बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय
कृषि

चैते धानको क्षेत्रफल विस्तार योजना स्थगित, आगामी वर्षका लागि तयारी

सोमबार, २८ फागुन २०८०, १३ : २५
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । सरकारले खाद्य सुरक्षाका लागि चैते धान उत्पादन वृद्धि गर्ने योजना यो वर्ष स्थगित भएको छ । सरकारले चालु आर्थिक वर्षमा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने योजना लिएको थियो ।

 सो योजना चालु आर्थिक वर्षका लागि स्थगित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव सवनम सिवाकोटी आर्यालले बताइन् । ‘चेतै धान उत्पादनको योजना केही ढिला भएकाले यो वर्ष लागू हुन सकेन,’ उनले भनिन्, ‘आगामी वर्षका लागि बीउ, सिँचाई लगायत तयारी गर्दै छौँ ।’

अघिल्लो वर्षभन्दा चालु आर्थिक वर्षमा करिब २० हजार हेक्टर क्षेत्रफल जमिनमा चैते धानको क्षेत्र विस्तार गर्ने लक्ष्य थियो । तर आर्थिक सहयोग नभएकाले योजना सफल हुन नसकेको मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले बताए । ‘देशको पछिल्लो आर्थिक अवस्थाको बारेमा तपाई हामीलाई थाहा भएकै कुरा हो,’ उनले भने, ‘चेतै धानको यो वर्षको योजनासहित आगामी वर्षका लागि बर्खे र चेतै धान उत्पादनको तयारी गर्दै छौँ ।’ 

आगामी वर्षमा १८ हजार हेक्टर जमिनमा ठुला सिँचाइ आयोजनासँग समन्वय गरी सिँचाइ सुविधा पुर्‍याउने उनको भनाइ छ । उनले भने, ‘स्यालो ट्युब जस्ता थप दुई हजार हेक्टर थपेर २० हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन गर्न सक्ने देखिएको छ ।’ 

चैते धान र मसिना बास्ना धान उत्पादनका विभिन्न कार्यक्रमहरू सङ्घीयताअघि सञ्चालन भए पनि हाल सो कार्यक्रमले निरन्तरता पाउन नसकेकाले चैते र मसिनो धानको उत्पादनका लागि तयारी भइरहेको सहसचिव श्रेष्ठले बताए ।

 ‘मसिनो धान नेपालमा उत्पादन नगर्ने खाली बाहिरबाट आयात गर्नुपर्ने भएकाले हामीले मसिनो धान उत्पादन गर्ने लक्ष्यले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो,’ उनले भने, ‘आगामी वर्षमा चैते र बर्खे धान उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, युएसएआइडी र देशका ठुला सिँचाई आयोजनासँग सहकार्य गर्दै छौँ ।’ 

चैते धान उत्पादन गर्दा किसानलाई बिउ उपलब्धता हुने, बिउ किन्नुपरेमा ५० प्रतिशत अनुदान दिइने, सिँचाइ उपलब्ध गराइने डा. श्रेष्ठले बताए । ‘साना सिँचाइ योजनाअन्तर्गत स्यालो ट्युबेल आवश्यक परेमा त्यो पनि ५० प्रतिशतमा किसानलाई उपलब्ध गराउने छौँ,’ उनले भने, ‘रोपाइँका लागि मेसिनहरू आवश्यक परेमा मेसिनहरू पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइने छ ।’ 

चैते धान खेतीको फसल भित्र्याउने सिजनमा पानी पर्ने भएकाले धान सुकाउने मेसिनको पनि विभिन्न उद्योगसँग समन्वय गरिने जनाइएको छ । ‘चेतै धान उत्पादन लिँदा बर्खे मौसम परेकाले धान तुरुन्तै सुकाउनुपर्ने हुन्छ, त्यसका लागि ट्राई सेकिरेटी उपलब्ध गराउनका लागि पहल गर्दै छौँ,’ उनले भने । 

चालु आर्थिक वर्षदेखि नै लागु हुने भनिएको चैते धान उत्पादन कार्यक्रमका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान थियो । तर सो बजेट पारित हुन नसक्दा योजना स्थगित भएको हो ।

बर्खेभन्दा बढी फल्छ चैते धान 

सरकारी तथ्याङ्क अनुसार बर्खे धानको तुलनामा चेतै धान बढी फल्छ । चैते धानको उत्पादकत्व ४.९७ मेट्रिक टन प्रतिहेक्टर छ । यस्तै, बर्खे धानको उत्पादकत्व ३.९० मेट्रिक टन प्रतिहेक्टर छ । यो तथ्याङ्क अनुसार १.०७ प्रतिशत उत्पादकत्व बढी देखिन्छ ।  

नेपालमा मुख्य गरी धान बाली दुई सिजनमा लगाउने गरिन्छ । एक चैते र अर्को बर्खे । चैते धानको उत्पादकत्व हाल प्रतिहेक्टर ४.९७ मेट्रिक टनलाई ६ मेट्रिक टन पु-याउने लक्ष्य रहेको डा. श्रेष्ठले उल्लेख गरे । हाल चैते धानको उत्पादकत्व हाल प्रतिहेक्टर ४.९७ मेट्रिक टन छ भने बर्खे धानको प्रतिहेक्टर ३.९० रहेको मन्त्रालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने भएकाले चैते धान उत्पादनमा जोड दिइने जनाइएको छ । चालु आर्थिक वर्षमा एक लाख चार हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको मन्त्रालयले उल्लेख गरेको छ । सोही क्षेत्रलाई थप विस्तार गरिने श्रेष्ठले उल्लेख गरे । 

चैते धानको उत्पादन र क्षेत्रफल 

नेपालमा मुख्य चैते र बर्खे गरी धान बाली दुई सिजनमा खेती हुँदै आएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा एक लाख चार हजार ७१२ हेक्टर जमिनमा चैते धान खेती लगाइएको थियो । यो वर्ष चेतै धानको रोपाई सुरु भएको छ । 

मन्त्रालयका अनुसार १३ लाख ३४ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ गरिएको थियो । सो दुवै सिजन गरी देशभर १४ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

मुलुकभर चालु आर्थिक वर्षमा चैते धान ५ लाख २० हजार मेट्रिक टन र बर्खे धान ५२ लाख ३ हजार मेट्रिक टन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा चैते र बर्खे गरी ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको मन्त्रालयले जनाएको छ ।

चैते धान सिँचाइमा ३० प्रतिशत पानी बचत कसरी गर्ने ? 

धान उत्पादन गर्नका लागि २० देखि २२ पटक धान खेतमा पानी लगाउनु पर्छ । राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथका पूर्वसंयोजक तथा वरिष्ठ धान बाली वैज्ञानिक तथा डा. रामवरण यादवका अनुसार धान रोपेपछि ५ सेन्टीमिटर लगातार पानी भइराख्नु पर्ने मानसिकता छ । तर हालको अनुसन्धानले ‘अल्टरनेट ट्राइङ इरिग्रेशन’बाट कम पानीमा पनि धान खेती गर्न सकिन्छ । यो प्रविधिमा सिँचाइ गरिसकेपछि धान खेतमा चिरा परेपछि मात्र पानी लगाउने भन्ने छ । कुनै खेतमा चिम्ट्याइलो माटो, कुनैमा बलौटे माटो हुने भएकाले यो प्रविधिबाट पानी कहिले पटाउने भन्ने थाहा पाउन समस्या भएको डा. यादवले उल्लेख गरे । ‘बजारमा पाइने ३० सेन्टिमिटरको प्लास्टिक पाइपलाई २० सेन्टिमिटर जमिनभित्र गाड्ने र १० सेन्टिमिटर जमिन बाहिर राख्ने,’ उनले भने, ‘यसरी पानी पठाउने, जमिनभित्र गाडेको पाइपको पानी नसुक्दासम्म अर्को पानी नपठाउने, यसरी गरेर ३० प्रतिशत पानी बचाउन सकिन्छ ।’

मलको मात्रा कति ?

बिरुवा अनुसार मल खादको मात्रा फरक–फरक हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धान उत्पादनका लागि प्रतिहेक्टर १०० केजी नाईट्रोजन, ३० केजी फस्फोरस, ३० केजी पोटास र २० केजी जीङ्क सल्फेट प्रयोगका लागि सिफारिस गरेको छ ।

कम्पोस्ट मल भने धान रोपाइँ गर्नुभन्दा १५ दिन अगाडि जोतेर माटोमा मिलाउनुपर्छ । नार्कले प्रतिकट्ठा कम्पोस्ट मल २ सय किलो अर्थात् ७ देखि ८ डोको प्रयोग गर्न सिफारिस गरेको छ । यो मल प्रतिरोपनी ३ सय अर्थात् १० देखि १२ डोको प्रयोग गर्न सिफारिस गरिएको छ ।

यसैगरी प्रतिकट्ठा ६.४ किलो युरिया, डीएपी २.२ किलो र पोटास १.७ किलो प्रयोग गर्न नार्कले सिफारिस गरेको छ । प्रतिरोपनी ९.६ किलो युरिया, २.२६ किलो डीएपी र २.५ किलो पोटास प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप