शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

विदेशी फिल्मलाई पनि छाडेनन् ट्रम्पले, लगाए ट्यारिफ

सोमबार, २२ वैशाख २०८२, १० : ५७
सोमबार, २२ वैशाख २०८२

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी फिल्महरूमा पनि ट्यारिफ लगाउने घोषणा गरेका छन् । उनले अमेरिकामा चल्ने विदेशी फिल्महरूमा १०० प्रतिशत ट्यारिफ लगाएका छन् ।

आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा पोस्ट गर्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ । अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्’ पोस्टमा उनले लेखेका छन् । 

यो अन्य देशहरूद्वारा सङ्गठित प्रयास भएको र त्यसैले यो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको उनले बताए । ट्यारिफको प्रक्रिया सुरु गर्न वाणिज्य मन्त्रालय र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको पनि उनले बताएका छन् ।

‘हामी फेरि अमेरिकामा बनेका चलचित्रहरू चाहन्छौँ,’ उनले लेखेका छन् । जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशहरूमाथि ट्यारिफ लगाएका छन् ।

ट्यारिफले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिनेछ र रोजगारी जोगाउने उनको तर्क छ । तर ट्रम्पको ट्यारिफका कारण अमेरिकी अर्थतन्त्रमा हलचल उत्पन्न भएको छ । कयौँले महँगी बढेर अर्थतन्त्र मन्दीमा भासिने चेतावनी दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप