सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रेम दिवस

प्रेमका मसिहा भ्यालेन्टाइन र ओशो

बुधबार, ०२ फागुन २०८०, १५ : ३७
बुधबार, ०२ फागुन २०८०

प्रेम महसुस गरिने चिज हो । यो संसारमा मान्छेहरू प्रेम अभावमा प्रताडीत छन् । यहाँ सम्बन्धहरू प्रेमको अभावमा टुट्छन्, बिग्रन्छन् । यहाँ मान्छेहरू प्रेमको खोजीमा भौँतारिरहेका छन् । यो संसार प्रेमका भिखारीले भरिएको छ । यही प्रेमको खोजले मान्छेहरूलाई जंगल पु¥याउँछ, गुफाहरूमा पु¥याउँछ । आश्रमहरूमा पु¥याउँछ । प्रेमको खोज पूरा हुन नसक्दा मान्छेहरू असन्तोषले भरिन्छन्, तनावमा पर्छन्, हिंसा र क्रोधको भुमरीमा पर्छन् । 

संसारमा मान्छेले सबैभन्दा बढी अरुबाट आशा गर्ने चिज हो प्रेम । मलाई लाग्छ, संसारमा मान्छेले सजिलै अरुलाई नदिने चिज भनेको पनि प्रेम हो । यहाँ सबै प्रेमका भोका र प्यासा छन् । मान्छे अरुलाई दिन जान्दैन, दिन खोज्दैन प्रेम तर अरुबाट पाउन चाहन्छ । यहाँ घरघरमा, बस्तीहरूमा प्रेमको खडेरी लागेको छ । यहाँ घरघरमा प्रेमको अनिकाल छ । श्रीमान्ले श्रीमतीसँग प्रेम मागिरहेको छ । श्रीमतीले श्रीमान्सँग प्रेम मागिरहेकी छन् । बाउले छोरासँग प्रेम, आमाले छोरीसँग र दाइले भाइसँग प्रेम मागिरहेका छन् । सारा संसार प्रेमको अभावमा तड्पिरहेको छ । 

प्रेमकै प्रसंगमा अनेक साहित्य लेखिएका छन्, संसारभरि चलचित्र बनिरहेका छन् । यो संसार प्रेमकै सेरोफेरोमा घुमिरहेको छ । आश्चर्य ! मान्छेमा प्रेम भने घट्दै गइरहेको छ । मान्छे प्रेमको खोजीमा छ, तर उसले पाइरहेको छैन । यस पङ्क्तिकार पनि प्रेमको खोजीमा छटपटिँदै विभिन्न आध्यात्मिक केन्द्रहरू हुँदै काठमाडौँमा रहेको ओशो तपोवन अनि स्वामी आनन्द अरुणको चरणकमलमा पुगेको स्मरण गर्न चाहन्छ । 

१४ फेब्रुअरीलाई विश्वभर प्रेम दिवसका रूपमा मनाइन्छ । यस दिवसको सुरु एक प्रेमका सन्देशवाहक सन्त भ्यालेन्टाइनको बलिदानबाट भएको थियो । इटालीको रोममा तेस्रो शताब्दीमा भ्यालेन्टाइन नामका एक पादरी थिए । सन् २२६ मा इटालीमा जन्मिएका उनी संसारमा प्रेम बढाउने मान्यता राख्थे । उनका लागि प्रेम नै जीवन थियो । तर त्यही सहरका राजा क्लाउडियसलाई त्यो कुरा राम्रो लाग्दैनथ्यो । राजालाई लाग्थ्यो, प्रेम र विवाहले पुरुषको बुद्धि र शक्ति दुवै खतम गर्छ । त्यस राज्यमा कुनै सैनिक र अधिकारीले विवाह गर्न पाउँदैनथे, तर सन्त भ्यालेन्टाइनले राजा क्लाउडियसको यस आदेशको विरोध गरे र रोमका मान्छेलाई प्रेम र विवाहका लागि प्रेरित गरे । उनले कैयौँ अधिकारी र सैनिकहरूको विवाह पनि गराए । यस कुराबाट क्रोधित भएका राजाले भ्यालेन्टाइनलाई ४३ वर्षको उमेर (१४ फेब्रुअरी, २६९) मा फाँसी दिए । त्यस दिनदेखि हरेक वर्ष यस दिनलाई प्रेम दिवसका रूपमा मनाइन्छ । भनिन्छ, भ्यालेन्टाइनले आफ्नो मृत्युको समय जेलरकी नेत्रहीन छोरीलाई आफ्नो आँखा दान दिए । भ्यालेन्टाइनले तिनलाई लेखेको पत्रको अन्तिममा उल्लेख थियो, ‘तिम्रो भ्यालेन्टाइन ।’ 

२१औँ शताब्दीको तेस्रो दशकमा भारतमा अर्का एक प्रेमका महान् बादशाह ओशोको जन्म भयो, मध्यप्रदेश राज्यको कुछवाडामा । ओशोले जीवनभर प्रेमको व्याख्या गरे । प्रेमको सन्देश बाँडे । यस पङ्क्तिकारले ती महान् प्रेमका मसिहा ओशोले व्यक्त गरेका प्रेमका शब्दहरू यहाँ उल्लेख गर्न चाहन्छ । ओशो भन्छन्, ‘प्रेम अलौकिक घटना हो । यो पत्थरजस्तो हृदयमा थोरै आद्रता जब आउँछ, त्यसलाई प्रेम भनिन्छ । जब यो पृथ्वीमा स्वर्गको सानो किरण उत्रिन्छ, त्यसलाई प्रेम भनिन्छ । जब यो अँध्यारोमा प्रकाशको सानो किरण आउँछ त्यही प्रेम हो । प्रेमको अर्थ हुन्छ, म कसैको जीवनदेखि आनन्दित हुन्छु अकारण । प्रेमको कुनै कारण हुँदैन । कारण भयो भने त्यहाँ मोह छ । कुनै अकारण प्रेम उत्पन्न हुन्छ भने त्यो प्रेम हो । प्रेम त आकाशबाट आउँछ । पृथ्वीमा यसको जरा नै हुँदैन । प्रेममा त मोहको नामोनिसान हुँदैन । प्रेमले अरुलाई कब्जा गर्न चाहँदैन अनि आफूलाई पनि कब्जा गर्न दिँदैन ।’ 

ओशोको दृष्टिमा प्रेम दुई व्यक्तिबिच स्वतन्त्रताको आदान–प्रदान हो । न कोही कसैको मालिक हो, न कोही कसैको दासी हो । यदि कसैको जीवनमा प्रेम उदय भयो भने ऊ मुक्त हुन्छ । प्रेम मुक्तिदायी घटना हो । यही प्रेमलाई जिससले र्ईश्वर भनेका छन् । बुद्धले ध्यानको अन्तिम परिणाम भनेका छन् । 

ओशोका अनुसार, प्रेम पाप हुन सक्दैन । यदि कसैको जीवनमा क्रोध, ईष्र्या, वैमनश्यता र जलन छ भने उसको प्रेममा प्रदूषण छ । व्यक्तिमा भएको क्रोध, ईष्र्या, जलन हट्यो भने प्रेम उत्पन्न हुन थाल्छ । जीवनले दिएको प्रेम गर्ने अवसरलाई मान्छेले खेर फाल्नु हुँदैन । प्रेमबाट भोगी पनि वञ्चित हुन्छ र संसारबाट भागेको सन्न्यासी पनि वञ्चित हुन्छ प्रेमबाट । जीवनलाई समग्रतामा जिउनुपर्छ । जीवनका सारा रङहरूलाई समेट्दै जीवन जिउनुपर्छ । यो संसारमा प्रेमबिनाको जुनसुकै सम्बन्ध बनाउनुस्, त्यो सम्बन्ध सतही हुन्छ । 

प्रेमबिनाको विवाहतर्फ संकेत गर्दै ओशो भन्थे— विवाह र वेश्यागमनमा म कुनै फरक देख्दिनँ । ओशो यति कठोर सत्य बोल्थे, जसले गर्दा सामाजिक मान्यताहरू हल्लिन्थे । ‘विवाह गर्नुअघि स्त्री र पुरुष तीन–चार वर्षसँगै बस्नुपर्छ र एक–अर्काका भावना, स्वभाव बुझ्नुपर्छ अनि यो व्यक्तिसँग जीवन जिउन सहज हुन्छ भन्ने दुवैलाई लागेमा अनि दुवैमा एक–अर्काप्रति प्रेम कायम रहेमा मात्र विवाह गर्नुपर्छ,’ ओशोको भनाइ छ, ‘विवाह गर्न कानुनी रूपमा बढी जटिलता हुनुपर्छ । विवाह गर्ने अनुमति प्रेम जोडीले सजिलै पाउनु हुँदैन, तर सम्बन्ध विच्छेद एकदम सजिलोसँग हुने कानुनी व्यवस्था हुनुपर्छ ।’ 

ओशोका अनुसार, अकारण र बेसर्त जब प्रेम आफ्नो शुद्धतामा पैदा हुन्छ तब प्रेम मन्दिर बन्छ । जब प्रेम आफ्नो अशुद्ध रूप अर्थात् वासनाका रूपमा, शोषण र हिंसाको रूपमा, ईष्र्या र द्वैषका रूपमा प्रकट हुन्छ तब प्रेम कारागार बन्छ । कारागारको अर्थ हुन्छ, जसबाट मान्छे बाहिर निस्कन चाहन्छ, तर निस्कन सक्दैन । जुन बन्धन जस्तो बोझिल बन्छ । जसले मान्छेलाई डुबाउँछ । जसका कारण मान्छे मुक्त हुन तड्पिन्छ तर मुक्त हुन सक्दैन । असली प्रेम त मन्दिर जस्तो हुन्छ । मान्छे त्यसभित्र आउन वा बाहिर पनि निस्कन सक्छ सजिलै । भित्र आउन जति स्वतन्त्रता हुन्छ, बाहिर निस्कन उति नै स्वतन्त्रता हुन्छ । मन्दिरबाट मान्छे बाहिर जान चाहँदैन तर बाहिर निस्कन स्वतन्त्रता हुन्छ । 

प्रेम शरीरको आकर्षण होइन दुई मनबिचको मिलन हो भन्ने ओशोको भनाइ छ । उनका अनुसार, प्रेम अन्त्यमा त दुई आत्माको मिलन बन्छ । जुन प्रेममा परमात्माको दर्शन हुन्छ, त्यो मन्दिर हो । प्रेम कारागार भएका कारण साधुहरू प्रेमबाट भागेका छन् । सारा दुनियाँमा धर्मले सिकाएको छ प्रेमबाट बच । अधिकांश मान्छेहरू प्रेममा डुब्छन् अनि नष्ट हुन्छन् । २१औँ शताब्दीका रहस्यदर्शी ओशोले प्रार्थना प्रेमकै रूप हो भनेका छन् । त्यस कारण ओशोले संसारबाट भाग भन्दैनन् । किनकि आफ्नो आत्मक्रान्ति नगरीकन यस संसारबाट भाग्नेले केही पाउँदैन । 

यस धर्तीमा तेस्रो शताब्दीमा पश्चिमका सन्त भ्यालेन्टाइनले इटालीको रोम सहरको समाजमा प्रेमको प्रचार गरे । तत्कालीन समाजमा प्रेम फैलाउन प्रेम र विवाहलाई प्रोत्साहन गरे । २१औँ शताब्दीमा यो धर्तीमा पूर्वका सन्त ओशोले भ्यालेन्टाइनले जे गर्न चाहन्थे, त्यसलाई विराट ढंगले संसारभर फैलाए । भ्यालेन्टाइन सामाजिक जीवनमा प्रेम ल्याउन प्रयासरत रहे । ओशोको सारा आयोजन जीवन र जगत्मा प्रेम फैलियोस् भन्ने अभिप्रायमा आधारित छ । 

ओशो भन्छन्,  प्रेमका भोकाहरूबिच हुने विवाहले झनै प्रेमको खडेरी बढाइदिन्छ । पहिला आफूभित्र प्रेम प्रकट गर । तिमी प्रेमपूर्ण बन । आफूभित्र प्रेमको मूल फुटाऊ, तब मात्र तिमी अरुलाई प्रेम दिन सक्छौ । अरुलाई प्रेम दिनका लागि तिमी पहिला प्रेमपूर्ण बन्नुपर्र्छ, प्रेमिल बन्नुपर्छ । मान्छेको आफूभित्र प्रेम भएन भने उसले अरुलाई ईष्र्या, जलन, क्रोध, वैमनश्यता दिन्छ । तिमीले चाहेर पनि प्रेम दिनै सक्दैनौ । ओशो भन्छन्, पहिला मान्छे प्रेमपूर्ण बन्नुपर्छ, आफूमा प्रेम प्रकट गर्नुपर्छ, अनि मात्र ऊ प्रेम गर्न सक्ने अधिकारी बन्छ । 

जसरी भगवान् कृष्णले पाँच हजार वर्षअघि धर्ममा प्रेम स्वीकृत गरेका थिए । त्यसैगरी २१औँ शताब्दीमा ओशोले अध्यात्ममा प्रेमलाई स्वीकृति दिए । त्यो युगमा कृष्णले जे गरे, ओशोले यो युगमा त्यही गरे । समाजमा मात्र होइन, आध्यात्मिक आश्रमहरूमा प्रेम स्वीकृत हुनुपर्छ भनेर वकालत गरे । ओशोको कम्युन पुना र रजनीशपुरममा प्रेमलाई स्वीकृति थियो । नेपालको ओशो अभियानको केन्द्र ओशो तपोवन, काठमाडौँमा पनि प्रेम स्वीकृत छ । 

कृष्णले सिकाएको प्रेमलाई यो पाँच हजार वर्षमा मनुष्यले बिर्सिसकेको थियो । कृष्णद्वारा पाँच हजार वर्षअघि द्वापर युगमा धर्ममा स्वीकृत गरिएको प्रेमलाई २०औँ शताब्दीमा आएर ओशोले पुनर्जागृत गरे । ओशो देशनालाई गहिरोसँग अध्ययन गर्दा के देखिन्छ भने ओशोले विवाहलाई प्रोत्साहन गरेनन् । प्रेमलाई प्रोत्साहन गरे । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण भन्छन्— यो संसारमा विवाहको भविष्य छैन । विवाह बल्लतल्ल यो शताब्दीसम्म चल्छ होला, त्यसपछि यो संसारमा विवाह संकटमा पर्नेछ । 

ओशोले आफ्ना शिष्यहरूलाई प्रेम गर्न छुट दिए । संसारभर संकुचित मानिसहरू अनि परम्परावादी धार्मिक व्यक्तिहरूले त्यसको तीव्र आलोचना गरे । दुई व्यक्तिबिच हुने पवित्र प्रेमको पक्षमा ओशो सधैँ रहे । उनले यौन उशृङ्खलतालाई कहिल्यै वकालत गरेनन् । उनी विवाहको विरोधी थिएनन्, प्रेमको अपार संगमबाट मात्र विवाह निस्कनुपर्छ भन्थे । त्योभन्दा पनि अगाडि बढेर उनले भने— प्रेम छ भने विवाहको औपचारिकताको खासै जरुरी छैन । प्रेम छैन भने औपचारिक रूपमा भएको विवाह पनि अर्थहीन, निरस, अनि मृत हुन्छ । विवाहलाई जीवन्तता दिन त्यहाँभित्र प्रेम चाहिन्छ । 

यो संसारमा प्रेमको सन्देश फैलाउने सन्देशवाहकलाई यो समाजले सधैँ हत्या गरेको छ । तेस्रो शताब्दीमा प्रेमको सन्देश फैलाएका भ्यालेन्टाइनलाई जसरी त्यसबेलाका सम्राट क्लाउडियसले मृत्युदण्ड दिई हत्या गरे । अझ आधुनिक रूपमा विश्वभरि प्रेमको सन्देश फैलाएका ओशोलाई यो विश्वले आलोचना र अपमान ग¥यो । उनको प्रेमको मन्दिर भत्काइयो । उनको प्रेमको मन्दिर रजनीशपुरमलाई तत्कालीन अमेरिकी सरकारले चकनाचुर बनाएको थियो । उनलाई प्रेम र ध्यानको सन्देश फैलाएको आरोपमा १२ दिनसम्म अमेरिकी जेलमा राखियो । अनि प्रेमको सन्देश विराट ढंगले बाँडेको आरोपमा उनलाई थिलियम नामको विष दिइएको थियो । 

ओशोले मनुष्यलाई प्रेम प्रकट गर्न सक्ने बनाउने प्रयासमा सारा जीवन खर्च गरे । संसारभर प्रेम र ध्यानको सन्देश बाँडे । उनी चाहन्थे, मनुष्यभित्र प्रेमको झरना निस्कियोस् अनि विश्वमा फैलिरहेको घृणा, हिंसा, युद्ध हटोस् र संसारमा प्रेमको पृष्ठभूमिमा शान्ति फैलियोस् । प्रेमका यी विराट मसिहा भ्यालेन्टाइन र ओशोप्रति यस प्रेम दिवसको उपलक्ष्यमा हार्दिक नमन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी ध्यान आशिष
स्वामी ध्यान आशिष
लेखकबाट थप