सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
बुढीगंगा दुर्घटना

२५ टनको ढुंगाले नाबालक थिचिँदा गुम्यो सहारा

उमेरको ५५ वर्षपछि आइभिएफ गरेर जन्मिएका जुम्ल्याहा बालकलाई लहरीबाट उछिट्टिएको ढुंगाले ज्यान लियो
शुक्रबार, ११ फागुन २०८०, २१ : १७
शुक्रबार, ११ फागुन २०८०

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शुक्रवार बिहान भएको दुःखद घटनामा तीन जना बालबालिकाको ज्यान गयो । बुढीगंगा–४ प्रगति टोलमा सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडक खण्डमा मार्बल उद्योगको कच्चापदार्थ ढुंगा बोकेको लहरी पल्टिँदा तीन बालबालिकाको ज्यान गएको हो ।

सडकको किनारामा जोडिएको ज्योति अधिकारीको घरमाथि २५ टनको ढुंगा बोकेको लहरी पल्टिएको थियो । शुक्रवार बिहान करिब साढे ७ बजे आर.जे.२९ जी.बी. १५६१ नम्बरको लहरी कोशी राजमार्गको नेमुवाबाट कोयलपुरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । 

उक्त लहरी पल्टिँदा त्यहाँबाट उछिट्टिएको २५ टनको ढुंगाले अधिकारीको चार वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र अर्की सात वर्षीय बालिका रिया खवासलाई किचेको थियो ।

मृतक इसिता र निशान्त ५५ वर्षीय ज्योति अधिकारीका जुम्लिया छोराछोरी हुन् । लामो समय सन्तान नभएपछि उनले जीवनको पाँच दशक पार गरेपछि आइभिएफ मार्फत जुम्ल्याहा बच्चा पाएका थिए । आफ्ना जुम्ल्याहा बच्चा गुमाएका अधिकारी आफू पनि घाइते छन् । प्रहरीका अनुसार मृतक दाजु बहिनी घरको प्यासेजमा खेलिरहेका थिए । अर्की बालिका खवास भने पसलमा बावुसँग सामान किन्न पुगेकी थिइन् । 

*ठुला–ठुला ढुङ्गाले किचेपछि तीन जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने ज्योति घाइते भए । उनको खुट्टा ढुंगाले किचेको थियो । उनलाई करिब ५ घण्टापछि उद्धार गरी विराट मेडिकल कलेजमा भर्ना गरिएको छ । 

उद्धारमा समय लागेपछि घाइते अधिकारीलाई घटनास्थलमै अक्सिजन लगाएर राखिएको थियो । प्रहरीले क्रेनको सहायताले लरीलाई हटाएर मृतक बालबालिकाको शव भने ६ घण्टा पछि २ बजे निकालेको थियो ।

इसिता र  निशान्त बुढी गंगामा रहेको स्मृति बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत थिए । रिहा सरस्वती स्कुलमा कक्षा १ मा अध्ययनरत थिइन् । अधिकारी दम्पती पसल सञ्चालन गर्दै प्रगति टोलमा बसेका थिए । आफ्ना सन्तान बितेपछि अधिकारी परिवार विक्षिप्त छन् ।

घटनापछि लरी चालक फरार छन् । फरार भएका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ओभर लोड भएको लरी साँघुरो र निर्माणाधीन सडक भएका कारण दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

‘क्षमता भन्दा बढी लोड र अहिले निर्माणाधीन सडकका कारणले अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ मोरङका प्रहरी प्रवक्ता तथा डीएसपी रञ्जन दाहालले भने, ‘अहिले घटनाको थप अनुसन्धान भइरहेको छ ।’

(सम्पादकीय नोट : यसअघि प्रकाशित समाचारमा असावधानीवश गलत शब्द प्रयोग भएकाले क्षमायाचनासहित सच्याइएको छ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप