आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एलिनाको व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायीको आपत्ति, माफी नमागेसम्म गायिकासँग काम नगर्ने

शनिबार, २६ फागुन २०८०, १३ : ५९
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायीले खेद प्रकट गरेका छन् । फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ । 


गायिका चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म ६ वा साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका छन् ।

‘हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउन्ड सिस्टम र स्पिकरलाई दोष दिई साउन्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउन्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भर्त्सना एवम् विरोध गर्छौँ,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउन्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेको उनीहरूको भनाई छ । ‘जुन कार्यक्रममा गए पनि उनले ‘साउन्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘नाँच्न नजान्ने अनि आँगन नै टेडो रहेछ’ भनेर खोट लगाउने सनातन संस्कारको धङधङीबाट माथि उठ्नुपर्छ । आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउन्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति

दिँदादिँदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाईँत्व देखाउने जस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौँ ।’

soun-s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप