सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित

सोमबार, २५ जेठ २०८३, ११ : ४३
सोमबार, २५ जेठ २०८३

सारांश

  • फ्लोरेन्टिनो पेरेज रियल मड्रिडको अध्यक्षमा थप चार वर्षका लागि निर्वाचित भएका छन्।
  • पेरेजले आफ्ना प्रतिद्वन्द्वी एनरिके रिकेल्मेलाई ६५ प्रतिशत मतले पराजित गर्दै यो जित हासिल गरेका हुन्।
  • पेरेजको नयाँ कार्यकाल सन् २०३० सम्म रहने छ र यससँगै जोसे मोरिन्होलाई क्लबमा फिर्ता ल्याउने बाटो खुलेको छ।

मड्रिड। आइतबार सम्पन्न क्लबको निर्वाचनमा जित हासिल गर्दै फ्लोरेन्टिनो पेरेज थप चार वर्षका लागि रियल मड्रिडको अध्यक्षमा निर्वाचित भएका छन्। 

रियल मड्रिडको क्लब टेलिभिजन च्यानलले पेरेजले आफ्ना प्रतिद्वन्द्वी एनरिके रिकेल्मेलाई पराजित गरेको समाचार सार्वजनिक गरेलगत्तै मध्यरातमा आयोजित विजय उत्सवमा उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गरे। सम्बोधनका क्रममा उनले ‘रियल मड्रिडले थप उपाधिहरू जितोस् भन्नका लागि हामी लगातार काम गरिरहने छौँ’ भन्दै प्रतिबद्धता जनाए।

निर्वाचन समितिको प्रतिवेदन अनुसार शतप्रतिशत मतगणना सकिँदा फ्लोरेन्टिनो पेरेजको प्यानलले २१ हजार ७४१ मत प्राप्त गर्‍यो, जुन कुल सदर मतको ६५ प्रतिशत हो। अर्कातर्फ एनरिके रिकेल्मेको नेतृत्वमा रहेको उम्मेदवारीले ११ हजार ८१४ मत अर्थात् ३५ प्रतिशत मात्र प्राप्त गर्न सक्यो। 

यो स्पष्ट जितसँगै पेरेजको नयाँ कार्यकाल सन् २०३० सम्म रहने छ र अर्को चुनावी चक्रका लागि त्यतिन्जेल पर्खिनुपर्ने छ। भाल्देबेबासमा गरिएका विभिन्न मिडिया एक्जिट पोलहरूले पनि पेरेजकै पक्षमा दुई तिहाइ मत आउने प्रक्षेपण गरेका थिए। पेरेजले सन् २००६ देखि २००९ को अवधिबाहेक सन् २००० देखि नै लगातार क्लबको नेतृत्व गर्दै आएका छन्।

यो जित रियल मड्रिडमा फ्लोरेन्टिनो पेरेजको तेस्रो चुनावी विजय हो। उनले सन् १९९५ मा गरेको आफ्नो पहिलो प्रयास रामोन मेन्डोजाका विरुद्धमा गुमाएका थिए। तर पछि सन् २००० मा हुलाक मत निर्णायक बनेपछि लोरेन्जो सान्जलाई ५५ प्रतिशत मतले हराउँदै उनी विजयी भए। त्यसपछि सन् २००४ को निर्वाचनमा उनले ९० प्रतिशतभन्दा बढी मत ल्याएर सानदार जित दर्ता गरेका थिए।

यो विजयसँगै पेरेजका लागि पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होलाई दोस्रो कार्यकालका लागि मड्रिड फिर्ता ल्याउने बाटो खुलेको छ। सन् २०१० देखि २०१३ सम्म मड्रिडको प्रशिक्षक रहेका मोरिन्होलाई पेरेजले चुनावी अभियानका प्रचार सामाग्रीहरूमा पनि विशेष स्थान दिएका थिए। 

पेरेजले ‘विश्वकै उत्कृष्ट प्रशिक्षकहरूमध्येका एक जोसे मोरिन्हो क्लबमा फर्किने तय भएकोमा आफूलाई गर्व लागेको’ बताएका छन्। यसका साथै पेरेजले लिभरपुलका सेन्टर ब्याक इब्राहिमा कोनाटे र इन्टर मिलानका राइट ब्याक डेन्जेल डमफ्रिजलाई अनुबन्ध गर्न चाहेको उल्लेख गरेका छन्। उनले यसै साता १५ करोड युरो अर्थात् १७ करोड ३० लाख डलरभन्दा बढी मूल्यको अर्को एउटा ठुलो खेलाडी अनुबन्धको घोषणा गर्ने वाचा समेत गरेका छन्।

हाल ७९ वर्ष पुगेका पेरेजले सन् २००० देखि २००६ सम्म र सन् २००९ देखि अहिलेसम्म मड्रिडको नेतृत्व सम्हाल्दै आएका छन्। उनको नेतृत्वमा मड्रिडले कीर्तिमानी १५ युरोपियन कपमध्ये ७ वटा उपाधि जितेको छ। फोर्ब्सका अनुसार मड्रिड पछिल्लो पाँच वर्षदेखि विश्वकै सबैभन्दा मूल्यवान् क्लबका रूपमा रहँदै आएको छ। 

एउटा अन्तर्राष्ट्रिय निर्माण कम्पनी समेत चलाउने पेरेजलाई विगत २० वर्षभन्दा बढी समयदेखि मड्रिडको अध्यक्षताका लागि कसैले चुनौती दिएको थिएन। उनले सन् २००९, २०१३, २०१७, २०२१ र २०२५ मा भएका निर्वाचनहरूमा निर्विरोध नेतृत्व पाएका थिए।

यद्यपि, पछिल्लो समय पेरेजका लागि केही निराशाजनक चुनौतीहरू पनि थपिएका छन्। यूईएफए च्याम्पियन्स लिगको प्रतिद्वन्द्वीका रूपमा ल्याउन खोजिएको उनको ‘सुपर लिग’ योजना असफल भएको थियो भने स्टार स्ट्राइकर किलियन एम्बाप्पेलाई क्लबमा भित्र्याए पनि मड्रिडले लगातार दुई सिजनदेखि कुनै उपाधि जित्न सकेको छैन। 

यसबाहेक, गत वर्ष क्लबको १० प्रतिशत हिस्सा निजी लगानीकर्ताहरूलाई बेच्ने विचार अघि सारेपछि पेरेजको आलोचना भएको थियो। यो कदमले क्लबको १२४ वर्ष पुरानो सदस्य-स्वामित्व प्रणालीको मोडललाई भत्काउने भन्दै विरोध भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप