आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

आईपीएलमा आज : नौ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा राजस्थान

मङ्गलबार, २५ वैशाख २०८१, ११ : ५५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा मंगलबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५६औँ खेल हो । 

आईपीएलको जारी सिजनमा राजस्थानले खेल्न लागेको यो ११औँ खेल हो । दिल्लीले भने १२औँ खेल खेल्न लागेको हो । जारी सिजनको आईपीएलमा दिल्लीभन्दा राजस्थान निकै बलियो देखिएको छ । यसअघि खेलिएको १० मध्ये आठ खेलमा राजस्थान विजयी भएको छ ।

राजस्थान केवल दुई खेलमा पराजित भएको छ । १६ अंकसहित राजस्थान तालिकाको दोस्रो स्थानमा आसिन छ । दिल्लीले भने यसअघि खेलिएको ११ मध्ये पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १० अंकसहित तालिकाको छैटौँ स्थानमा छ । 

दिल्ली र राजस्थानबिच जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि खेलिएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले हराएको थियो । 

हेड टु हेडमा दुई खेलको अन्तर

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच हालसम्म कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा राजस्थानले दिल्लीलाई हराएको छ । बाँकी १३ खेलमा भने दिल्लीले राजस्थानलाई पराजित गरेको छ । 

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हालसम्म यी दुई टोलीबिच आठ खेल खेलिएको छ । त्यसमध्ये दिल्लीले पाँच र राजस्थानले तीन खेलमा जित हात पारेका छन् । अन्तिम पटक यी दुई टोलीबिच सन् २०१९ मा भिडन्त भएको थियो । त्यो खेलमा दिल्ली विजयी भएको थियो । 

अरुण जेट्ली स्टेडियममा राजस्थानले अन्तिम पटक सन् २०१५ मा खेल जितेको थियो । त्यसपछि यी यो स्टेडियममा यी दुई टोलीबिच दुई खेल खेलिएको थियो । ती दुवै खेलमा दिल्लीले राजस्थानलाई हराएको थियो । 

दिल्लीको सर्वाधिक रन ऋषभ पन्तको नाममा

जारी सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ऋषभ पन्त हुन् । ऋषभका अतिरिक्त ट्रिस्टन स्टब्स र ज्याक फ्रेजरले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी तीनै ब्याट्सम्यानले दुई सय ५० भन्दा बढी रन बनाएका छन् । 

ऋषभ पन्तले भने टोलीका लागि हालसम्म कुल तीन सय ९८ रन बनाइसकेका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने मुकेश कुमार हुन् । उनले हालसम्म टोलीका लागि १३ विकेट लिइसकेका छन् ।

राजस्थानको सर्वाधिक विकेट चहलको नाममा

आईपीएलको जारी सिजनमा राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रियान पराग हुन् । चौथो नम्बरमा क्रिज समाल्न आउने उनले टोलीका लागि हालसम्म १० खेल खेल्दै कुल चार सय नौ रन बनाइसकेका छन् । 

रियान परागले यस क्रममा चारवटा अर्धशतक पनि प्रहार गरेका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने स्पिनर युजवेन्द्र चहल हुन् । युजवेन्द्र चहलले हालसम्म टोलीका लागि १३ विकेट लिइसकेका छन् । 

ब्याट्सम्यानलाई साथ दिने पिच

इन्डियन प्रिमियर लिगमा मंगलबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच खेल हुने अरुण जेट्ली स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८७ खेल खेलिएको छ ।

यो स्टेडियममा पहिलो ब्याटिङ गर्ने टोलीले ४० खेल जितेको इतिहास छ । जवाफी ब्याटिङमा ओर्लिएको टोलीले भने यो स्टेडियममा ४६ खेल जितेका छन् । यो स्टेडियममा खेलिएको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

छैन वर्षाको सम्भावना

राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन मंगलबार दिल्लीमा चर्को गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार दिल्लीमा वर्षाको कुनै सम्भावना नरहेको समाचारमा जनाइएको छ । मंगलबार दिल्लीको तापक्रम २७ देखि ४२ डिग्री सेल्सियसको बिचमा रहने छ ।

सम्भावित टोली

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), ज्याक फ्रेजर, पृथ्वी शा, अभिषेक पोरेल, शार्ह होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, कुलदीप यादब, रसिख सलाम, खलिल अहमद र लिजाड विलियम्स । इम्प्याक्ट प्लेयर : मुकेश कुमार ।

राजस्थान रोयल : सन्जु सामसन (कप्तान एवं विकेटकिपर), यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, रोभमन पावेल, सिमरन हेटमायर, रविचन्द्रन आश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल । इम्प्याक्ट प्लेयरः जस बट्लर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप