मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

१ वर्षपछि गृहमा रविको ‘कम ब्याक’

राजनीतिको आडमा ‘कसुर’ छोपेका गृहमन्त्री
बुधबार, २३ फागुन २०८०, १८ : ०९
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । रवि लामिछाने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री भएका छन् । राजनीतिमा होमिएको करिब ७ महिनामै लामिछाने पहिलोपटक ११ पुस २०७९ मा गृहमन्त्री भएका थिए । 

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पुरा नगरेको सर्वोच्च अदालतको ठहरपछि उनी १३ माघ २०७९ मा पदमुक्त भए । त्यसपछि पुन: चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी एक वर्षपछि दोस्रोपटक गृह मन्त्रालयमा नै फर्किएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले राजनीतिको आडमा ‘फौजदारी कसुर’ छिपाएको आरोप छ । नागरिकता पुनः प्राप्त गरेपनि गैरकानुनी रुपमा उनले लिएको नेपाली पासपोर्टको मुद्दा अदालत दायर गर्नुपर्नेमा राज्य संयन्त्रले नै ‘फासफुस’ बनाइदिएको छ । 

६ फागुन २०७९ मा महान्यायाधिवक्ता कार्यालयले पासपोर्ट विवादमा रवि लामिछानेलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले उनलाई मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

झुटो विवरण पेस गरेर पासपोर्ट लिएको कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएको थियो । प्रहरीले अनुसन्धान गरेर लामिछानेलाई ‘क्लिन चिट’ दिनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । लामिछानेले २०७० साल (सन् २०१४)मा अमेरिकी नागरिकता लिएपछि उनको नागरिकता कानुन अनुसार निष्क्रिय भएको थियो । संवैधानिक इजलासको फैसला अनुसार उनको नागरिकता पुन: कायम भएको छ । २०७५ मा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर उनले पुरानो नागरिकता आफूखुसी चलाएका थिए ।

२०७२ जेठ १३ मा उनले पुरानै नागरिकता प्रयोग गरेर पासपोर्ट लिए । सो ‘विवादित’ पासपोर्ट विरुद्ध उजुरी परेपछि उनले राहदानी विभागलाई पासपोर्ट फिर्ता गरे । तर, उनीविरुद्ध फौजदारी अभियोग दर्ता भएन ।

राहदानी ऐन–२०७६ को दफा २१ (क) अनुसार झुटा विवरण दिएर राहदानी लिएमा दफा–२२ अनुसार सजाय हुन्छ । दफा–२२ मा भनिएको छ,‘झुटा विवरण देखाएर राहदानी लिएमा २ लाख देखि ५ लाखसम्म जरिवाना र १ वर्षदेखि ३ वर्ष कैद वा दुवै सजाय हुन्छ ।’ तर, लामिछानेले राजनीतिको छायाँले सो कसुर छोप्न सफल भएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दोस्रोपटक गृहमन्त्री नियुक्त गरेका छन् । बुधवार उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सुर्यदर्शनमा संदिग्ध 

उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन सहकारीको निक्षेप हिनामिना प्रकरणमा ‘मतियार’को भूमिका खेलेको आरोप छ । सुर्यदर्शन पीडितको २२ माघ २०८० मा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् । 

पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने पनि संलग्न रहेको पीडितको जिकिर छ । उनीविरुद्ध २५ जना पीडितले थप जाहेरी दर्ता गराएका हुन् । फौजदारी कानुनको सिद्धान्त अनुसार प्रहरीले लामिछानेलाई बयान वा बयान कागज गर्न बोलाउनुपर्छ । तर, उनले आफ्नो ‘कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट’ देखिने मन्त्रालयको बागडार समालेका छन् । 

सुर्यदर्शनको रकम घोटाला विरुद्ध अहिलेसम्म १ हजार ७७ थान जाहेरी परेको छ । 

निर्मला बारेको पहिलो निर्णय अझै अलपत्र 

पहिलो पटक गृहमन्त्री हुँदा ११ पुस २०७९ मा रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरे । गृहमन्त्रीको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो ।

तत्कालिन गृहमन्त्री रवि लामिछानेले तदारुकता देखाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल संकलन गरेको थियो । संकलित नमुनाबाट ‘नेगेटिभ’ रिपोर्ट आएसँगै निर्मला हत्या प्रकरणको अनुसन्धान फेरि अलमलमा छ । त्यसयता धेरैको डीएनए जाँच भएपनि रिपोर्ट ‘पोजेटिभ’ नआउँदा अनुसन्धान जहाँको त्यहीँ छ । 

कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । १३ वर्षिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२५ जनाको डीएनए जाँच गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप