शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
समाचार

गृहमा मनलाग्दी : सहसचिवलाई थन्क्याएर उपसचिवलाई सीडीओ

बिहीबार, १८ वैशाख २०८२, १५ : ००
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । गृह मन्त्रालयले सहसचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेर सहसचिवको दरबन्दी भएको ठाउँमा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर राखिरहेको छ । 

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले रातोपाटीलाई उपलब्ध गराएको तथ्यांकअनुसार मन्त्रालयका त्यस्ता ९ सहसचिवलाई जिम्मेवारी नदिई थन्क्याइको छ । 

त्यस्ता ९ जनामा नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, वासुदेव दाहाल, अरुण पोखरेल बुद्ध गुरुङ, सुरेन्द्र पौड्याल, नारायणप्रसाद रिसाल, शंकरहरि आचार्य र प्रेम भट्टराई हुन् । 

भट्टराई पुस २७ गते मन्त्रालयमा हाजिर भएका थिए । तर हालसम्म उनले जिम्मेवारी पाएका छैनन् । दाहाललाई भने सिरहाबाट तानिएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी रहेका उनलाई महायज्ञका क्रममा दलित परिवारलाई उठीबास लगाएको घटनामा संवेदनशील नभएको भन्दै गृहले चैत ८ गते फिर्ता बोलाएको थियो । 

अतिरिक्त समूहमा रहेका केही सहसचिव भने अन्य मन्त्रालयबाट आएर पदस्थापन नभई बसेकाहरू छन् । त्यस्तै केहीलाई प्रमुख जिल्ला अधिकारीबाट ताने पनि मन्त्रालयमा जिम्मेवारी दिइएको छैन । 

तर सहसचिवको दरबन्दी भएका पाँच जिल्लामा गृहमन्त्री रमेश लेखकले उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् । मन्त्री लेखकले सहसचिवको दरबन्दी भएका बैतडी, डडेलधुरा, डोटी, जुम्ला र सल्यानमा उपसचिवलाई जिम्मेवारी दिएर राखेका हुन् । 

बैतडीमा दीर्घराज उपाध्याय, डडेलधुरामा चोमेन्द्र न्यौपाने, सल्यानमा सावित्रा पुन, जुम्लामा रामबहादुर शाही र डोटीमा मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् । उनीहरू सबैलाई गृहमन्त्री भएपछि लेखकले प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएका हुन् । 

त्यतिमात्र होइन, वैशाख १४ गतेसम्म अन्य दुई सहसचिवको दरबन्दी भएका जिल्लामा पनि मन्त्री लेखकले उपसचिवलाई सीडीओको जिम्मेवारी दिए । 

१४ गते प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्दा सहसचिवको दरबन्दी भएका दैलेख र रामेछापमा सीडीओका रूपमा रहेका उपसचिवहरूलाई उनले तानेका थिए । 

रामेछापका सीडीओ उपसचिव राजुप्रसाद पौडेललाई तानेर सहसचिव श्यामकृष्ण थापालाई मन्त्री लेखकस्तरीय निर्णयबाट पठाइएको छ । त्यस्तै दैलेखका उपसचिव नवराज जैशीलाई तानेर सहसचिव बद्रीनाथ गैह्रेलाई पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० ले पदस्थापन वा सरुवा गर्ने वा काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र आधारसम्बन्धी व्यवस्था गरेको छ । 

उक्त कार्यविधिको दफा ६ मा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापन वा सरुवा गरिने वा काजमा खटाउने प्रयोजनका लागि ६१ जिल्लालाई वर्गीकरण गरेको छ भने बाँकी १६ जिल्लामा उपसचिवको दरबन्दी छ ।

ती १६ जिल्लाहरूमा ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, रसुवा, पूर्वी रुकुम, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, कालिकोट, म्याग्दी, रुकुम पश्चिम, बाजुरा, बझाङ र दार्चुला हुन् । जहाँ उपसचिवलाई सीडीओ बनाएर पठाइन्छ । 

तर गृहमन्त्रीको पार्टीनिकट रहेर ‘पावर सेन्टर’ प्रयोग गर्न सक्ने उपसचिवहरू कानुनविपरीत सहसचिवको दरबन्दी रहेका स्थानमा प्रमुख जिल्ला अधिकारी बनिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप