शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

भारतमा पोष्ट ग्रेजुएटको प्रवेश परीक्षा पास हुन नसकेका एमबीबीएस डाक्टर नेपालमा ‘उत्कृष्ट’

मङ्गलबार, ०८ फागुन २०८०, १६ : ०७
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले लिएको स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजामा चलखेलका आशङ्का गरिएको छ । शैक्षिक सत्र २०८०/०८१ का लागि विभिन्न शैक्षिक कार्यक्रममा भर्नाका लागि आयोगले २०८० माघ २० देखि २२ सम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो । जसको नतिजा माघ २४ गत प्रकाशित गरिएको थियो ।

योग्यता क्रमका आधारमा आयोगले समूहगत सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा परेका विदेशी विद्यार्थीको हकमा चलखेलको आशङ्का गरिएको हो । भारतमा लामो समयदेखि प्रवेश परीक्षा दिँदासमेत पास नभएका विद्यार्थीहरू उक्त परीक्षामा उत्कृष्ट ठहरिएपछि चलखेलको आशङ्का बढेको हो ।

‘एमडी/एमएस विथ इक्सप्रेन्स’ (डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी) अन्तर्गत विदेशी विद्यार्थीका लागि ४८ जनाको नाम आयोगले सार्वजनिक गरेको थियो । उक्त सूचीमा परेका ५ जना विद्यार्थी भारतमा लिने प्रवेश परीक्षामा कयौँ पटक फेल भएको पाइएको हो ।

विदेशी कोटातर्फ तेस्रो नम्बरमा रहेका सागर गुप्ता, पाँचौँ नम्बरमा रहेका सुकान्त यादव, छैटौँ नम्बरमा रहेका रोहित सिंह, १२ औँ नम्बरमा रहेका आयुश तोमर र ३६ औँ नम्बरमा रहेका प्रभाकर कुमारमाथि प्रश्न उठेको हो । उनीहरूले भारतमा लिइएको पोष्ट ग्रेजुएटको प्रवेश परीक्षा पास गर्न नसकेको तर, नेपालमा उत्कृष्ट नतिजा निकालेको पाइएको हो ।

MEC result 2024_1MEC result 2024_2

भारतमा लिइएको ८०० पूर्णाङ्कको परीक्षामा ३२ अङ्क ल्याएका गुप्ता नेपालमा भने १२८.७५ अङ्कसहित २७३ वरीयतामा छन् । त्यस्तै नेपालमा विदेशीतर्फ पाँचौँ स्थानमा रहेका यादव १२३ अङ्कसहित नेपालको ४०५ औँ स्थानमा छन् । त्यस्तै सिंह १२१.२५ अङ्कसहित ४६८ औँ स्थान, तोमर १०७.७५ अङ्कसहित १०२८ औँ स्थानमा, कुमार ९० अङ्कसहित २२०३ औँ स्थानमा छन् ।

उनीहरूले प्राप्त गरेको नतिजाप्रति आशङ्का पैदा भएपछि भारतको नेसनल बोर्ड अफ इक्जामिनेशन इन मेडिकल साइन्सेस (एनबीईएमएस) ले लिइएको ‘नीट–पीजी’ को नतिजा हेर्दा सन् २०२१ मा गुप्ताले ८०० अङ्कमा ३२ अङ्क ल्याएको देखियो ।

2021 result PG

त्यस्तै यादवले ३६ अङ्क, सिंहले १३१ अङ्क, तोमरले १०१ अङ्क र प्रभाकर कुमारले १०५ अङ्क प्राप्त गरेको देखियो ।

त्यस्तै सन् २०२२ मा लिइएको परीक्षाको नतिजामा समेत उनीहरूको न्यून अङ्क देखिएको छ । सन् २०२३ मा समेत एनबीईएमएसले लिएको परीक्षामा गुप्ताले २४, यादवले १२८, सिंहले १३४, तोमरले ५७ र कुमारले १०८ अङ्क प्राप्त गरेका छन् ।

2023 result india

सन् २०२० मा लिइएको परीक्षामा समेत उनीहरूले एकदमै न्यून अङ्क प्राप्त गरेको देखिएको हो । लगातार तीन वर्षसम्म भारतको एनबीईएमएसले लिएको पीजी (पोष्ट ग्रेजुएट) को प्रवेश परीक्षा पास गर्न नसकेका उनीहरू सन् २०२४ का लागि नेपालमा लिइएको प्रवेश परीक्षामा भने उत्कृष्ट तेस्रोसहित विदेशीका लागि छुट्याइएको ४८ भित्र परेका हुन् ।

2020 result india

भारतमा ८०० पूर्णाङ्कमा २०० अङ्क समेत कटाउन नसकेका यिनीहरूले नेपालमा भने २०० पूर्णाङ्कको परीक्षामा ५० प्रतिशतभन्दा राम्रो अङ्क ल्याएको पाइएको हो ।

यो विषयमा चिकित्सा शिक्षा आयोगले भने अनभिज्ञता प्रकट गरेको छ । आफ्नो तर्फबाट बदमासी तथा चलखेल गर्न सकिने कुनै पनि सम्भावना नरहेको आयोगको दाबी छ ।

विदेशी विद्यार्थीहरूको हकमा सानो भर्‍याङमा रहेको नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षा लिइन्छ । विदेशीको हकमा नेपालमा एकमात्रै परीक्षा केन्द्र तोकिएको आएको र त्यसमा कडा सुरक्षा व्यवस्थासहित परीक्षा सञ्चालनको व्यवस्था गरिएको आयोगका सदस्य–सचिव कृष्णप्रसाद काप्रीले बताए ।

परीक्षाको विश्वसनीयतामाथि कुनै प्रकारको आशङ्का पैदा नहोस् भनेर निकै नै कडाइ गरिँदै आएको उनको भनाइ छ ।

थुप्रै विज्ञबाट फरक फरक खालका प्रश्नपत्र निर्माण गरिन्छ । ती प्रश्नपत्र जनक शिक्षामा नेपाली सेनाको कडा सुरक्षा घेरामा छापिन्छन् । छापाखानाका कुनै पनि कर्मचारीलाई प्रश्नपत्र छपाइको क्रममा बाहिर जान र मोबाइल फोन समेत साथमा राख्न दिइँदैन ।

प्रश्नपत्र छापिसकेपछि प्रवेश परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै परीक्षा केन्द्रमा पठाइने गरेको सदस्य–सचिव काप्रीले बताए ।

यो विषय आफूहरूको जानकारीमा नरहेको भन्दै अब आवश्यक अनुसन्धान गर्ने र यदि कुनै गडबडी देखिए उनीहरूको नतिजा रद्दसम्म गरिने उनको भनाइ छ ।

‘निकै कडाइका साथ परीक्षा लिइन्छ । त्यस्तै परीक्षामा समेत हामीले बायोमेट्रिक गरेका हुन्छौँ । कुनै चलखेल तथा गडबडी नहोस् भनेर सजगता अपनाएका हुन्छौँ । तर, यदि यस्तो रहेछ भने हामी गम्भीर भएर अनुसन्धान गर्छौँ’ उनले रातोपाटीसँग भने ।

भारतमा लगातार तीन वर्षसम्म पनि प्रवेश परीक्षा पास गर्न नसकेका डाक्टरहरूले नेपालमा भने उत्कृष्ट अङ्क ल्याउनुले विभिन्न आशङ्का पैदा गरेको चिकित्सा शिक्षा क्षेत्रका जानकार बताउँछन् ।

स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चका महासचिव निर्मल सापकोटाले कहीँ कतैबाट चलखेल भएको हुन सक्ने बताए । यद्यपि भारतमा पास हुन नसकेको विद्यार्थी नेपालमा उत्कृष्ट हुन नसक्ने भन्ने नरहेको उनको भनाइ छ ।

परीक्षाको पाठ्यक्रममा कहीँ कतै कमजोरी हो कि भन्ने पनि प्रश्न हुन सक्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप