सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान

आइतबार, १३ फागुन २०८०, ०६ : ४५
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु  भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो ।

राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ ।

यो अभियान मार्फत ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट खोपको मात्रा प्रदान गरिने भएको छ ।

आफ्नो पायक पर्ने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने जनाएको छ । त्यसैले नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जानसमेत मन्त्रालयको आग्रह छ । 

दादुरा, रुबेला सङ्क्रामक र प्राणघातक रोगहरू भएकाले बालबालिकाको अनिवार्य खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप