बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
होडबाजीमा राजावादी

दुर्गा प्रसाईंको सक्रियताले राप्रपा सशंकित

शुक्रबार, २६ माघ २०८०, २३ : ०५
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । फागुनदेखि आन्दोलनमा छुट्टाछुट्टै आन्दोलनमा उत्रिन लागेका दुई समूहमा विभक्त राजावादीहरू जस लिने होडबाजीमा उत्रिएका छन् । स्थापनाकालदेखि नै राजसंस्थाको पक्षमा उभिएको पूर्वपञ्चहरुको बाहुल्यता रहेको राप्रपाले आन्दोलनमा जानुअघि सरकारसँग माग पत्र पेस गर्न लागेको छ । आन्दोलनमा धार्मिक संघसंस्था, व्यवसायी, मजदुर, बौद्धिक वर्ग लगायत सर्वपक्षलाई समेट्ने गरी राप्रपाले तयारी गरेको छ । तर राप्रपाले मिति भने यकिन गरिसकेको छैन ।

यस्तै मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भने फागुन १ देखि नै आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । गत मंसिरमा समेत आन्दोलन गरे पनि सफल हुन नसकेका उनले फेरि आन्दोलन चर्काउने उद्घोष गरेका हुन् । 

आन्दोलनका तयारीकै क्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि राप्रपाका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणालगायतसँग भेटघाट गरेर उनले आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरेका छन् । तर, दुर्गा प्रसाईंको यही सक्रियताले राप्रपाको संस्थापन पक्ष भने सशंकित रहेको छ । 

स्मरणीय के छ भने राजा फर्काउने दाबीका साथ गरिने आन्दोलनमा विगतदेखि नै होडबाजी हुने गरेको छ । यहीबिचमा दुर्गा प्रसाईंले गर्ने आन्दोलनमा राप्रपाकै राजेन्द्र लिङ्देन इतर पक्षधर भने लचक देखिँदै आएको छ । तर, लिङ्देनसहित उनी निकटस्थ नेताहरूले भने दुर्गालाई साथ दिने पक्षमा छैनन् । 

प्रसाईंले आन्दोलनमा सहभागी हुन पूर्वराजा शाह, पूर्वप्रधानमन्त्रीसमेत रहेका लोकेन्द्रबहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी लगायत विभिन्न धार्मिक संघसंस्थाका व्यक्तिहरूलाई भेटेर साथ दिन र सहभागिता जनाउन भन्दै निम्तो दिएको बताइएको छ ।

 माघ १५ गते बाराको सिमरामा ज्ञानेन्द्रसँगको भेट अर्थपूर्ण भएको प्रसाईंको भनाइ छ ।  देशमा देखिएको बेथिति, भ्रष्टाचार लगायत विषयमा अर्थपूर्ण छलफल भएको उनको दाबी छ । यस्तै माघ २२ गते पूर्वप्रधानमन्त्री एवं राप्रपाका नेता चन्दसँग भेट गरी आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए । 

 यस्तै शाहीकालका मन्त्री केशरबहादुर विष्टले पनि सिमरामै ज्ञानेन्द्रसँग भेट गरेका थिए । उनले राजा फर्काउने आन्दोलनमा प्रसाईंसँग सहकार्य हुनसक्ने बताए । ‘नेपालमा अभिभावका रूपमा एउटा बलियो संस्था चाहिन्छ भन्ने पक्षमा छौँ । अभिभावका रूपमा राजसंस्थाबाहेक अन्य हुन सक्दैन । राजसंस्था फर्काउन पक्षधर शक्तिहरूसँग सहकार्य गर्न तयारीमा छौँ’, उनले भने ।

एउटै एजेन्डा भए पनि प्रसाईं र लिङ्देनबीच भने राम्रो सम्बन्ध नरहेको प्रसाईंले केही दिनअघि दिएको अभिव्यक्तिले नै संकेत गर्छ । उनले रातोपाटीसँगको कुराकानीमा राजेन्द्र लिङ्देनले राजा फर्काउने नसक्ने दाबी गरेका थिए । लगत्तै उनले राजेन्द्र लिङ्देनबाहेक उनका पार्टीमा आबद्ध नेताहरूसँग पनि भेटघाट गरेका हुन् । 

यसैबिच राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले फागुनबाट सुरु हुने आन्दोलनको सम्पूर्ण नेतृत्व राप्रपाले गर्ने दाबी गरे । आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आसन्न आन्दोलनको तयारी, सरकारसमक्ष पेस गरिने माग पत्र, समान विचार भएकासँग सहकार्य  लगायत विषयमा छलफल भएको श्रेष्ठले बताए । यसलाई अन्तिम रूप दिन २८ गते राप्रपाले बैठक बोलाएको छ । राप्रपालाई कमजोर बनाउने उद्देश्य कसैको भए त्यसले आन्दोलनलाई नै क्षति पुग्ने उनले चेतावनी दिए ।

‘राजसंस्थाको मुद्दा बोक्ने एक मात्र  वैधानिक शक्ति  राप्रपा हो । राप्रपालाई कमजोर बनाउने कसैको पनि उद्देश्य छ जस्तो लाग्दैन । वैधानिक शक्तिलाई कमजोर बनाउने, नेतृत्वलाई खुइल्याउनेतर्फ कोही गयो भने समग्रमा आन्दोलनलाई नै क्षति पुग्छ,’ उनले भने, ‘सार्वजनिक खपतका लागि राप्रपालाई कमजोर बनाउने कसैले उद्देश्य राखेको छ भने त्यो ठुलो भुल हुनेछ । राप्रपाले नै समग्र आन्दोलनको अगुवाइ लिन्छ ।’

राप्रपाभित्र पछिल्लो समय देखिएको मतभेद सम्बन्धमा उनले विगतको जस्तो कमजोरी अहिले नदोहोरिने जिकिर गरे । राजा फर्काउने आन्दोलन भनिए पनि त्यस्तो खालको कुनै पनि आन्दोलनमा स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहको भने प्रत्यक्ष संलग्नता देखिने गरेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप