सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार विस्तार विवाद

सरकारलाई समर्थन गरेर जाने अवस्था भएन : उद्धव थापा

शुक्रबार, २६ माघ २०८०, २० : ५४
शुक्रबार, २६ माघ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेको विषयमा कांग्रेसमै तीव्र असन्तुष्टि चुलिएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलले मुख्यमन्त्री कार्कीलाई लिएर हिँड्न नसक्ने बताएका छन् ।

सरकार विस्तार प्रक्रियामा सहभागी नभएका उनले संक्षिप्त कुराकानीका क्रममा भने, ‘उहाँलाई हाम्रो दल तथा गठबन्धनले बोकेर जाने अवस्था भएन  ।’

यस्तै पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पनि सरकार विस्तारको विषयमा असन्तुष्टि जनाइसकेका छन् । प्रस्तुत छ कांग्रेस संसदीय दलका नेता थापासँगको संक्षिप्त कुराकानी–

मन्त्रीमण्डल विस्तारमा आउनु भएन नि ?

– मन्त्रीमण्डल विस्तारमा आज आउन भ्याइएन/पाइएन ।

तीन जना पूर्व मुख्यमन्त्रीहरुले नै बहिष्कार गरेको कुरा छ । एमालेले त गर्ने नै भयो । गठबन्धन दल कांग्रेसबाट तपाई र नेकपा एकीकृत समाजवादीबाट पूर्वमुख्यमन्त्री राजेन्द्र राई पनि आउनु भएन नि ?

– हो, आइएन ।

किन नआउनु भएको हो ?

– कस्तो किन भनेको ?

तपाईंहरुले ‘बहिष्कार नै गर्नुभएको हो ?’ भनेर सोधेको ?

– बहिष्कार पनि होइन । दलसँग मुख्यमन्त्रीले सल्लाह गर्नुभएन । सल्लाह नभएपछि सल्लाह बिनाको काममा सहभागी हुनु राम्रो भएन नि त ।

तपाईंहरुसँग सल्लाह नै भएन ?

– हो, सल्लाह नगरीकन आफूखुसी मुख्यमन्त्रीले काम गर्नुभयो । त्यहाँ सहभागी हुन पनि मुख्यमन्त्रीबाट जानकारी भएन । त्यसले गर्दा म सहभागी हुन सकिनँ ।

आज सरकार विस्तार भएसँगै गठबन्धन नै परिवर्तन हुन्छ भन्ने विश्लेषण पनि सुरु भयो नि ?

– अब कोशी प्रदेशको राजनीति अस्तव्यस्त नै भयो नि । गठबन्धनले पनि थाम्न नसक्ने अवस्था भयो यहाँको राजनीति । अस्ति राष्ट्रियसभा चुनावले पनि त्यो देखाएको हो । गठबन्धन पनि रहेन । सांसद आफ्नो मर्यादामा रहेनन् । स्थानीय तहका पनि इमानदार भएनन् । त्यसले गर्दा यो गठबन्धनको कुरा चाहिँ अन्यौल नै छ  ।

के अब अर्को गठबन्धन बन्न सक्छ त ? अर्को सरकार बन्न सक्छ ?

– सरकार त के हुन्छ, थाहा छैन । अब कुरा हुन्छ नेताहरुसँग । नेताहरुबाट के कुरा आउँछ ! यसरी यस्तो तरिकाले मुख्यमन्त्रीले काम गर्नुभएको छ । त्यो काम गराई अनुसार अब दलले पनि, गठबन्धनले पनि सहयोग, समर्थन गरेर जाने अवस्था भएन नि त । आफ्नो हिसाबले काम गरिरहेका छन् । के के गर्नुपर्ने हो ? गठबन्धन दलसँग बस्नुपर्ने, सल्लाह गर्नुपर्ने, कुनै पनि काम भएन नि त । अन्दाधुन्द अध्यादेश ल्याएको छ । मन्त्रीमण्डल विस्तार हुन्छ, दलमा सल्लाह हुँदैन । सरकारले के गर्दैछ, दललाई जानकारी छैन । गठबन्धनलाई जानकारी हुँदैन । त्यस्तो हिसाबले त गठबन्धन आफ्नो ठाउँमा रहे पनि दलले सरकारलाई हेर्ने दृष्टिकोणमा फरक रहने अवस्था बन्यो अब ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार दलले बनाएकै होइन, स्वतन्त्र हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । अनि किन दललाई सोध्नु पर्यो त ?

– त्यो ठिकै छ त । दलले बनाएको होइन । विद्रोह गरेरै उहाँ मुख्यमन्त्री बन्नुभएको हो । अरु पनि भोलि कोही विद्रोह गरेर बन्न सक्छन् नि त, त्यस्तै कुरा गर्ने हो भने त । तर, सम्हालेर लानु पर्ने हो । उहाँ मुख्यमन्त्री हुनुभएको छ । उहाँले नै दललाई, गठबन्धनलाई सम्हालेर जानुपर्थ्यो । आफू सम्हालिएर काम जानुपर्छ । एकदमै वायुपंखी घोडाजस्तो दौडेको छ, दौडेको छ । कसैसँग सल्लाह छैन । भनेको पनि मान्नेवाला छैन । मै हुँ भन्ने हिसाबले काम गरेको देखियो । यसले उहाँलाई कति दिनसम्म सफल बनाउला, हामी हेर्दैछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप