बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
गठबन्धनमा गडबड

गठबन्धनमा खटपट : राष्ट्रिय सभा अध्यक्षमा कसरी मिल्छ लेनदेन ?

आइतबार, २० फागुन २०८०, ०९ : ५६
आइतबार, २० फागुन २०८०

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसको भर्खर सकिएको महासमिति बैठकबाट ‘माओवादी जनयुद्ध’ आवश्यक नभएको उपसभापति पूर्णबहादुर खड्का नीतिगत प्रतिवेदन पारित भएपछि गठबन्धन सङ्कटमा फसेको छ । बिहीबार गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम बेग्लै ढंगबाट अगाडि बढेको अभिव्यक्तिले गठबन्धन संकटउन्मुख भएको स्पष्ट बुझ्न सकिन्छ । 

राष्ट्रिय सभा निर्वाचमा कोशी प्रदेशबाट माओवादीका उम्मेदवार पराजित भएपछि कांग्रेस र माओवादीबिच गहिरिएको अविश्वास कांग्रेस महासमिति बैठकसम्म आइपुग्दा फराकिलो बन्दै गएको पछिल्लो घटनाक्रमले देखाउँछ । बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले कांग्रेस दक्षिणपन्थी बाटोमा हिँड्न खोजेको निष्कर्ष निकाल्यो । बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाड्न अध्यक्ष प्रचण्डलाई खबरदारी गरेका थिए । 

सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबिच अविश्वास बढाउन ‘कोशी दुर्घटना’ प्राविधिक र महासमिति बैठक नीतिगत कारण बन्यो । कोशीमा आफ्ना उम्मेदवार हराउन कांग्रेसको संस्थागत निर्णय नभई गुटगत प्रभाव भएको स्थायी समिति बैठकमा प्रचण्डले विश्लेषण गरे पनि महासमिति बैठकको निर्णय नीतिगत भएकाले परिस्थिति गम्भीर रहेको संश्लेषण गरेका थिए ।

बिहीबार चितवनमा प्रचण्डले दिएको अभिव्यक्ति त्यसैप्रति लक्षित थियो । यद्यपि गठबन्धनलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले सार्वजनिक रूपमा नै कांग्रेससँग असहमति र विकल्पका चारवटा विषय प्रष्टसँग राखेका थिए ।   

पहिलो कोशी प्रकरणपछि देशको राजनीति बेग्लै ढंगले अगाडि बढेकाले राष्ट्रिय सभा अध्यक्ष कृष्णप्रसाद सिटौलालाई बनाउने पूर्वसहमतिबाट ब्याक हुनसक्ने उनले सङ्केत गरे । 

दोस्रो अध्यक्ष निर्वाचनको विषयमा एमालेसँग विभिन्न स्तरमा छलफल चलेको तर कुनै ठोस निर्णयमा नपुगेको उनले खुलाए ।  

तेस्रो कांग्रेसको महासमिति बैठकले अनावश्यक विषयमा छलफल चलाएर राजनीति परिस्थितिलाई बिथोल्ने काम गरेकोमा उनले असन्तुष्टि पोखे ।   

चौथो वर्तमान गठबन्धनलाई नै बलियोसँग लैजान आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । 

  • कांग्रेस प्रतिगमनको बाटोमा गएको माओवादीको संश्लेषण

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन अनुमोदन भएपछि माओवादी कांग्रेससँग चिढिएको छ । यस्तै महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदनमा भविष्यमा निर्वाचनअघि गठबन्धन नगर्ने उल्लेख छ । यता झण्डै ५० प्रतिशत महासमिति सदस्यहरूले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए ।

 

खड्काको प्रतिवेदनमा माओवादीले चलाएको दशकभन्दा लामो हिंसात्मक सशस्त्र द्वन्द्वले थुप्रै भौतिक संरचना ध्वस्त बनाएको, निजी क्षेत्रको गतिविधिलाई सङ्कुचित गराएको, रोजगारीका लागि युवाहरू विदेश जाने लहर बढाएको तथा अर्थतन्त्र सकारात्मक तथा द्रुत गतिमा हिँड्न नसकेको उल्लेख छ ।  

माओवादी स्थायी समिति बैठकमा यी नै विषयमा गम्भीर छलफल गरी कांग्रेस प्रतिगमनतर्फ गएको निष्कर्ष निकालेको थियो । स्रोतका अनुसार उपसभापति खड्का, महामन्त्री थापाले पेस गरेको प्रतिवेदन पारित भएसँगै कांग्रेस प्रतिगमनको बाटोमा हिँड्न खोजेको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् ।  

‘कांग्रेसको प्रतिवेदनमा ०४७ कै संविधान र व्यवस्था ठिक थियो । परिवर्तन जरुरी थिएन । उग्रपन्थीहरुले हिंसात्मक गतिविधि गरे भनिएको छ । त्यो प्रतिवेदनले जनयुद्धलाई पनि नकारेको छ । जबकि शान्ति सम्झौताको प्रस्तावनामै जनयुद्धलाई प्रस्ट ढंगले उल्लेख गरिएको छ । यसअर्थमा कांग्रेस विधिवत, नीतिगत र संस्थागत ढंगले प्रतिगमनतिर गएको निष्कर्ष हो,’ स्रोतले भन्यो । 

  • एकले अर्कालाई गलाउने रणनीति भएको एमालेको निष्कर्ष

तर सत्ताघटक कांग्रेस र माओवादीबिच देखिएको खटपट एकअर्कालाई गलाउने रणनीति भएको प्रमुख प्रतिपक्षी दल एमालेको बुझाइ छ । जुन शक्तिले गठबन्धन बनाउन सहयोग गरेको हो ती नै शक्तिले टिकाइ राख्ने उपमहासचिव प्रदीप ज्ञवालीले दाबी गरे । 

‘उहाँहरूबिच खटपट भएको विषय बाहिर आइरहेको छ । त्यो धेरै टिकाउ छैन । जुन शक्तिले कांग्रेस माओवादी गठबन्धन बनाइदियो, त्यही शक्तिले उहाँहरूलाई टिकाइ राख्न दबाब दिन्छ । त्यो दबाबको अगाडि गठबन्धनका कुनैपनि पक्ष चुक्नुहुन्न भन्ने हाम्रो विश्लेषण हो । उहाँहरूको एक अर्कालाई गलाउने र बार्गेनिङ गर्ने रणनीति हो,’ ज्ञवालीले भने । 

यस्तै उनले पछिल्लो समय प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बढेको हिमचिम स्वाभाविक भएको बताएका छन् । दुई शीर्ष नेताबिचको भेटवार्ता सत्ता सहकार्य भन्दापनि शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्ने विषयमा भएको उनले जिकिर गरे । उनले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा माओवादीले उम्मेदवार उठाउन नसक्ने र उठाए पनि नटिक्ने बताए । 

‘प्रधानमन्त्री र प्रतिपक्ष दलको नेताबिच भेट हुनु सामान्य कुरा हो । संसद्मा विचाराधीन सङ्क्रमणकालीन न्यायको विषमा छलफल भएको छ । अरू विषय प्रवेश गरेकै छैन । हामी त्यो विषयमा रुचि पनि राख्दैनौँ’, उनले भने, ‘उहाँले उम्मेदवार  उठाउनै सक्नुहुन्न वा उठाए पनि टिकाउनुहुन्न । जुन शक्तिले पुस १० को गठबन्धन भत्काउन दबाब दियो त्यही शक्तिका अगाडि उहाँहरूले घुँडा टेक्नुहुन्छ ।’

  • बाहिर आएजस्तो गठबन्धनमा सङ्कट नआएको कांग्रेसको दाबी

तथापि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाहिर आएको हल्ला जस्तो गठबन्धन दलहरूबिच सङ्कट नआएको जिकिर गरेका छन् । यसलाई आपसी सहमतिमा नै समाधान गर्ने उनले बताए ।  

‘भित्र जति छ बाहिर त्योभन्दा बढी चर्चा भएको छ । यसको सारमा समीक्षा गरेर एकताबद्ध भएर जाने हो । गठबन्धनमा कुनै समस्या आउँदैन,’ उनले भने, ‘अहिले जेजति समस्या आएका छन् । गठबन्धन दलहरूको बैठक बसेर निष्कर्षमा पुग्ने छौँ । यी सबै विषय मिलाएर जान सक्छौँ । मिलाएरै जानुपर्छ ।’

शर्माले कांग्रेससँग भएको मत एक्लैले राष्ट्रिय सभा अध्यक्ष बनाउन नसक्ने र माओवादी भएको मतले मात्रैले पनि अध्यक्ष बनाउन नसक्ने स्थिति भएकाले यस विषयमा छिट्टै निर्णय गरेर टुङ्गोमा पुग्ने बताए । माओवादी एक्लैले निर्णय गरेर पोजिसन लिने वा कांग्रेस एक्लैले निर्णय गरेर पोजिसन लिने कुराले समाधानलाई भन्दा पनि समस्यालाई जटिल बनाउने उनको निष्कर्ष छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप