आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरलको मोहले संगीतप्रतिको समर्पण घट्न थाल्यो : विमलराज क्षेत्री

शनिबार, ०३ चैत २०८०, ०७ : ४१
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । जापान टोकियो, देखि बुट्टे रुमाल सम्झना, लगायतका चार सय भन्दा बढी गीतमा स्वर भरिसकेका विगत दुई दशकदेखि लोकदोहोरी क्षेत्रमा साधनारत सर्जक हुन् गायक विमलराज क्षेत्री । 

२०५६ सालबाट गायन यात्रामा आएका क्षेत्रीले लोक दोहोरी क्षेत्रमा स्थापित हुन निकै सङ्घर्ष गरे ।  ‘बल्लै भो भेट..’ शब्दको दोहोरी गीतले चर्चाको शिखर नै चुम्यो । त्यसपछि जीवनमा कहिले पनि पछाडि फर्केर हेर्नु नपरेको सुनाउँछन् क्षेत्री । 

नेपालमा प्रविधिको  विकाससँगै नेपाली लोकदोहोरी संगीतको समेत उन्नति भइरहेको संगीतसाधक क्षेत्रीले सुनाए । उनी भन्छन्, ‘नेपालमा भित्रिएको डिजिटल प्रविधिले र सामाजिक सञ्जालसँगै नेपाली गीत संगीत र नेपाली लोक दोहोरी क्षेत्रको पनि विकास भएको छ । ठुलो उतारचढाव आएको छर प्रभाव पारेको छ ।’

पहिले कुनै समुदायको गीत सुन्न चक्का किन्नुपर्ने र त्यो चक्का पनि जहाँसुकै नपाइने अवस्थामा थियो, अहिले गीत संगीतको बजारीकरणमा सूचना प्रविधिको विकासले टेवा पुगेको अनुभव क्षेत्रीको सुनाए ।

‘मूलतः गीतसंगीतको धार पुरानै हो । संगीत क्षेत्रमा पुराना संगीतकारले पनि नयाँ धारबाट गीत बजारमा ल्याउन लागेका छन् । जस्तो मेरो ‘फुलबुट्टे रुमाल..’ त्यो पुरानै गीत भएपनि यसलाई नयाँ शैलीमा फेरि ल्याएको छु । नयाँ जमानासँगै संगीत पनि निखारिँदै आएको छ ।’

सामाजिक सञ्जाल र प्रविधिका कारण पहिलेको भन्दा नेपाली गीतहरुको व्यवसायीकरण समेत सजिलो भएको क्षेत्री बताउँछन् । 

‘पहिलेको तुलनामा गीतसंगीतको व्यवसाय गर्न सजिलो छ भने नयाँ प्रतिभा उत्पादन गर्न पनि सहज हुँदै गएको छ । नयाँ प्रतिभा प्रस्फुटन गर्ने विभिन्न प्लेटफर्महरु पनि आएका छन् । सबैको हातमा मिडिया छ । हरेक मान्छे सम्पादक भएका छन् । आफ्नो फेसबुक सबैको हातमा छ । कलाकारसँग प्रतिभा छ भने आफैँ मिडिया भइहाल्यो नि’क्षेत्रीले भने ।

पहिले औँलामा गन्न सकिने कलाकारको भिडमा स्थापित हुनुपर्ने अवस्थामा स्थिति रहेकोमा अब धेरै दर्शकको भिडमा स्थापित हुनुपर्ने चुनौती थपिएको क्षेत्रीको बुझाइ छ । 

‘कलाकारिता क्षेत्रमा आउन जति सजिलो छ, उत्कृष्ट कला चलाउन पनि त्यत्तिकै सजिलो छ । पछिल्लो समय गीतसंगीत क्षेत्र कस्तो भैदियो भने जादुगर जस्तो क्या । मेला महोत्सवमा कुनै कलाकार गयो भने कुनैबेला जताततै माग हुने, व्यावसायिक हिसाबले पनि राम्रो हुने त्यस पछाडि गायब भइदिने खालको संगीत पनि छ । तर, व्यावसायिक हिसाबले गज्जब राम्रो भएको छ । हिजो डिजिटलले खाइदिने, कम्पनी खाएर भागिदिने हुन्थ्यो । अहिले जति आउँछ आफ्नै नाममा आउँछ ।’

प्रविधिको विकाससँगै संगीतको उपलब्धता पनि सजिलो भएको क्षेत्रीको भनाइ छ । संगीतसँगै लोकदोहोरी क्षेत्रमा व्याकरणको विकास हुँदै गइरहेकाले शब्द संकलनमा समेत सजिलो भएको क्षेत्रीले बताए  । 

नेपाली बजारमा दुईथरीका कलाकार रहेको उल्लेख गर्दै क्षेत्रीले भने, ‘नेपालमा दुईथरिका कलाकार छन् । एकथरि संगीतमा साधना गर्छु, मेहनत गरेर जीवन्त काम गर्छु भन्ने अठोट भएका छन् भने दर्शकले जति माया गरेपनि जस्तो आम्दानी रहेपनि गर्छु पनि भन्छन् । अर्कोथरि कस्तो छन् भने, होइन म त पहिला स्टेज पर्फम गर्छु । भाइरल हुन्छु । त्यसपछि एल्बम निकाल्छु र त्यो पनि भाइरल कसो नहोला भन्ने सोच्छन् । तर उनीहरुको संगीतप्रति समर्पण छैन ।’

मेला र महोत्सवहरुले समेत संगीतमा साधना गरेका उत्कृष्ट कलाकारहरूको अपमान गरेको बताउँदै क्षेत्रीले  महोत्सवलाई महोत्सवकै रुपमा बुझाउन आवश्यक रहेको बताए छ । 

जसकारण मेला महोत्सवमा आउने गीतप्रेमी दर्शकले संगीतको प्यास मेट्न नपाउँदै फर्किने गरेको उनको बुझाई छ । उनले भने, ‘सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउनु छ । ४० वर्षका क्षेत्रीलाई अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर पनि छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप