बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हाँसोका छाल छुट्दा छुट्दै सकियो- सगरमाथावाला सिलवालको महासागरवाला ‘श्रीलंका स्मृति’

शनिबार, २७ माघ २०८०, १२ : ५२
शनिबार, २७ माघ २०८०

‘कलम’ र ‘लेखक दुनियाँ’का लेखक समेत रहेका नामी पत्रकार अशोक सिलवालले केही वर्षपछि आफ्नो कार्य क्षेत्र परिवर्तन गरेछन् । थाहा भयो, नेपाल घुम्न आउने विदेशी पर्यटकहरूका लागि मार्गदर्शक बन्न पुगेछन् उनी ।

नेपाल गाइडका रूपमा उनले हजारौँ विदेशीलाई पशुपति, बौद्ध, वसन्तपुर, भक्तपुर र पाटन लगायत दर्शनीय र ऐतिहासिक सम्पदास्थल घुमाउँदै तिनको सम्बन्धमा ऐतिहासिक र पुरातात्त्विक महत्त्व एवं वास्तुशिल्पबारे जानकारी दिइसकेका छन् ।

अशोकसँग मेरो पहिलो भेट एक लेखकका रूपमा राजधानी दैनिकको कार्यालयमा भएको हो, जहाँ उनी विचार पृष्ठका हर्ताकर्ता थिए । ४० वर्ष अल इन्डिया रेडियोमा काम गरेर फर्किएको मलाई केही न केही लेख्न खसखस लाग्नु स्वाभाविक हो र म पत्रपत्रिकामा लेखहरू छपाइरहन्थेँ ।

आपसी परिचयपछि मैले लेख बुझाएँ । ‘लेख्दै गर्नुस्,’ उनले ससम्मान भने । अशोकले भनेअनुसार मैले पनि लेखिरहेँ, उनले पनि न्याय गरिरहे । यसरी त्यति बेलाको परिचय र सन्निकटताले आज मित्रताको एउटा शीतलदायी वृक्षको रूप लिएको छ । विगत १७–१८ वर्षको अटूट मित्रताकालमा हामीले अनेक अवसरमा विभिन्न रूपमा एकअर्कालाई भेटेका छौँ ।

एक अभिन्न मित्रका रूपमा एक दिन उनी मेरो मनोबल बढाउन र मप्रति नैतिक समर्थन जनाउन भनी राजधानीको एउटा अस्पतालमा उपहारको पोको बोकेर आएका थिए, जहाँ मेरी पत्नी जीवन–मरणको दोसाँधमा थिइन् । अन्योलपूर्ण समय बिताइहेको मलाई उनको उपस्थितिले ढाढस मिलेको थियो ।

वैशाख १२ को विनाशकारी भूकम्प र हिमपहिरोपछि मानवविहीन बनेको लाङटाङ क्षेत्रमा पहिलो पत्रकारका रूपमा पैदलयात्रा गरी देखे–भोगेका कहालीलाग्दो अवस्था र मृत्युपछि पनि जीवनको उज्यालोतिर लम्कँदै गरेका लाङटाङबासीको भावनालाई समेटेर सिलवालले ‘घर फर्किरहेका मान्छे’ शीर्षकको वृत्तचित्र तयार गरेका थिए ।

लगत्तै उनले अर्को वृत्तचित्र बनाएका थिए, लाङटाङ अपडेट : वेकिङ एन्ड वाकिङ । पछिल्लो वृत्तचित्रले विपत्तिपछि लाङटाङमा गएको पहिलो विदेशी पदयात्रीहरूको प्रेरणादायी अनुभवलाई समेटेको छ । त्यसलगत्तै समग्र लाङटाङबासीको तर्फबाट लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले अशोकलाई लाङटाङ सद्भावना दूतको उपाधिसहित सम्मान समेत गरेको थियो । 

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको अडिटोरियममा ती वृत्तचित्रको प्रदर्शन हुँदा म पनि उपस्थित थिएँ । अशोकले निर्माण गरेका ती वृत्तचित्रले लाङटाङको वियोग र पुनर्निर्माणको कथा त भन्छ नै, हिमप्रदेशको सुन्दरता नदेखेको मधेसको भूमिपुत्र, त्यसमाथि दिल्लीको शुष्क क्षेत्रमा दशकौँ बिताएर आएको म त वृत्तचित्रमा कैद भएका लाङटाङको सुन्दरता हेरेर मन्त्रमुग्ध नै भएँ । एकपल्ट लाङटाङ जाउँजाउँ लागेर आयो । तर के गर्नु, आफू परेँ मुटुको रोगी । इच्छा भएर पनि तो उच्च हिमाली भेगमा पुग्ने रहर दमन गरी बसेँको छु ।

अशोकसँग बसेर कतिपल्ट चिया–कफी खाँदै घण्टौं बात मारियो, सम्झिसाध्य छैन ।

हाम्रो पछिल्लो भेट, केही दिनअघि श्रीपशुपतिनाथको प्रांगणमा भयो । पत्रकारिता जगत् र पुस्तक लेखन तथा पर्यटन क्षेत्रमा समेत नाम कमाएका अशोक पशुपति क्षेत्र विकास कोषमा विज्ञका रूपमा नियुक्त भएपछि उनलाई बधाई दिन र कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्न त्यहाँ पुगेको थिएँ म ।

भेटको क्रममा भलाकुसारी र शुभकामना अर्पणपछि निस्कन लाग्दा उनले उपहारस्वरूप एउटा पुस्तक दिए, ‘श्रीलंका स्मृति’ । पुस्तक केही वर्षअघि, श्रीलंकाको पुरानो पत्रकार संस्था– श्रीलंका प्रेस एसोसिएसनको वार्षिक उत्सवमा विशेष अतिथिका रूपमा सहभागी हुँदाको उनको यात्रा स्मरण रहेछ । 

भर्खरैको एक दिन फुर्सदका बेला उनका कृतिका पाना पल्टाउन थालेँ, मेरो मुस्कानले हाँसोको लहराको रूप पाउन थाल्यो । एकजना नियात्रीका रूपमा मेरा पनि केही लेख छापिएका छन् तर अशोकको ‘श्रीलंका स्मृति’ पढ्ने क्रममा हाँसोका कति छाल छुटे भन्न सक्दिनँ । उनका छोटा–छोटा वाक्यहरूले एक त त्यसै मन प्रशन्न पार्छन्, झन् तीभित्रको हास्यको रस चुस्न पाउँदा त पुस्तक छाड्ने इच्छा नै गर्दैन । सगरमाथाको देशबाट सागरको देश, भूपरिवेष्ठित देशबाट सागरपरिवेष्ठित देश, बुद्धको देशबाट बुद्धप्रेमी देश पुगेका अशोक सिलवालको रोचक लेखन शैलीको स्वाद पाउन चाहनेहरूको जिज्ञासा यस सानो लेखले मेटाउन सक्दैन । 

एकजना युवतीले अशोकलाई कोलम्बोको सिटी होटेलमा अम्लेटका लागि दिएको अर्डरले कसरी उनलाई ‘कफी विथ केटी’ र उनको परिवारसित मित्रताको अवसर प्रदान गरायो, त्यो रोचक प्रसंगको आनन्द उठाउन त किताब पढ्नैपर्ने हुन्छ । अनि मानिसको हुलियाले कति बेला संकट उत्पन्न गर्दोरहेछ भन्ने प्रसंग पनि कोलम्बो विमानस्थलमा ओर्लेपछि भोग्नुपरेको तनावपूर्ण स्थितिको वृत्तान्त अशोकले जति रोचक ढंगबाट प्रस्तुत गरेका छन्, त्यो पनि पठनीय छ ।

विमानभित्र पस्दा परिचारिकाहरूले स्मार्ट ढंगबाट गर्ने नमस्कारलाई ‘प्लास्टिक मुस्कान’ बताउने अशोकले स्वदेशमा नेपाल गाइडका रूपमा भेटेका पर्यटकहरूबाट नेपालको सम्बन्धमा विभिन्न किसिमका विचार सुन्ने अवसर पनि पाएका रहेछन् । कसैले नेपाललाई ‘मनपर्ने खानाको देश’, त कसैले ‘टेन्सन फ्री गुड स्लिप पाइने देश’, कसैले ‘धुवाँको देश (चुरोट खानेहरू र स–साना होटेल र चिया पसलहरूबाट निस्कने दाउरोका धुवाँ देख्दा)’ त कसैले ‘सुन्दर झ्यालहरू भएका घरहरूको देश’ बताए भने स्पेनबाट आएकी एक युवतीको दृष्टिमा ‘नेपालमा धर्मका लागि मानिस होइन, मानिसका लागि धर्म रहेछ’ भनी बताएका वृत्तान्त पनि उत्तिकै रोचक ढंगले प्रस्तुत गरिएको छ । उनी विवाहित छन् भन्ने थाहा पाएकी केटी त्यस कुराबाट कति मर्माहत भइन् त्यसको प्रसंग भने खुलाउन लाज मानेजस्तो लाग्यो ।

तर, श्रीलंका प्रेस एसोशिएसनको वार्षिक उत्सवमा विशेष अतिथिका रूपमा सहभागी हुन कोलम्बो पुगेका अशोकको यात्रा सूचीमा त्यो स्थल पनि राखिएको थियो ‘जहाँ रावणको दरबार थियो, जहाँ पुष्पक विमान ल्याण्ड हुन्थ्यो रे ।’ रामायणकालसित सम्बद्ध घटनाहरूलाई सम्झाउने दृश्यहरू हेरेपछि अशोकलाई घरको दाल, भात, तरकारी र परिवारको सम्झना हुन थाल्यो र साता लामो यात्रा पूरा गरी स्वदेश फर्के, तर श्रीलंका यात्रा र विभिन्न पात्रहरूको स्मृतिले उनलाई ‘श्रीलंका स्मृति’ लेख्न लगायो । 

यो कुरा अरू विस्तारमा थाहा पाउन त ‘श्रीलंका स्मृति’ समाउनै पर्छ, पढ्नै पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाशप्रसाद उपाध्याय
प्रकाशप्रसाद उपाध्याय
लेखकबाट थप