बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
विभाजित राजावादी

दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने

मङ्गलबार, ०१ फागुन २०८०, ११ : ४४
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका साथसाथै राप्रपाको संस्थागत सहभागिता नरहने भएको छ । 

प्रसाईंले मंगलबार राजधानीको भृकुटीमण्डपमा कार्यक्रमको आयोजना गरेका छन् । उक्त कार्यक्रममा प्रसाईंले पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् । तर,  पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ । पूर्वराजा शाह दुई दिनअघि नै चितवन पुगेका छन्। उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ।  

प्रसाईंले पूर्वराजालाई बाराको सिमरामा भेटेर कार्यक्रमको निम्ताका साथै समर्थन खोजेका थिए । सो भेटपछि उनले पूर्वराजासँग अर्थपूर्ण संवाद भएको समेत बताएका थिए । 

यस्तै उनले राजतन्त्र फर्काउनका लागि फागुन १ मा कार्यक्रम गरेर आन्दोलन समेत गर्ने भनेर राप्रपाका नेताहरुसँग समर्थक जुटाउने प्रयास गरेपनि असफल भएका छन् । प्रसाईले सोहीअनुसार सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर समर्थन खोजेका थिए । यस्तै उनले कार्यक्रममा समेत सहभागी हुन आग्रह गरेपनि उनले अस्वीकार गरेका थिए । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रम र आन्दोलनमा पार्टीको संस्थागत सहभागिता नरहेको बताए । उनले अध्यक्ष लिङ्देन मंगलबार आयोजित प्रसाईंको कार्यक्रममा सहभागी हुने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । अहिलेकै अवस्थामा संस्थागत सहभागिता नरहेपनि राजतन्त्र फर्काउने आन्दोलनमा नैतिक समर्थन भने रहने उनको भनाइ थियो । 

तर अर्को राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने साईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गर्दै आएका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई छ । 

यस्तै केही हिन्दुवादी संगसंगठन र राप्रपाकै केही नेताहरुले पनि व्यक्तिगत रुपमा प्रसाईंलाई सघाउने बताउँदै आएका छन् । प्रसाईंले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् भने मिटरब्याज र लघुवित्त पीडितको मुद्दा पनि बोकेका छन् । प्रसाईंको राजतन्त्र फर्काउने एजेण्डा भएपनि राप्रपा भने संस्थागत रुपमा उनको गतिविधिप्रति सशंकित बन्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप