बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
बजेटको अर्धवार्षिक मूल्यांकन

राष्ट्रिय गौरवका आयोजनाको बेहाल, ६ महिनामा २३ प्रतिशत मात्रै बजेट खर्च

सोमबार, २९ माघ २०८०, १७ : ५६
सोमबार, २९ माघ २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च स्थिति बेहाल देखिएको छ । साउनदेखि पुस मसान्तसम्मको अवधिमा १९ वटा राष्ट्रिय गौरवका आयोजनाको खर्च स्थिति निराशाजनक अवस्थामा देखिएको हो ।

यस अवधिमा विनियोजित कूल बजेटको २३.६१ प्रतिशत मात्रै खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालू वर्षको बजेट अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार विनियोजित बजेटको २३ प्रतिशत मात्रै बजेट खर्च भएको हो ।

चालू वर्षका लागि अर्थ मन्त्रालयले १९ वटा राष्ट्रिय गौरवका आयोजनाका लागि ६५ अर्ब ६४ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये ६ महिना घर्किसक्दासम्ममा १५ अर्ब ५० करोड ८ लाख रुपैयाँ मात्रै बजेट खर्च भएको छ ।

यो अवधिमा पशुपति क्षेत्र विकास कोषले मात्रै लक्ष्यभन्दा धेरै बजेट खर्च गर्न सकेको छ । अर्धवार्षिक समीक्षाको अवधिसम्ममा कोषले कूल विनियोजित बजेटको ८० प्रतिशत खर्च गरेको छ । कोषका लागि यो वर्ष २१ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । जसमध्ये, १६करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको हो ।

यसपछि, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको ७३ प्रतिशत बजेट खर्च भएको छ । यो आयोजनाका लागि भनेर चालू वर्षमा ४ अर्ब १७ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब ७ करोड ९ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै, बबई सिँचाइ आयोजनाले ७२.८३ प्रतिशत बजेट खर्च गरेको छ । यो आयोजनाका लागि चालू वर्षमा ६३ करोड १ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये पुस मसान्तसम्ममा ४५ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।

१ अर्ब १७ करोड १० लाख रुपैयाँ बजेट पाएको महाकाली सिँचाइ आयोजनाको बजेट खर्च ६१.७२ प्रतिशत छ । यो आयोजनाले ६ महिनाको अवधिमा ७२ करोड २८ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यसबाहेक, लुम्बिनी विकास कोषको बजेट खर्चको स्थिति ५० प्रतिशत छ ।

यो आयोजनाले चालू वर्षका लागि ४५ करोड रुपैयाँ बजेट पाएकोमा २२ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । यसपछि, हुलाकी राजमर्ग आयोजनाको बजेट खर्च स्थिति ४४.३५ प्रतिशत छ । यो आयोजनाले चालू वर्षमा ३ अर्ब ४८ करोड ९० लाख रुपैयाँ बजेट पाएको थियो । यसमध्ये, १ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।

चालू वर्षको ६ महिनासम्मको अवधिमा मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपालले ०.४७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यसपछि, सिक्टा सिँचाइ आयोजनाले २४.८९ प्रतिशत, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको बजेट खर्च ३४.३५ प्रतिशत छ ।

भेरी बबई डाइभर्सन बहुउद्देशिय आयोजनाको बजेट खर्च २३ प्रतिशत, मेलम्ची खानेपानी आयोजनाको ३२.७२ प्रतिशत, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको १५.९६ प्रतिशत, काठमाडौँ–तराई द्रुतमार्ग १९.३७ प्रतिशत खर्च भएको छ । यसबाहेक, पुष्पलाल पहाडी राजमार्गको बजेट खर्च ३७.११ प्रतिशत, उत्तर दक्षिण राजमार्गको ३३.८० प्रतिशत, रेल मेट्रो तथा मोनो रेल विकास आयोजनाको ३४.९८ प्रतिशत खर्च भएको छ ।

यस अवधिमा सासेक विद्युत तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाको बजेट खर्च ०.०७ प्रतिशत हुँदा पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको खर्च शून्य–शून्य प्रतिशत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप