँगै पदमुक्त भएका थिए ।

प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयमा उदयपुरको २ (२) का कांग्रेस सांसद रामकुमार खत्री नियुक्त हुनेछन् । उनी पनि यसअघि थापा नेतृत्वको सरकारमा केहि समय विना विभागीय मन्त्री भएका थिए ।

मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन साथ दिने कांग्रेसका तीन सांसदलाई मन्त्री बनाउँदा कांग्रेसको संस्थापन खेमाबाट भने सुनुवार मात्र मन्त्री बनेका छन् । जसले गर्दा कांग्रेसभित्र असन्तुष्टि छ ।

यस्तै माओवादी केन्द्रको भागमा परेको खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचित नारायणबहादुर बुर्जामगर मन्त्री बन्नेछन् । यसअघि मगर मन्त्री बन्ने चर्चा भएर पनि मन्त्री हुन पाएका थिएनन् ।

माओवादीकै भागमा परेको सामाजिक विकास मन्त्रालयमा सङ्खुवासभाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद राजेन्द्रकुमार कार्की पनि मन्त्री बन्ने भएका छन् । कार्की यसअघि उद्धव थापा पहिलो पटक मुख्यमन्त्री बन्दा विना विभागीय मन्त्री भए पनि अदालतको आदेशबाट सरकार ढलेपछि स्वतः पदमुक्त भएका थिए ।

हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् । आज प्रदेश सरकार विस्तार भएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय हुनेछ ।

नेकपा एमालेको सहयोगमा कांग्रेसका ८ सांसदको हस्ताक्षरबाट असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २८ गते शपथ लिएका थिए । सो दिन एमालेका रामबहादुर मगर र कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका थिए ।

कार्कीले मङ्सिर १७ गते सरकारमा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जबेगूलाई मन्त्री नियुक्त गरेपछि एमालेका मगरले राजीनामा दिएर बाहिरिएका थिए । त्यसयता मुख्यमन्त्रीले पटक–पटक सरकार विस्तारको मिति तोक्दै सार्दै आएका थिए ।

सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन, एकीकृत समाजवादीले एक र जसपाले एक मन्त्रालय लिने गठबन्धनबिच सहमति छ । त्यसअनुसार सरकारलाई पूर्णता दिन लागेका मुख्यमन्त्री कार्कीले जसपाले तत्काल सरकारमा नआउने बताएकोले सो मन्त्रालयमा पनि काङ्ग्रेसबाटै मन्त्री नियुक्त गर्ने भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप