सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
झापामा झडप

के झापामा सशस्त्र प्रहरीले खुकुरी हानेकै हो ?

सशस्त्रका ड्राइभरले खुकुरी हानेको विषयमा छानबिन हुने
शनिबार, १९ फागुन २०८०, १३ : ३७
शनिबार, १९ फागुन २०८०

विराटनगर । झापाको मेचीनगर नगरपालिका-७ स्थित गैरीगाँउ सीमा क्षेत्रमा पुगेको सशस्त्र प्रहरीले स्थानीयलाई खुकुरी हानेको आरोप लागेको छ । शुक्रबार साँझ साढे ७ बजेको समयमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठको कमान्डमा तस्करीको सामान चेकजाँचको लागि सो क्षेत्र पुगेको थियो । 

५ जनाको पैदल गस्ती टोलीले भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको झन्डै १ लाख २० हजार बराबरको एक पोका लत्ताकपडा नियन्त्रणमा लियो । ‘सो समयमा त्यस क्षेत्रबाट ५-६ बोरा कपडा सामान आउने सूचना प्रहरीलाई प्राप्त भएको थियो । सूचना प्राप्त हुनेबित्तिकै खटिएको प्रहरीले १ जनालाई पक्राउ गर्‍यो । अरू भागे । बरामद सामान लिन प्रहरी टोली गयो । बिच बाटोमा २०-३० जना तस्करहरू भेला भएर प्रहरीमाथि आक्रमण गरे । त्यसक्रममा झडप भएको हो,’ सशस्त्र प्रहरीका डीआईजी अन्जनीकुमार पोखरेलले भने, ‘घटनामा खुकुरी हानेको भन्ने कुरा आएको छ । त्यो हो होइन भन्ने विषयमा हामी छानबिन समिति बनाएर छानबिन गर्छौँ । त्यसपछि मात्रै थप कुरा स्पष्ट हुन्छ ।’

उक्त सामान ल्याउन सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमालको नेतृत्वमा थप पाँच जनाको मोबाइल गस्ती टोली त्यस ठाउँमा खटिएको थियो । बरामद सामान बीओपीमा ल्याउने क्रममा स्थानीय र व्यापारीसहित दर्जनौँ मानिसहरू भेला भएर सशस्त्रको बाटो छेकेका थिए ।

‘प्रहरीको बाटो छेकी गाडीमा ढुङ्गामुढा प्रहार भयो । गाडीको अगाडिको सिसा चर्केको छ । साइड लाइट समेत फुटेको छ । गाडीमा आगजनीको प्रयास गर्नुका साथै बरामद सामानसमेत खोसियो । सशस्त्रका सवारी चालक दुर्गाचन्द्र बस्नेतको बायाँ हातको बुढी औँला र माझी औँलामा समेत चोट लाग्यो । त्यसपछि थप मद्दतको लागि काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक कुशल राईको कमान्डमा २३ जनाको टोली त्यस ठाउँ पुगेर प्रहरीले बल प्रयोग गरेको हो । केही मानिस घाइते भएका छन्,’ पोखरेलले भने, ‘प्रहरीले गोली चलाउनु पर्ने अवस्था सिर्जना भएको थियो । तर हामीले संयम अपनाएका हौँ । त्यहाँ खुकुरी हानियो भनिएको छ । त्यस विषयमा छानबिन हुन्छ ।’

उता, पीडितहरूले भने सशस्त्रले भाटैभाटाले कुटेको बताए । ‘किन कुट्यो भनेर गाउँका हामी सशस्त्रलाई सोध्न गयौँ । ड्राइभरले गाडीबाट खुकुरी निकाल्यो र हान्न थालिहाल्यो । अनि हामी भागाभाग भयौँ,’ घाइते हरि बाँतरले भने । 

झडपमा परी ६ जना स्थानीय र ३ जना प्रहरी घाइते भएको बताइएको छ । घाइते हुने स्थानीयमा दीपा बाँतर, हरि बाँतर, विशेष राजवंशी, मिलन चापागाईं, आनह यादव र दीपक बाँतर छन् । उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको छ । 

स्थानीय पत्रकार मुक्ति पौडेलले घटनामा प्रहरीले उद्दण्डता देखाएको बताए । ‘प्रहरीले कानुन कार्यान्वयन गर्ने हो । खुकुरी हान्ने त होइन होला,’ उनले भने, ‘यो सशस्त्र प्रहरीको ज्यादती हो ।’ सो नाकाबाट अत्यधिक तस्करी हुने गरेको स्थानीय नै बताउँछन् । गत जेठमा पनि सशस्त्र प्रहरीले जनपथ प्रहरीलाई कुटपिट गरेको विषय विवादमा आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप