प्ले–अफ चरणमा पुग्न प्रयासरत दिल्ली र बहिर्गमनबाट जोगिन संघर्षरत हैदराबादबिच रोचक भिडन्त

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो ५५औँ खेल हो । जारी सिजनको आईपीएलमा यी दुवै टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको पहिलो खेलमा दिल्लीले हैदराबादलाई सात विकेटले हराएको थियो ।
जारी सिजनको आईपीएलमा दिल्ली र हैदराबाद फरक स्थितिमा छन् । सन्तोषजनक प्रदर्शन गर्दै आएको दिल्लीको प्ले–अफ चरणमा पुग्ने सम्भावना बढी देखिन्छ । निरन्तर निराशाजनक प्रदर्शन गर्दै आएको हैदराबाद भने उपाधि होडबाट बाहिरिने अवस्थामा छ ।
सनराइजर्स हैदराबादले हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो ।
हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो ।
दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, दिल्लीले हालसम्म आईपीएलको उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।
दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो ।
- प्ले–अफ चरणमा पुग्न संघर्षरत दिल्लीको समीकरण
दिल्ली क्यापिटल्स जारी सिजनको आईपीएलमा प्ले–अफ चरणमा पुग्न संघर्षरत देखिन्छ । दिल्लीले हालसम्म सन्तोषजनक प्रदर्शन गर्दै आएको छ । सोमबारको खेलमा विजयी भए दिल्लीको अगाडि बढ्ने सम्भावना थप बलियो हुनेछ ।
दिल्लीले हालसम्म १० खेल खेलिसकेको छ । त्यसमध्ये दिल्लीले ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १२ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ ।
सोमबारको खेलमा हैदराबादलाई हराउन सके दिल्लीको अंक तालिकाको तेस्रो स्थानमा आसीन मुम्बई इन्डियन्स र चौथो स्थानमा आसीन गुजरात टाइटन्सको बराबर पुग्नेछ । प्ले–अफ चरणमा पुग्न दिल्लीले खेल्न बाँकी चारमध्ये कम्तिमा तीन खेलमा जित हासिल गर्नुपर्नेछ ।
बाँकी चारवटै खेलमा विजयी भए दिल्लीको अंक २० पुग्नेछ । यस्तो स्थितिमा दिल्ली तालिकाको पहिलो वा दोस्रो स्थानमा रहेर प्ले–अफ चरणमा पुग्नेछ । तीनवटा खेलमा मात्र विजयी भए पनि दिल्लीको अंक १८ पुग्नेछ । यस्तो स्थितिमा दिल्ली तेस्रो वा चौथो स्थानमा रहेर प्ले–अफ चरणमा प्रवेश गर्नेछ ।
दिल्लीले अब हैदराबादका अतिरिक्त पञ्जाब किङ्स, गुजरात टाइटन्स र मुम्बई इन्डियन्ससँग भिडन्त गर्न बाँकी छ । त्यसमध्ये हैदराबादवाहेक अन्य तीनवटै प्रतिद्वन्द्वी निकै बलिया छन् । त्यसैले दिल्लीका लागि पनि आगामी यात्रा सहज भने छैन ।
- बहिर्गमनको संघारमा रहेको हैदराबादको समीकरण
जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । हालको स्थितिमा हैदराबाद बहिर्गमनको सँघारमा छ । त्यसैले प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न हैदराबादले सोमबारको खेल जित्नैपर्ने हुन्छ ।
यो खेलमा पराजित भए हैदराबाद औपचारिक रुपमै उपाधि होडबाट बाहिरिने तेस्रो टोली बन्नेछ । पाँचपटकको च्याम्पियन चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
हैदराबादले हालसम्म १० खेल खेलेको छ । त्यसमध्ये हैदराबादले केवल तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद ६ अंकसहित तालिकाको नवौँ स्थानमा आसीन छ । त्यसैले प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न हैदराबादले बाँकी चारवटै खेल जित्नुपर्ने हुन्छ ।
यस्तो स्थितिमा हैदराबादको अंक १४ पुग्नेछ । तर, यतिले मात्र पनि हैदराबादलाई पुग्ने छैन । चारवटै खेल जितेपछि पनि हैदराबादले अन्य टोलीको प्रदर्शन र नेट रन रेटको भर पर्नुपर्नेछ ।
हैदराबादले अब दिल्लीका अतिरिक्त कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्ससँग खेल्न बाँकी छ । जारी सिजनको आईपीएलमा यी सबै टोली निकै बलिया छन् । त्यसैले हैदराबादको प्ले–अफ चरणमा पुग्ने सम्भावना अत्यन्तै कम देखिन्छ ।
- हेड टु हेडमा केवल एक जितको अन्तर
आईपीएलमा हालसम्म दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच कुल २५ खेल खेलिएको छ । त्यसमध्ये १३ खेलमा हैदराबादले दिल्लीलाई हराएको छ । १२ खेलमा भने दिल्लीले हैदराबादलाई पराजित गरेको छ ।
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भने हालसम्म यी दुई टोलीबिच ६ पटक भिडन्त भएको छ । यी दुवै टोलीले तीन–तीनपटक एक–अर्कालाई हराएका छन् । हैदराबादे यो स्टेडियममा सन् २०१९ देखि दिल्लीलाई हराउन सकेको छैन ।
यो स्टेडियममा हैदराबादले दिल्लीलाई अन्तिम पटक सन् २०१८ मा हराएको थियो । त्यसयता यी दुई टोलीबिच यो स्टेडियममा दुई खेल खेलिएको छ । ति दुवै खेलमा दिल्लीले हैदराबादलाई पराजयको स्वाद चखाएको छ ।
- हैदराबादको सर्वाधिक रन अभिषेकको नाममा
जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान अभिषेक शर्मा हुन् । उनले १० खेलमा तीन सयभन्दा बढी रन बनाइसकेका छन् । अभिषेकले अघिल्लो खेलमा गुजरात टाइटन्सविरुद्ध केवल ४१ बलमा ७४ रन बनाएका थिए ।
हैदराबादका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हेनरिक क्लासन हुन् । उनले १० खेलमा तीन सय ११ रन बनाएका छन् । हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर भने हर्षल पटेल हुन् । उनले नौ खेलमा १३ विकेट लिएका छन् ।
- लयमा छन् दिल्लीका केएल राहुल
यो सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । माथिल्लो क्रमका ब्याट्सम्यान केएल राहुलले हालसम्म नौ खेलमा कुल तीन सय ७१ रन बनाइसकेका छन् ।
यस क्रममा उनले तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । दिल्लीका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान अभिषेक पोरेलले १० खेलमा कुल दुई सय ५७ रन जोडेका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने मिचेल स्टार्क हुन् । उनले १४ विकेट लिइसकेका छन् ।
- ब्याट्सम्यानलाई सहयोग गर्ने पिच
दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच सोमबारको खेल हुने राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पिच ब्याट्सम्यानहरुलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रूपमा बढी नै रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८२ खेल खेलिएको छ । त्यसमध्ये ३५ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ४७ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।
यो स्टेडियममा हालसम्म खेलिएको आईपीएलको खेलमा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय ८६ रन हो । त्यो स्कोर यही सिजनमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।
- ५५ प्रतिशत वर्षाको सम्भावना
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन सोमबार हैदराबादमा वर्षाको सम्भावना रहेको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना ५५ प्रतिशत रहेको छ । तापक्रम २६ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
- सम्भावित टोली
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ईशान किशन, नितिशकुमार रेड्डी, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत वर्मा, कामिन्दु मेन्डिस, हर्षल पटेल, जयदेव उनादकट, जिशन अन्सारी, मोहम्मद शामी र ट्राभिस हेड ।
दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), फाफ डु प्लेसिस, अभिषेक पोरेल, करुण नायर, केएल राहुल (विकेटकिपर), ट्रिस्टन स्टब्स, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमार, दुष्मन्था चामिरा वा थंगारसु नटराजन र आशुतोष शर्मा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?
-
आफ्नै नीति र प्रतिबद्धता कार्यान्वयनमा कर्णाली सरकार असफल
-
काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू